+
+
Shares
प्रदीप पौडेलसँग वार्ता :

‘केन्द्रीय समितिको म्याद थपेर देउवालाई नै फर्काउन खोजिँदैछ’

‘सभापतिको नियतमाथि शंका गर्न चाहन्न । उहाँको फर्किने चाहना छैन । तर कतिपय साथीहरूले उहाँलाई फर्काउन खोजिरहेका छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते ७:३०

नेपाली कांग्रेसभित्र महाधिवेशन गर्ने र नगर्नेबीच तीव्र मतभेद छ । पार्टी संस्थापन पक्ष कार्यसमितिको म्याद थपेर २१ फागुनको चुनावपछि महाधिवेशन गर्ने पक्षमा छ भने अर्को पक्ष मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने र त्यो सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छ । महाधिवेशनमै केन्द्रित भएर यतिबेला कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ ।

जेनजी आन्दोलनको भावना र मागअनुसार पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरण गर्न सकेसम्म नियमित महाधिवेशन, नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षका नेता हुन् प्रदीप पौडेल । जेनजी आन्दोलनलाई नेता र पार्टी सच्याउन उपर्युक्त अवसरको रूपमा व्याख्या गरिरहेका छन् पौडेल । त्यसका लागि पुस मसान्तभित्र नियमित महाधिवेशन गरेर पार्टीलाई नयाँ नेतृत्व र नीतिका साथ लैजान सकिने उनको दृष्टिकोण छ ।

विशेष महाधिवेशनको मागलाई निष्क्रिय पार्दै केन्द्रीय कार्यसमितिको म्याद लम्ब्याउने र चुनावपछि मात्रै महाधिवेशन गर्ने संस्थापनको रणनीतिले पार्टीलाई दुर्घटनातिर लैजाने केन्द्रीय सदस्य पौडेलको निष्कर्ष छ ।

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरिरहेको भए पनि कांग्रेस केन्द्रीय समितिको बैठकमा अस्वीकार हुनसक्ने जोखिम पार्टीभित्र छ । कतै फेरि शेरबहादुर देउवालाई नै फर्काउने खेल त भइरहेको छैन ? भन्ने आशंकासमेत नेता पौडेलको छ ।

महाधिवेशन प्रतिनिधिसहित कि ८ वटै संरचनाको म्याद थपिनुपर्ने नत्र केन्द्रीय समितिको मात्र कुनै पनि हालतमा म्याद थप्न नमिल्ने उनको तर्क छ ।

जेनजी आन्दोलनपछिको कांग्रेस कस्तो होला ? कांग्रेसको अबको बाटो के हो ? पार्टीको नियमित महाधिवेशन मंसिरमै होला वा विशेष महाधिवेशनमा जाला ? यिनै विषयमा पोखरामा भेटिएका कांग्रेस नेता पौडेलसँग अनलाइनखबरका अमृत सुवेदीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:

मुलुकमा यत्रो जेनजी आन्दोलन भयो । कांग्रेसका नेताहरू भने पार्टीको महाधिवेशनलाई लिएर दुई कित्तामा विभाजित भएका छन् । यो अलमल किन ?

कांग्रेस कार्यसमितिको ४ वर्षे कार्यकाल २४ मंसिरमा सकिँदैछ । हामीले नियमित महाधिवेशनबाटै सबै समस्याको समाधान गर्न सकिन्छ भनिरहेका छौं । एकातिर एकाथरी नेता कार्यकाल थप्ने कसरतमा हुनुहुन्छ भने अर्कातिर ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेको अवस्था छ । अहिलेको अवस्थामा कार्यकाल लम्ब्याउने कुरा स्वाभाविक हुन सक्दैन ।

पहिलो कुरा, कांग्रेसभित्र मात्रै होइन, बाहिर पनि नेतृत्व परिवर्तनको विषय उठिरहेको छ । दोस्रो, पार्टीलाई जीवन्त राख्न विधि-व्यवस्था अनुसार निरन्तर चलेको देखिनुपर्छ । तेस्रो, पार्टीले नीतिगत स्पष्टताबाट आफूलाई आगाडि बढाइरहेको हुनुपर्छ । त्यसैले जेनजी आन्दोलनले उठाएका एजेन्डालाई महाधिवेशनले मात्रै सम्बोधन गर्नसक्छ ।

अहिलेको बेथिति, भ्रष्टाचार, अस्थिरतालाई कसरी अन्त्य गर्न सकिन्छ ? संसदीय व्यवस्थालाई यथास्थितिमा होइन, सुदृढ बनाउँदै कसरी लैजान सकिन्छ ? आम नागरिकले खोजेका विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ ? त्यो विधिगत व्यवस्थालाई सुधार गर्ने, नयाँ ल्याउने काम कि महासमितिले गर्नसक्छ कि त महाधिवेशनले गर्नसक्छ ।

यो वर्ष हामीसँग महासमितिमार्फत यी काम गर्ने सुविधा छैन । त्यसैले नियमित वा विशेष महाधिवेशन गर्नैपर्छ । विशेष महाधिवेशन भनेको पनि एक महिनाका लागि हो ।

नेतृत्वले नियमित ढंगबाट विधानमा भएको व्यवस्थाअनुसार पार्टीलाई सञ्चालन गरेन भने केन्द्रीय समितिप्रति असन्तुष्टि राखेर विशेष महाधिवेशनको माग गर्ने हो । अब केन्द्रीय समितिले नै महाधिवेशन तोकेर महाधिवेशनको व्यवस्था गर्छ भने ठिकै छ । यदि नियमित महाधिवेशन हुँदैन भने विशेष महाधिवेशनबाट भए पनि नीति र नेतृत्व परिवर्तन गर्नुपर्छ ।

५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरिरहेका बेला केन्द्रीय समितिको म्याद थप गरेर यथास्थितिलाई लम्ब्याउने खेल भएको हो ?

मेरो भनाइ के हो भने, केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थप्ने हो भने देशभरिका ८ वटै तहका संरचनाहरूको म्याद थपिन्छ । महाधिवेशन प्रतिनिधिहरूको पनि म्याद थपिन्छ । केन्द्रीय कार्यसमिति महासमितिप्रति उत्तरदायी हुन्छ ।

आफू जसका प्रति उत्तरदायी हुने हो, त्यसको चाहिँ म्याद थपिएन र मेरो मात्रै थपियो भन्न मिल्दैन । त्यसैले म्याद नथप्ने हो भने कसैको पनि थपिँदैन, थपिने हो भने सबैको थपिन्छ । उहाँहरूले विशेष महाधिवेशन माग्नुभएको छ, माग गरेको ३ महिनाभित्र अनिवार्य रूपमा गर्नैपर्छ ।

विधानमा स्पष्ट भएको व्यवस्था लागु नगर्ने छुट कांग्रेसलाई हुँदैन, केन्द्रीय समितिलाई हुँदैन । त्यसैले आफ्नो म्याद थपेर अनिवार्य रूपमा विशेष महाधिवेशन गर्नुपर्ने बाध्यकारी स्थिति केन्द्रीय कार्यसमिति आफैंले निर्माण गर्दैछ ।

सकेसम्म नियमित महाधिवेशन गरेर विशेष महाधिवेशन नगर्ने स्थिति बनाउँ भन्ने मेरो प्रस्ताव हो । नियमित महाधिवेशन गर्न नसक्दा जसरी पनि विशेष महाधिवेशन गर्नुपर्छ ।

पद नछाड्ने र फेरि आउन चाहने अध्यक्ष भएको पार्टीले अधिवेशन घोषणा गरिसक्यो । हामीले चाहिँ नेताले छाडिदिए पनि अधिवेशन घोषणा गर्न सकेनौं । यो एकदमै गम्भीर अवस्था हो ।

विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्दा मौजुदा नेतृत्वलाई हटाउनुपर्छ । त्यसमा अर्को मान्छे निर्वाचित गर्नुपर्‍यो । त्यसो गर्दा अहिलेको नेतृत्वको सम्मानजनक बहिर्गमन हुँदैन । अहिले हामीसँग अहिलेको नेतृत्वलाई सम्मानजनक बिदाइ गर्ने अवसर छ ।

महाधिवेशन हुँदा अहिलेका सभापति शेरबहादुर देउवा फेरि सभापति उठ्न मिल्दैन । त्यसैले नियमित महाधिवेशन गरौं र अहिलेको नेतृत्वलाई सम्मानजनक बिदाइ गरौं । त्यसो गर्न खोज्दा केही समय लम्ब्याउन खोज्ने, अझै केही समय पदमा बस्न खोज्ने, यथास्थितिलाई निरन्तरता दिने हो भने जे गर्न खोजिएको छ त्यसले विशेष महाधिवेशनलाई अनिवार्य बनाउँदैछ ।

महामन्त्री गगन थापाले जेनजी आन्दोलनपछि माफी माग्दै कांग्रेस रुपान्तरण र नेतृत्व हस्तान्तरणको एजेन्डा उठाए । सभापति देउवाले कार्यवाहक दिए पनि संस्थापनले छिट्टै महाधिवेशन स्वीकार्ने देखिएन । संस्थापन र इतरका गुट भेला, निर्णय किन भइरहेका छन् ?

जेनजी आन्दोलनपछि र त्यस अगाडिको नेपाल फरक छ । जेनजीले तिनै विषय उठाए, जुन जनताका थिए । राजनीतिक बेथिति, सुशासन स्थापना जेनजीका मुद्दा थिए । त्यो कुनै उमेर समूहको मात्र नभई आम नेपालीका एजेन्डा थिए । २३ गते आन्दोलनका क्रममा जुन घटना भए, आन्दोलनमा यस्तो हुन्छ भनेर सामान्यीकरण गर्न मिल्दैन ।

आन्दोलनले नेपाल परिवर्तन गर्ने, पार्टी सुदृढीकरण र रुपान्तरण गर्ने शंखघोष गरेको छ । त्यसैले आन्दोलनका मुद्दाबाट कांग्रेस सकारात्मक रूपमा प्रभाहित हुनुपर्छ ।

हामीले जेजे कमजोरी र त्रुटिहरू गर्‍यौं, २३ र २४ गते जेनजी उमेर समूहका नाममा हाम्राप्रति खबरदारी भयो । हाम्राप्रति प्रश्न उठाइयो । हाम्रै विरुद्ध ठूलो संघर्ष भयो । यसबाट हामी सच्चिनुपर्छ । भ्रष्टाचार छानबिनको नेतृत्व कांग्रेसले गर्नुपर्छ ।

जुन पार्टीले समयमा अधिवेशन गर्न सक्दैन, नेतृत्व अध्यावधिक गर्न सक्दैन, त्यही पार्टीले देशमा केही गर्नसक्छ भनेर जनताले कसरी पत्याउँछन् त ? यस आधारमा सबैभन्दा पहिले हामी आफैं व्यवस्थित बनौं । विधानअनुसार नेतृत्व हस्तान्तरण गरौं, पार्टी रुपान्तरण गरौं । नेपाली कांग्रेसलाई उत्साहित बनाऔं भनिरहेका छौं । अब पनि यही समितिलाई लम्ब्याउन खोज्ने, जेनजी र आम कांग्रेसकै भावनामा खेल्ने काम जसले गरे पनि त्यो गलत हुन जान्छ ।

जेनजी आन्दोलनमा आक्रमणमा परेका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिए । तर कांग्रेस भित्रको अहिलेको परिस्थिति हेर्दा उपचार गराउन गएका सभापति देउवा झनै बलियो भएर फर्किने आशंका पैदा भएको हो ?

२४ गतेको घटनामा देशमा सबैभन्दा बढी पीडित कोही छ भने कांग्रेस सभापति शेरबहादुर देउवा हो । उहाँमाथि एकदमै अमानवीय व्यवहार भयो । त्यसमा उहाँले कुनै चित्त दुखाउनु भएन । कसैलाई गाली गर्नुभएन । उहाँले जेनजीका माग पूरा गर्नुपर्छ भनेर प्रतिवद्धता पनि गर्नुभयो । एकदमै शालिन र संस्कारयुक्त व्यवहार देखाउनुभयो ।

सभापतिजी यति शालिनतासहित प्रस्तुत हुँदाहुँदै पनि एउटा कुराले के आशंका बनायो भन्दा, उहाँले आफ्नो वक्तव्यमा १५औं महाधिवेशन सम्पन्न गर्नका निम्ति उपसभापतिज्यूलाई कार्यवाहक दिएको छु, महाधिवेशन सबै साथीहरूको सहयोगबाट सम्पन्न गर्नुहोला भनेर भन्नुभएन । त्यस आधारमा उहाँ फेरि फर्कन खोजेको त होइन भनेर आशंका भयो ।

म सभापतिको नियतमाथि शंका गर्न चाहदिँन । तर कतिपय साथीहरूले उहाँलाई फर्काउन खोजिरहेका छन् । त्यसैले उहाँ आदरणीय हुनुहुन्छ, सम्मानित हुनुहुन्छ, उहाँको त्यो उचाइ कायम गरेर झनै सम्मानित बनाउनका निम्ति महाधिवेशन नियमित समयभित्रै गर्नुपर्नेछ । निर्वाचनभन्दा अगाडि नै महाधिवेशन गर्न जरुरी छ ।

निर्वाचनभन्दा अगाडि महाधिवेशन गर्‍यौं भने यी सबै आशंका हटेर जान्छन् । ११औं महाधिवेशन स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा घोषणा गरेको ६० दिनमा हुनसक्यो भने १५औं महाधिवेशन किन हुन सक्दैन ?

कांग्रेसको सदस्यतामै समस्या छ, चुनावअघि महाधिवेशन गर्न सकिन्न भन्ने संस्थापन पक्षका नेताहरूको निष्कर्षलाई के भन्नुहुन्छ ?

सबैले स्वीकार्ने ढंगको निर्वाचन समिति बनाऔं र सदस्यतासम्बन्धी जिम्मेवारी नै निर्वाचन समितिलाई दिऊँ । हामीलाई यथेष्ट समय त नहोला तर जेनजी पुस्तालाई संरचनाभित्र समेट्न सदस्यता खुला गरौं, डिजिटल्ली सदस्यता भर्न दिऊँ ।

नेपाली कांग्रेसको उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको, समर्थक प्रस्तावक बसेको, कांग्रेस छाडेको स्वघोषणा गरेको व्यक्तिबाहेक सबैको नवीकरण हुने व्यवस्था गरौं । त्यसो गरियो भने छोटो समयमा सदस्यताको समस्या समाधान हुनसक्छ ।

सकिन्छ ८ वटै तहको अधिवेशन गरौं, सकिँदैन वडा, क्षेत्र र केन्द्र गरी ३ तहको अधिवेशन गरौं । यसो भयो भने सभापतिज्यूलाई पनि थप सम्मान व्यक्त गर्न सक्छौं । आम नागरिकले कांग्रेससँग गरेका अपेक्षा पनि पूरा गर्न सक्छौं ।

यसका निम्ति उपसभापति, महामन्त्री अथवा एउटा समूहमात्रै लागेर हुँदैन । कार्यकारी पदमा रहनुभएको वा नरहनुभएको सबै लाग्न जरुरी छ ।

सभापति चाहिँ गम्भीर दखिनुभयो, हामीहरू गम्भीर नभए जस्तो देखियो । आफैं लम्बिइरहन खोज्ने, महाधिवेशनमा आफैं टिकट बाँड्न खोज्ने, नीतिगत कुरा कुनै पनि सुनिश्चित गर्न नसक्ने देखियो ।

फागुन २१ गते अगाडि नै महाधिवेशन किन भनेको हो भने माघ २१ गतेभित्र त चुनावको नोमिनेसन हुन्छ, त्योभन्दा अगाडि समानुपातिकको सूची पेस गर्नुपर्ने हुन्छ । पुसको मसान्तसम्म मजाले महाधिवेशन गर्न सक्छौं ।

माओवादी केन्द्रले केन्द्रीय समिति भंग गरेर महाधिवेशनमा जाने भन्यो । एमालेले महाधिवेशनको मिति घोषणा गर्‍यो । तर कांग्रेस भने अझै संसयमा छ । तपाईंहरु असक्षम देखिनुभएको हो ?

मुख्य पार्टीहरूको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने जेनजी आन्दोलनको अदृश्य माग हो । त्यो माग बमोजिम सबैभन्दा पहिले नेतृत्व परिवर्तनको कुरा स्वीकार गरेर कार्यवाहक दिनुभएको कांग्रेस सभापतिले नै हो ।

तर यहाँ कस्तो देखियो भने, पद नछाड्ने र फेरि आउन चाहने अध्यक्ष भएको पार्टीले बरु अधिवेशन घोषणा गरिसक्यो । हामीले चाहिँ नेताले छाडिदिए तर अधिवेशन घोषणा गर्न सकेनौं । यो गम्भीर अवस्था हो ।

सभापति गम्भीर दखिनुभयो तर हामीहरू गम्भीर नभए जस्तो देखियो । आफैं लम्बिइरहन खोज्ने, महाधिवेशनमा आफैं टिकट बाँड्न खोज्ने, नीतिगत कुरा कुनै पनि सुनिश्चित गर्न नसक्ने देखियो ।

महाधिवेशन चुनावभन्दा पछाडि गर्दा त जनताले हाम्रा कुरा कांग्रेसले सुन्यो भनेर त भन्दैन नि । त्यसैले कांग्रेसले महाधिवेशन गर्नुपर्छ र जनताका एजेन्डालाई महाधिवेशनमा लगेर पास गर्नैपर्छ । नत्र चुनावमा ठूलो असर पर्ने देखिन्छ ।

कार्यवाहक दिए पनि देउवा समूह (संस्थापन) नै निर्णायक हुनु, महाधिवेशन रोक्ने परिस्थिति बन्दै जानु भनेको महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहित तपाईंहरूले कांग्रेसलाई बुझाउन सक्नुभएन, हस्तक्षेप गर्न असफल देखिनुभयो भन्ने देखियो होइन ?

प्रष्ट रूपमा के भन्नुपर्छ भने, महाधिवेशन भयो भने सबैलाई प्रतिस्पर्धा गर्ने मौका हुन्छ । प्रतिस्पर्धाबाट आउनेहरू जिम्मेवारीमा जानुहुन्छ, आउन नसक्नेहरू बिदा हुनुहुन्छ । कसैप्रति लक्षित गर्नुभन्दा पनि विधिवत प्रतिस्पर्धाको अवसर हुनुपर्‍यो ।

अहिले पनि आम नेपालीको विश्वास कांग्रेसप्रति छ । तर नागरिकहरू यति निराश हुने परिस्थिति बनिसक्यो कि, जति दबाब दिँदा पनि कांग्रेस सच्चिदैन, यसलाई विश्वास गर्नै सकिँदैन भन्ने भयो भने त पार्टी उठ्नै सक्दैन ।

त्यसैले हामीलाई सच्चिने मौका प्राप्त भएको छ । कोठाभित्र बसेर कसले षडयन्त्र गरिरहेको छ, के भनिरहेको छ भन्ने अर्को विषय भयो । कांग्रेस नेपाली राजनीतिको विश्वविद्यालय हो तर विश्वविद्यालय नै ध्वस्त भयो भने त राजनीति नै संकटमा पर्छ ।

एउटा कुरा स्वीकार गर्नुपर्छ- विषयका आधारमा हामीले आम साथीहरूलाई भरोसा दिलाउन नसकेको हो कि जस्तो लाग्छ । नत्र हामीले पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको कुरा उठाएको त धेरै भइसक्यो नि ।

यत्रो लामो समयसम्म इमान्दार प्रयासलाई साथीहरूले बुझ्न सकेनन् भन्दा पनि हामीले बुझाउन सकेनौं कि ? महाधिवेशनको सन्दर्भमा मेरो भनाइ वा प्रस्ताव सकेसम्म नियमित महाधिवेशन नै गरौं, माथिदेखि तलसम्म ताजा जनादेश लिने स्थिति निर्माण गरौं भन्ने हो ।

तलको मुद्दाका आधारमा नियमित महाधिवेशन गराउन कोसिस गरिएको हो, अनुरोध गरिएको हो । केन्द्रीय समितिको म्याद थप गर्ने र चुनाव पछाडि महाधिवेशन लैजाने कुरा चाहिँ एकदमै घातक छ ।

पार्टीलाई विवादमा पार्ने, आन्तरिक प्रतिस्पर्धालाई पेचिलो पार्ने हाम्रो इच्छा होइन तर चुनावपछि महाधिवेशन गर्ने भन्ने भयो भने त विशेष महाधिवेशन गर्ने, नीति परिवर्तन गर्ने काम हामीले जसै गर्नै पर्छ ।

जो विशेष महाधिवेशनलाई लत्याउन चाहन्छ, तत्काल अधिवेशन गर्न चाहँदैन र म्याद थप गर्न चाहन्छ भने हामी जसरी पनि विशेष महाधिवेशनमा नगई हुँदैन ।

जसरी पनि विशेष वा नियमित महाधिवेशन गर्ने तपाईंहरुको अडान, अर्को पक्ष केन्द्रीय कार्यसमितिको म्याद लम्ब्याएर जाने निष्कर्षमा पुग्नुले कांग्रेस फुट्न सक्ने चर्चासमेत चलेको छ । के त्यस्तो परिस्थिति आउन सक्छ ?

विशेष महाधिवेशन माग्दैमा पार्टी फुट्छ भन्नु गलत हो । यो विधानमै भएको व्यवस्था हो । नियम र कानुनले गर्न मिल्ने कुरा हो । केन्द्रीय कार्यसमितिले गरेको काम कारबाही चित्त नबुझेमा केन्द्रीय कार्यसमितिमा नरहनुभएका महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्न पाउनुहुन्छ ।

महाधिवेशन प्रतिनिधिहरू हामी केन्द्रीय समितिमा रहेका कयौं साथीहरूभन्दा सिनियर पनि हुनुहुन्छ । उहाँहरू सबै नेता हो । विधानले महाधिवेशन प्रतिनिधिलाई जे अधिकार दिएको छ, त्यो प्रयोग गर्दा पार्टी कसरी फुट्छ ?

नेतृत्व र केन्द्रीय समितिको काम चित्त नबुझेपछि चित्त बुझेन भनेर भन्न नपाउनु ? महाधिवेशन माग गर्दा पार्टी फुट्छ भन्नु साथीहरूलाई हेप्नु हो ।

महाधिवेशन प्रतिनिधि जिम्मेवार छन् । उनीहरूले आफ्नो अधिकार प्रयोग गर्दा पार्टी फुट्छ भनेर लाइदिने ? तिमीहरू बद्मास हौ भन्ने ? त्यस्तो मिल्दैन ।

नेतृत्व र केन्द्रीय समितिको काम चित्त नबुझेपछि चित्त बुझेन भनेर भन्न नपाउनु ? त्यस्तो पार्टी पनि लोकतान्त्रिक हुन्छ ? महाधिवेशन माग गर्दा कसैले पार्टी फुट्छ भन्यो भने त्यो साथीहरूलाई हेपिएको हो । त्यसैले पार्टी कुनै पनि हालतमा फुट्दैन, विशेष महाधिवेशनमा जाँदा पनि फुट्दैन ।

महाधिवेशनको प्रस्ताव त महामन्त्रीहरूप्रति पनि चित्त नबुझेर ल्याइएको हो । सभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूलाई नै चित्त नबुझेर ल्याइएको प्रस्ताव हो । यसमा महामन्त्रीहरूलाई जोड्न मिल्दैन ।

साथीहरूले नबुझेको कुरा के हो भने, कार्यकाल थपियो भने साढे ३ महिनापछि त जसरी पनि विशेष महाधिवेशन गर्नैपर्छ । जसले विशेष महाधिवेशन रोक्न खोज्नुभएको छ, नियमित महाधिवेशन नै गर्न, गराउन लाग्नुहोस् ।

मंसिरको २४ गतेसम्म अधिवेशन गरौं, पुसको अन्तिमसम्ममा १५औं महाधिवेशन गरौं । बरु सरकारलाई पुसको अन्तिमसम्म अधिवेशन सम्पन्न हुन्छ, समानुपातिक सांसदको सूची बुझाउने समय चाहिँ पुसको १७ गतेबाट सारेर माघको ३ गते लैदिनुस् भनेर आग्रह गरौं ।

पुस मसान्तभित्र महाधिवेशन भए तपाईंहरूको उम्मेदवार को हो, उम्मेदवार कसरी छानिन्छ ? ‘बुढाहरूको पार्टी’ भन्ने भाष्य बनिरहेको अवस्थालाई कसरी चिर्नुहुन्छ ?

म त पार्टीलाई मास बेसकै पार्टी बनाउन चाहने मानिस हो । टिकट बाँड्ने कुरा प्राइमरी प्रोसेसबाट हुनुपर्छ । सम्पूर्ण रूपमा पारदर्शी, लोकतान्त्रिक विधिबाट पार्टी अगाडि जानुपर्छ ।

स्पष्ट धारणा बोकेको, राजनीतिक ढंगबाट प्रस्ट दृष्टिकोण राख्न सक्ने नेतृत्व हामीले ल्याउनुपर्छ । त्यो म पनि हुन सक्छु, अरू कोही पनि हुनसक्छ । पहिले नेतृत्व छान्ने प्रक्रियालाई सुनिश्चित गरौं ।

यो पक्रियाबाट जो पनि आउन सक्छ । यसमा उमेरको मात्रै कुरा हुँदैन । मलाई नै जेनजी त के युवा भन्न पनि मिल्दैन । उमेर नै ५० वर्ष कट्न लागिसकियो । मैले नै निरन्तरता दिएको ३० वर्ष भइसक्यो ।

अग्रजहरू जस्तो लामो समय कुर्सीमा बसिरहन हामी चाहँदैनौं र त्यो अवसर पाउँदैनौं पनि । हामी पनि पछिल्लो पुस्ता झनै धारिलो भएर आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?