
५ साउन, काठमाडौं । आज सुरु भएको नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठक भावी नेतृत्वको विषयमा केन्द्रित हुन पुगेको छ ।
पहिलो दिन धारणा राख्ने ४९ जनाकै कुरा कुनै न कुनै तरिकाले नेतृत्व केन्द्रित भएको छ । जबकि नेताहरूलाई राजनीतिक एवं संगठनात्मक कार्यक्रम, मुलुकका समस्या र सम्भावना जस्ता नीतिगत एवं सैद्धान्तिक विषयमा धारणा राख्ने अवसर थियो ।
आगामी २०–२२ भदौमा हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजको मस्यौदा तयार पार्ने मुख्य उद्देश्य रहकाले नेताहरूले सैद्धान्तिक एवं राजनीतिक कुरा राख्न सक्थे । तर दिनभर चलेको बैठकको एजेण्डा पार्टीको नेतृत्वमा केन्द्रित हुन पुग्यो ।
बैठकलाई सैद्धान्तिक एवं नीतिगत भन्दा पनि नेतृत्व र व्यक्ति केन्द्रित गर्ने थालनी स्वयं अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । ‘अध्यक्ष आफैंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एजेण्डा बैठकमा प्रवेश गराउनुभयो,’ एक जना नेता भन्छन्, ‘सदस्यता नवीकरण गर्दा सल्लाह नलिइएकाले पार्टीले उचित समयमा उचित निर्णय लिने जानकारी दिनुभयो ।’
पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे टिप्पणी गरिरहँदा ओलीले चेतावनीकै भाषामा बोलेका थिए । ‘आफैं के गर्छु भन्ने प्रष्ट नपारेको पूर्वराष्ट्रपतिलाई पछ्याएर अरु नेता किन हिड्नुपर्यो ?’ ओलीले भनेका थिए, ‘पशुपति जाँदा सँगै, पार्टी कार्यालय आउँदा पनि सँगै, हारेकाहरू लिएर हिडेका छन् ।’
ओलीको कुरा सुनेपछि लगभग सबै केन्द्रीय सदस्यले नेतृत्व केन्द्रित धारणा राखे । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन मस्यौदा नेताहरूका निम्ति कुरा राख्ने आधार बन्यो । अनि महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक अवस्थिति र मिसन–०८४ को लक्ष्य ओझेलमा पर्यो ।
बैठकमा बहस नोट समितिको जिम्मेवारीमा रहेका विष्णु रिजाल नेताहरूले नेतृत्व केन्द्रित कुरा राख्नुलाई स्वभाविक मान्नुपर्ने बताउँछन् । ‘तत्कालीन विषयहरूले बैठकलाई प्रभाव पार्छ नै, नेतृत्वका विषयमा बाहिर कुरा उठेपछि नेताहरूले आफ्नो राय राख्नैपर्छ’, उनी भन्छन् ।
अर्थात् एमाले बैठकको पहिलो दिन ओलीलाई नै निरन्तरता दिने अथवा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका निम्ति बाटो खुला गर्ने भन्नेमै केन्द्रित भएको छ । केन्द्रीय सदस्य रिजालका अनुसार सुझाव राख्नेहरूमध्ये लगभग सबैले केपी ओलीको विकल्प नरहेको तर्क गरेका छन् । ‘केपी ओलीको नेतृत्वमा एमाले एकताबद्ध बनाएर लैजाने कुरामा विमति देखिँदैन,’ रिजाल भन्छन् ।
युवा संघका पूर्वअध्यक्ष राजीब पहारीले त जारी केन्द्रीय कमिटी बैठकबाटै ओलीलाई तेस्रोपटक अध्यक्ष घोषणा गरेर जानुपर्ने सुझाव राखेका थिए । ‘एघारौं महाधिवेशनपछि पनि केपी ओली नै अध्यक्ष हो भनेर यही बैठकबाट निर्णय गरेर जाऔं’, पहारीले भनेका थिए । उनलाई अरु केही नेताहरूले पनि साथ दिएका थिए ।
‘पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी रहेकाले केपी ओलीको विकल्प खोज्नेगरी जानु हुन्न भन्नेमा लगभग हल नै उभिएको देखियो,’ बहस नोट समितिका अर्का सदस्य निरज आचार्य भन्छन् ।
ओलीको विकल्प नदेख्नेहरूले देशीविदेशी प्रतिक्रियावादीहरूको चलखेल बढेको, मिसन–०८४ सफल पार्नुपर्नेे, एकताबद्ध पार्टीको आवश्यकता रहेको लगायत तर्क गरेका थिए ।
