
हामीले केही समयदेखि भन्दै आएका थियौं, मुलुक यथास्थितिमा लामो समय सम्म कायम रही रहन सक्दैन । यो यथास्थिति लाई छिट्टै अग्रगामी रूपान्तरणद्वारा सकारात्मक कोणबाट अन्त्य गर्न सकिएन भने यसले देशलाई प्रतिगमन वा राष्ट्रिय स्वाधीनता माथि संकट वा असफल राज्य बनाउने दिशामा धकेल्ने खतरा छ ।
हामीले यो पनि भनेका थियौं , मुलुकको यो यथास्थितिलाई सकारात्मक रूपमा अन्त्य गर्नका लागि हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्नु पर्दछ र पार्टीले आफ्नो संगठनात्मक यथास्थितिलाई तकाल गुणात्मक रूपान्तरणद्वारा अन्त्य गरे मात्र त्यो सम्भव छ ।
पार्टीले त्यस दिशामा केही सकारात्मक प्रयत्न गरे पनि रूपान्तरणकारी गुणात्मक हस्तक्षेपद्वारा संगठनात्मक यथास्थितिको अन्त्य गर्ने सफलता प्राप्त गर्न सकेन र अग्रगामी पहलद्वारा देशको यथास्थितिलाई अन्त्य गर्ने नेतृत्वदायी हस्तक्षेपयुक्त भूमिका खेल्ने ठाउँमा पुग्न सकेन ।
फलतः जेनजी विद्रोहात्मक आन्दोलनले हस्तक्षेप गर्यो । त्यसले केही सकारात्मक सन्देश र प्रभावसहित अग्रगामी दिशामा जानका लागि केही आधार प्रदान गरेको छ भने सँगसँगै राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रमाथि (यसका सकारात्मक उपलब्धिहरूमाथि) खतरा पनि देखिएको छ ।
तसर्थ देश यतिबेला अग्रगमन र प्रतिगमन तथा राष्ट्रिय स्वाधीनता र विदेशी हस्तक्षेपबीच द्वन्द्व संघर्षको तरलता युक्त संक्रमणबाट गुज्रिरहेको छ ।
जेनजी मुद्दालाई सम्बोधन गर्दै मुलुकलाई अग्रगामी दिशा तिर लैजाने सम्भावनासहितको अवसर एकातिर छ भने राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिकासहित देश एउटा वा अर्को रूपको प्रतिगमन को दिशामा जान सक्ने खतरा पनि छ ।
मुख्यतः नेपालको राष्ट्रिय सार्वभौमिकता र नेपाली जनतामा निहित सम्प्रभुताको रक्षाको प्रश्न अत्यन्त गम्भीर चुनौतीका रूपमा खडा भएको छ ।
जेनजी आन्दोलन
एक, जेनजी आन्दोलनको विकासको पछाडि आन्तरिक वस्तुगत कारण छन् ; दशकौंको बलिदानपूर्ण संघर्षपछि देशमा युगान्तकारी महत्त्वको ऐतिहासिक लोकतान्त्रिक राजनीतिक परिवर्तन भयो ।
समाजवादउन्मुख समावेशी संघीय गणतन्त्रात्मक लोकतन्त्रलाई नयाँ प्रकारको लोकतन्त्रका रूपमा सविधानसभाबाट जारी गरिएको सविधानमा संस्थागत गरियो र त्यो संविधान कार्यान्यवनको प्रक्रियामा छ ।
नेपाली जनताले राजनीतिक व्यवस्थामा आएको परिवर्तनबाट सामाजिक आर्थिक रूपान्तरण र समृद्धिको अपेक्षा गरेका थिए । जुन स्वाभाविक थियो ।
व्यवस्थामा भएको परिवर्तन पछि निश्चय पनि विकासका क्षेत्रमा केही सकारात्मक काम भएका छन् । तर ती मात्रात्मक चरित्रका मात्र रहे । तर, ऐतिहासिक राजनीतिक परिवर्तनमा अन्तर्निहित निर्देश, नेपाली समाजको आवश्यकता र नेपाली जनताको अपेक्षा बमोजिम सामाजिक आर्थिक रूपान्तरण र समृद्धिले गुणात्मक फड्को मार्न सकेन र नेपाली जनताले आफ्नो जीवनका आधारभूत समस्याहरू समाधान भई नयाँ जीवन पाएको अनुभूति गर्न पाएनन् ।
व्यापक भ्रष्टाचार, कुशासन, घुसखोरी, लुट खसोट, नातावाद, कृपाबाद ,बेरोजगारी र गरिबी बाट जनता आक्रान्त भए ।
सरकारमा रहेकाहरू र राजनीतिक नेताहरूको जीवन शैली र संस्कृतिबाट जनताहरूमा राजनीतिक दल र नेताहरू प्रति वितृष्णा बढ्न थाल्यो । केही काम नगरी उच्च स्तरीय जीवन बिताउने हजारौं राजनीतिक नेता कार्यकर्ताहरू माथि कुनै अंकुश र नियन्त्रण हुन सकेन । फलतः जनतामा असन्तुष्टी, आक्रोश पैदा हुँदै गयो ।
त्यो नै वर्तमान आन्दोलनको वस्तुगत आधार बन्यो । नेका र एमालेको गठबन्धनमा आधारित के पी ओली नेतृत्वको पछिल्लो सरकारको निरङ्कुश, असहिष्णु , भ्रष्ट र गैर जिम्मेवार नीति र आचरणले त्यो असन्तुष्टी र आक्रोशमा लाई उत्कर्षमा पुर्यायो ।
सरकार, राजनीतिक दलहरू र नेताहरूको अलोकतान्त्रिक र भ्रष्ट चरित्रबाट पैदा हुने स्वाभाविक असन्तुष्टी, विरोध र आक्रोशका अतिरिक्त दल र नेताहरू विरुध्द चलाइएको योजनावद्ध प्रचार अभियानले पनि समाजमा घृणा र नकारात्मक मानसिकता घनिभूत बनायो र त्यसको पनि प्रभाव रह्यो ।
केपी सरकारले युवाहरूको जीवन आचरण र धेरै मानिसहरूको व्यवासायिक औजार बनिसकेको सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धले विरोध र असन्तुष्टिलाई उत्कर्षमा पुर्यायो, काम गर्यो र भाद्र २३ को जेनजी आन्दोलनको पछिल्लो निमित्त कारण बन्न पुग्यो ।
तर हामीले उपरोक्त आन्तरिक घरेलु पक्षहरूको साथसाथै वर्तमान विश्व परिस्थिति, शक्ति राष्ट्रहरूको द्वन्द्व, एक ध्रुवीय विश्वको अन्त्य पछि विस्तारै कमजोर बन्दै र एक्लिँदै गएको महाशक्ति राष्ट्रले आफ्नो रणनितीक स्वार्थ पूरा गर्न र प्रभाव विस्तार गर्न विश्वका विभिन्न भागमा घटाएका पछिल्ला घटनाहरू, हाम्रो देशको भूराजनीतिक अवस्थिति र भूराजनीति सँग जोडेर पनि यसलाई हेर्नुपर्छ ।
केही साम्राज्यवादी शक्तिहरू आफ्नो रणनितीक स्वार्थको लागि नेपाललाई प्रयोग गर्न केही समय यता योजनावद्ध रुपमा लागि रहेका छन् । यसरी उपरोक्त आन्तरिक वस्तुगत आधार र वाह्य भूमिका, दुवैको कूल योगबाट नै यो स्थिति उत्पन्न हुन पुग्यो ।
तर जेनजी पुस्ताको विद्रोहात्मक चेत, साहस, भूमिका र आन्दोलनलाई कुनै पनि कोणबाट न्यून मूल्याङ्कन गरिनु हुँदैन । त्यसको सम्मान गरिनु पर्दछ र होनहार नवयुवाहरूको बलिदानलाई सार्थक बनाउन हर संभव प्रयत्न गरिनु पर्दछ ।
सामाजिक सञ्जाल माथिको प्रतिबन्ध जेनजी आन्दोलनको विष्फोटको निमित्त कारण देखिए पनि जेनजी आन्दोलनको मूल मुद्दा को सारतत्व लाई , भ्रष्टाचारको विरोध तथा सुशासन, राजनीतिक दल तथा नेताहरूको शुद्धीकरण एवं पुनर्गठन, राजनीतिक स्थायित्व र समृद्धि लाई बुझ्नु पर्दछ ।
आन्दोलनका यी मुद्दाहरूलाई सम्बोधन गर्दै अग्रगामी दिशामा लैजान पार्टीले सम्पूर्ण प्रयत्न गर्नु पर्दछ ।
