Comments Add Comment

सरकारले बुझेन ब्याकुल माइलाको व्यथा, व्यवसायीले थाले ऋण मोचन अभियान

१६ चैत, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित पत्रिकाहरुमा नेपालमा शुरु भएको लगानी सम्मेलन र प्रदेश २ को एसईई परीक्षा स्थगित भएका समाचारहरु प्राथमिकतामा परेका छन् ।

कान्तिपुर दैनिकका अनुसार लगानी सम्मेलन उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२३ सम्म नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्य राखिएको र त्यसका लागि अबको पाँच वर्षमा ८८ अर्ब डलर अर्थात करिब ८८ खर्ब रुपैयाँ लगानी आवश्यक रहेको बताएका थिए ।

अन्नपूर्ण पोष्ट दैनिकले सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको नाजुक अवस्था प्रस्तुत गरेको छ । बीबीएस दोस्रो वर्षका एक्ला विद्यार्थी कक्षा कोठामा बसेर पढ्नका लागि प्राध्यापकको प्रतीक्षा गरिरहेको तस्वीरसहितको समाचार छ । समाचारअनुसार बीबीएस दोस्रो वर्षमा ५० जना विद्यार्थी भर्ना भएका छन् तर नीरजकुमार यादव दुई महिनादेखि एक्लै पढिरहेका छन् ।

समाचारमा लेखिएको छ, ‘यस क्याम्पसमा विद्यार्थीले पढाइ नहुने समस्या एक दिन मात्र होइन, महिनौंदेखि झेल्दै आएका छन् । अधिकांश अध्यापक यहाँ पढाउन छाडेर निजीतिर धाउँछन् । उनीहरु हाजिर गरेर टाप कस्छन् ।’

नागरिक दैनिकले शनिबारीय अंक ‘अक्षर’ पृष्ठमा राष्ट्रगान लेखक ब्याकुल माइलाको व्यथालाई समेटेर मर्मस्पर्शी आलेख छापेको छ । उनले लेखेको ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ राष्ट्र गानले उनको नाम उचाइमा पुग्यो तर दैनिक गुजारा गर्ने बाटो नहुँदा उनी ऋणको दलदलमा छन् । आलेखमा लेखिएअनुसार उनीमाथि १५ लाख ऋणको भारी छ । अमृत भादगाउँले आलेखमा लेख्छन्, ‘केही गरेन भनौं भने २५ हजार रुपैयाँ भत्ता दिन्छ, केही गर्‍यो भनौं भने त्यति रकमले परिवार चल्दैन । निजामती सेवाको सुब्बाले पाउने जति सुविधा पनि पत्याएन हाम्रो सरकारले । के हाम्रो राज्य उनको गाँस, बास र कपासको व्यवस्था गर्न सक्दैन ?’

‘अर्को सन्दर्झ विगतमा काठमाडौं महानगरपालिकाले उनलाई विकास दूत बनाएको थियो । त्यसवापत उनले मासिक ३० हजार रुपैयाँ पाउँथे । वर्ष दिनको सम्झौता थियो, ६ महिनापछि महानगरमा जनप्रतिनिधि आए । मेयरले मतलव गरेनन् । परिणामः सम्झौता अवधिको पूरा रकमसमेत पाएनन् उनले ।’

व्याकुल माइलाको व्यथा बुझेर व्यवसायी कमलदेव मल्लले चन्दा सहयोग अभियान सञ्चालन गर्न लागेको पनि आलेखमा उल्लेख छ ।

राजधानी दैनिकले शैक्षिक संस्था, प्रहरी र स्थानीय तहमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी रहेको समाचार छापेको छ । यसैगरी नेपाल समाचारपत्र दैनिकले नेकपामा ४४१ केन्द्रीय सदस्य बेरोजगार रहेको समाचार लेखेको छ ।

हेर्नुहोस् आजका पत्रिका

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment