Comments Add Comment

कांग्रेसका स्थानीय अधिवेशन फेरि सर्ने

१५ साउन, काठमाडौं । शीर्ष नेताहरू संविधान निर्माणमा व्यस्त भएकाले कांग्रेस महाधिवेशन तयारी सुस्त भएको छ । संविधान निर्माणको कार्यतालिकाका कारण कांग्रेसको गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन फेरि सर्ने भएको छ ।

congress-flagसंविधान निर्माण नै कांग्रेसको प्राथमिकता रहेकाले पार्टीको तल्लो तहका अधिवेशन केही दिन सर्ने संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले बताए । ‘३२ साउनसम्म संविधान निर्माणको व्यस्त कार्यतालिका छ । क्रियाशील सदस्यताको विषय पनि टुंगिसकेको छैन,’ ढुंगानाले नयाँ पत्रिकासँग भने, ‘त्यसैले १ भदौमा हाम्रा सभासद् गाउँ र नगरमा जान सक्दैनन् । तल्लो तहको अधिवेशन कार्यतालिका परिवर्तन हुन्छ ।’

कार्यतालिका परिवर्तनबारे केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने ढुंगानाले जानकारी दिए । तर, १५ भदौसम्म गाउँ, नगर क्षेत्रको अधिवेशन सकाउने गरी कार्यतालिका बनाइने उनको भनाइ छ । ‘महाधिवेशन प्रतिनिधि पनि क्षेत्रबाट आउने भएपछि महाधिवेशन हुने आधार पनि क्षेत्रको अधिवेशन हो । त्यसैले १५ भदौसम्म सकाउने गरी तालिका परिवर्तन गर्नुपर्छ भन्ने छ ।’

कांग्रेसले २५ असारमा तल्लो तहको अधिवेशन सार्ने निर्णय गरेको थियो । पछिल्लो निर्णयअनुसार गाउँ, नगरको १ भदौमा, दुई सय ४० क्षेत्रको ७ भदौमा र जिल्लाको १० भदौमा अधिवेशन तय भएको थियो । त्यसअघि गाउँ र नगरको १४ साउनमा, दुई सय ४० क्षेत्रमा २२ साउनमा र जिल्लाको अधिवेशन २६ साउनमा गर्ने कार्यतालिका रहेको नयाँ पत्रिकामा खबर छ ।

कांग्रेसले सुरुमा पार्टीको १३औँ महाधिवेशन २४ देखि २८ भदौका लागि तय गरेको थियो । तर, भूकम्प, बाढीपहिरो र संविधान निर्माणको कारण देखाउँदै कांग्रेसले २ देखि ५ असोजसम्म महाधिवेशन गर्ने गरी नयाँ मिति तोकेको छ । पछिल्लो पटक तोकिएको मितिमा नै महाधिवेशन हुने ढुंगानाले बताए ।

कांग्रेस सभासद् रामहरि खतिवडाले संविधानसभाको व्यस्त कार्यतालिकाअनुसार पार्टीको अधिवेशनमा जान नसकिने भएकाले सर्न सक्ने बताए । उनले भने, ‘३२ साउनमा संविधान जारी गर्ने भनिएको छ । त्यसअघि सबै नेता संविधान निर्माण प्रक्रियामा सहभागी हुनुपर्नेछ । भोलिपल्टै सबै गाउँतिर केन्द्रीय प्रतिनिधि जान सम्भव छैन । सबैतिर हेलिकोप्टरमा जाने कुरा पनि भएन ।’

खतिवडाले क्रियाशील सदस्यता विवाद नटुंगिएकाले पनि अधिवेशनको कार्यतालिका सर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment