Comments Add Comment

नक्कली खाता खोलेर विद्यालयको १९ लाख ठगी

१७ साउन, काठमाडौं ।विद्यालयको नाममा नक्कली खाता खोलेर दुई व्यक्तिले १९ लाख ५० हजार रुपैयाँ ठगी गरेका छन् । कालिकोटका बर्मजंग बम र हंशराज भण्डारीले शिक्षा मन्त्रालयबाट विद्यालयको नाममा पठाइएको रकम नक्कली खाता खोलेर आफैँले लिएका हुन् ।

nepali-noteउनीहरूले आफूलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रिन्सिपल बनाएर एभरेस्ट बैंकमा खाता खोलेका थिए । उनीहरूले मन्त्रालयको चेक सोही खातामा जम्मा गरेर पैसा निकालेका हुन् । उनीहरूमध्ये बमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।

कालिकोटको धौलादहस्थित सरस्वती उमाविको नाममा शिक्षा मन्त्रालयबाट १९ लाख ५० हजार रुपैयाँको एसी पेई चेकी जारी भएको थियो । उक्त चेकबाट भुक्तानी लिन विद्यालयको नाममा बैंक खाता हुनु जरुरी हुन्छ । एसी पेई चेकबाट खातामा जम्मा गरेर मात्र भुक्तानी लिन पाइने भएकाले उनीहरूले आफूहरूलाई नै विद्यालयको अध्यक्ष र प्रिन्सिपल बनाएर एभरेस्ट बैंकको बानेश्वर शाखामा दुईजनाको नाममा संयुक्त खाता खोलेका थिए । किर्ते कागजपत्रका आधारमा खाता खोलेपछि विद्यालयलाई थाहा नै नदिई पैसा निकालेका हुन् ।

पछि विद्यालयमा पैसा नपुगेपछि खोजी सुरु भएको थियो । बम र भण्डारीले मन्त्रालयबाट स्कुलको नामको चेक लगेको खुलेपछि उनीहरूमाथि औँला उठेको थियो । पछि दबाबमा उनीहरूले विद्यालयलाई पैसा फिर्ता गरेका थिए ।

हिमालयन बैंकका चार कर्मचारीविरुद्ध मुद्दा
कमसल धितो राखी अनियमित तरिकाले कर्जा प्रवाह गरेको आरोपमा ललितपुर प्रहरीले हिमालयन बैंकका चार कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । पुल्चोक शाखाका तत्कालीन शाखा प्रबन्धक मृगेन्द्र प्रधान, कर्जा अधिकृत कुलदीप कार्की, फिल्ड अधिकृत जस्मिन दंगालविरुद्ध मुद्दा दायर गरेको हो ।

त्यस्तै धितो मूल्यांकनकर्ता सिद्धार्थसागर श्रेष्ठविरुद्ध समेत बैंकिङ कसुर मुद्दा दायर भएको छ । उनीहरू चारैजना फरार छन् । कमसल धितो राखेर कर्जा लिएको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले गत महिना सुशील स्थापित र सुष्मा ठकुरीलाई मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment