 
																			२० चैत, चितवन । चितवनको भरतपुर विमास्थलमा लगेज स्क्यानर मेसिन आइपुगेको छ । विमानस्थलमा आएको मेसिनलाई ‘इन्स्टल’को काम गरिसकिएको विमानस्थल प्रमुख पवन गौतमले जानकारी दिए । ‘ठेकेदारले आएर परीक्षण गरिसक्यो,’ कार्यालयका प्रमुख गौतमले भने, ‘नेपाल नागरिक उड्यन प्राधिकरणको सञ्चार तथा उड्यन साह्य विभागको टोली आएर फाइनल परीक्षण गरेपछि एक साता भित्र लगेज स्क्यानर मेशिनबाट यात्रुले सेवा पाउँछन् ।’
विमास्थलमा स्क्यानर मेसिन नहुँदा सुरक्षाकर्मीले यात्रुका लगेज खोलेर छामेर र हेरेर जाँच गर्नुपर्ने बाध्यता छ । घरबाट प्याकिङ गरेर ल्याइएका लगेज खानतलासीको क्रममा लथालिंग हुने हुँदा यात्रुहरुले सास्ती भोग्नु परेको त छ नै व्यक्तिले गर्ने जाँच प्रभावकारी पनि हुँदैन ।
नागरिक र सुरक्षाकर्मीलाई परेको सास्ती र सुरक्षा चुनौतिसमेतलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्यन प्राधिकरणको सञ्चार तथा उड्डयन विभागले विमानस्थलमा लगेज स्क्यानरको व्यवस्था गरेको हो । विभागले स्क्यानर मेसिनका लागि ९० लाख बजेट छुट्टाएको थियो ।
स्क्यान मेसिन आएपछि विमानस्थलमा सुरक्षा जाँचका क्रममा यात्रुका झोला खोतल्नु पर्ने अवस्थाको अन्त्य हुनेछ । अधिकांश ठूला बिमानस्थलमा लजेग स्क्यानर उपलब्ध भैसक्दा पनि भरतपुरमा नहुँदा यहाँबाट यात्रा गर्नेहरुले बेलाबखतमा आक्रोश पनि पोख्दै आएका थिए ।
स्क्यानर भएपनि सुरक्षा जाँचमा बस्ने प्रहरीको संख्या कम भएपनि हुन्छ । भरतपुर विमानस्थल सुरक्षामा १४ जना प्रहरी छन् । तिमध्ये २ जना प्रहरी लगेज चेकका लागि खटिने गरेका छन् ।
विमानस्थल स्तरोन्नतीको काम पनि छिट्टै
भरतपुर विमानस्थलको स्तरोन्नतीका काम चालु आर्थिक वर्षभित्र हुँदैछ । १२ सय मिटरको धावनमार्ग निर्माण गरेपछि एकपटक पनि ओभर–ले गरिएको छैन । बिमानस्थलका प्रमुख पवन गौतमका अनुसार धावनमार्ग ‘ओभर–ले’ को काम चालु आर्थिक वर्षमा नै हुँदैछ । ओभरले गरेर दायाँबायाँ ग्रेडिङको काम पनि गरिने प्रमुख गौतमले बताए ।
भरतपुर विमानस्थलको जहाज पार्किङ क्षेत्रलाई बढाउने तयारी भैरहेको छ । अहिले साना जहाज चार वटा अटेपनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन् । ‘पार्किङ निकै साँघुरो भएको महसुस विगतदेखि नै हुँदै आएको छ, यसपटक पार्किङ एरिया थप्ने योजना छ, दुवै तर्फ गरेर ६० मिटर थप्छौं,’ बिमानस्थलका प्रमुख गौतमले अनलाइनखबरसँग भने, ‘एउटा हेलिप्याड छुट्टै तयार हुन्छ, बाँकी चारवटा बिमान सजिलैसँग अटाउने गरी पार्किङको व्यवस्थापन हुन्छ ।’
धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रुपैयाँ लागत अनुमान गरिएको छ । यस्तै, विमानस्थलमा असारसम्ममा २५ सय लिटर पानी र फोम अट्ने दमकल ल्याउने काम पनि अघि बढेको प्रमुख गौतमले बताए । त्यसमा २ हजार लिटर पानी र ५ सय लिटर फोम राख्न मिल्नेछ ।
विमानस्थलबाट दैनिक ५ सय यात्रु राजधानी काठमाडौं र पोखरा जाने गरेका छन् । भरतपुरबाट अहिले दैनिक पोखरा २ र काठमाडौं १० वटासम्म उडान हुने गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4