पहिलोपटक फरक स्वर
पहिलो दिनको बैठकमा बोलेका गण्डकी, मधेश र सम्पर्क समन्वयका नेताहरूमध्ये केहीले नेतृत्व परिवर्तनकै आवाज उठाएका थिए । ११ वर्षदेखि ओलीको नेतृत्वमा चलेको एमालेमा पहिलोपटक यस्तो आवाज उठेको हो ।
पदाधिकारी तहको कमिटीमा भने यसअघि पनि यस्ता आवाज उठ्ने गरेको थियो । शुक्रबारको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व छोड्न सुझाव नै दिएका थिए । पार्टी सञ्चालनको कार्यशैली ठीक नरहेकाले नेतृत्व छोड्न ओलीलाई पोखरेलले सुझाव दिएका थिए ।
उक्त सचिवालय बैठकमा अरू पदाधिकारीले पनि ७० वर्षे उमेर हद र दुई कार्यकाल बढी एउटै पदमा रहन नपाउने विधानको व्यवस्था खारेज गर्न नहुने अडान लिएका थिए । विधानको धारा ६४ मा रहेको यी दुई व्यवस्था कायम राख्नुपर्ने अडानका अर्थ ओलीले नेतृत्व नेतृत्व छोड्नु नै हुन्थ्यो ।
सचिवालय बैठकमा नेतृत्व परिवर्तनको एजेण्डा उठेपछि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूप्रति निगरानी बढाइएको छ । केन्द्रीय कमिटी बैठक बस्नुअघि प्रदेश इन्चार्ज मार्फत् सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरूको अलगअलग भेला गरिएको थियो । ती भेलाहरूमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने पक्षमा उभिन निर्देशन दिइएको नेताहरू बताउँछन् ।
यद्यपि च्यासलमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा केही नेताहरूले भिन्न मत राखे । सचिवालय र पोलिब्यूरो बैठक हुँदै आएको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्तावमा नीहरूले भिन्न मत राखे ।
केन्द्रीय सदस्यहरू अरविन्द सिंह, दिवाकर देवकोटा, इन्द्रलाल सापकोटा, रचना खड्का, कृष्ण थापा, रमेश पौडेल लगायतले मस्यौदा प्रस्तावमाथि भिन्न मत राखेका थिए ।
केन्द्रीय सदस्य खड्काले व्यक्ति हेरेर विधान बाउने वा हटाउने गर्न नहुने तर्क गरेका थिए । ‘एउटा समयमा यी विषय क्रान्तिकारी हुने, अर्को समयमा अनावश्यक र प्रतिगामी हुने त होइनन्,’ खड्काको प्रश्न थियो, ‘हामी कुनैपनि व्यक्तिलाई केन्द्रीत गरेर विधि बनाउने वा हटाउने नगरौं । यस्तो प्रवृत्तिले पार्टी निर्माणमा बाधा पुग्छ ।’
अर्का केन्द्रीय सदस्य देवकोटाले उमेर हद पहिले किन राखियो र अहिले किन हटाउने भन्ने जवाफ मागेका थिए । ‘पहिले किन उमेर हद राखियो ? अहिले किन हटाइयो ?’, उनको प्रश्न थियो ।
केन्द्रीय सदस्य अरबिन्द सिंहले पूर्वराष्ट्रपति भण्डारीको सदस्यतामा विवाद गरिन नहुने तर्क गरेका थिए । सँगै, केन्द्रीय कमिटी बैठक विधिमा नभएर नेतृत्वमा केन्द्रीत गर्ने काम गरिएकोमा आपत्ति जनाएका थिए । ‘नेतृत्वबाटै हामी विधिमा केन्द्रीत हुनुपर्छ भन्ने अनि फेरि नेतृत्वबाट बैठकलाई नेतृत्व केन्द्रीत गराउने ?’, उनको प्रश्न थियो ।
पार्टीलाई विधि बमोजिम चलाउनुपर्ने, विधि बमोजिम नेताहरू चल्नुपर्ने उनको सुझाव थियो । ‘वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव ल्याइएको छ, पूर्वराष्ट्रपतिको पक्षमा ईश्वर पोखरेल उभिनुभयो भनेर हो ?’, उनले यस्तो पनि सोधेका थिए ।
३ मिनेटको समयभित्र कुरा सक्नुपर्र्ने भएकाले नेताहरूले खुलेर धारणा राख्न भने सकिरहेका छैनन् । ‘बोल्नलाई थोरै समय छुट्याइएको छ, कतिपय केन्द्रीय सदस्यहरूले त केपी ओलीको प्रशंसा गर्दैमा समय सकिरहेका छन्’, बैठक स्रोत भन्छ ।
प्रतिक्रिया 4