अन्तरिम सरकार गठन र निर्वाचन घोषणा
जेनजी आन्दोलनकारीहरूको प्रस्ताव अनुसार अन्तरिम सरकार गठन गर्ने संविधानिक आधार तयार पार्न र आन्दोलनका अन्य मुद्दाहरूलाई पनि सम्बोधन गर्न हामीले निम्न प्रस्ताव राष्ट्रपतिज्यू, राजनीतिक दलहरू र विभिन्न जेनजी प्रतिनिधिहरूसँग राखेका थियौं ।
* राष्ट्रपति, जेनजी र दलका बीचमा बैठक बसी जेनजी कै प्रस्ताव अनुसार अन्तरिम सरकार गठन गर्ने र अन्य आन्दोलनका मुद्दाहरूलाई पनि सम्बोधन गर्न ठोस सहमति र सम्झौता गर्ने ।
* त्यसपछि प्रतिनिधि सभाको बैठक बस्ने र सहमति अनुसार संविधान संशोधन गरेर अन्तरिम सरकार गठनको सवैधानिक आधार बनाउने ।
* जेनजी को मुद्दालाई पनि सम्बोधन गर्न सकिने गरी सहमति भएमा अन्य केही विषयमा पनि संविधान संशोधन गर्ने ।
* राष्ट्रपतिले सविधानको संशोधित प्रावधान अनुसार अन्तरिम सरकारको गठन गर्ने ।
* अन्तरिम सरकारले निर्वाचन मिति प्रस्ताव गरे अनुसार राष्ट्रपतिले निर्वाचन मिति घोषणा गर्ने ।
* प्रतिनिधि सभा स्वतः निष्क्रिय वा विघटन हुने ।
हाम्रो यो प्रस्ताव मूलतः जेनजी प्रतिनिधिहरूलाई नै बुझाउन नसकिएको कारणले लागू हुन सकेन र त्यसपछिको कठिन परिस्थितिमा राष्ट्रपतिज्यूले दलहरूको समेत सहमतिमा अन्तरिम सरकारको गठन गर्नुभयो र अन्तरिम सरकारको सिफारिसमा फागुन २१ गते आम चुनाव गर्ने गरी निर्वाचन मिति र प्रतिनिधि सभा विघटनको घोषणा गर्नुभयो ।
जेनजी कै माग अनुसार संवैधानिक बाटोबाट अन्तरिम सरकार गठन गर्ने र अन्य मुद्दाहरूलाई सम्बोधन गर्ने हाम्रो प्रस्ताव सही हुँदाहुँदै पनि त्यस अनुसार नगई प्रतिनिधिसभा विघटन गरिएकोमा हाम्रो असहमति दर्ज गर्दै हामीले अन्तरिम सरकार गठन र निर्वाचन मिति लाई स्वीकार गरिसकेको अवस्थामा पार्टीले घोषित मितिमा निष्पक्ष निर्वाचन सम्पन्न गर भन्ने नारालाई नै अघि बढाउनु पर्दथ्यो र पार्टीले अहिले त्यही निर्णय गरेको छ ।
आजको सन्दर्भमा हाम्रा मुद्दागत नाराहरू ;
एक, राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षा प्रति सचेत होऔं । सम्पूर्ण देशभक्त शक्तिहरू र सुशासन तथा समृद्धिको लक्ष प्रति निष्ठावान सच्चा लोकतन्त्र पक्षधर शक्तिहरू एक होऔं ।
दुई, घोषित मितिमा निर्वाचन सम्पन्न गर । त्यस उद्देश्यलाई केन्द्रमा राखेर अन्तरिम सरकारलाई सफल पारौं ।
तीन, जेन जी आन्दोलनका मुद्दा र आवाजहरूलाई सम्बोधन गरी अग्रगामी रूपान्तरण गर ।
चार, भाद्र २३ गतेको नरसंहारकारी दमन र भाद्र २४ गतेको विध्वंसकारी घटनाको निष्पक्ष छानबिन गरी दोषी माथि कारबाही गर ।
(यहाँ के कुरामा स्पष्ट हुनु जरुरी छ भने जेनजी आन्दोलनकारीहरूमाथि प्रतिक्रान्तिकारी दमन हुन नपाओस् र उनीहरूलाई हतोत्साही बनाउने काम नहोस् । भदौ २४ गरेको घटनामा योजनावद्ध रूपमा आगजनी, लुटपाट र ध्वंस गर्न घुसपैठ गरेकाहरू लाई कारबाही गरियोस्।)
पाँच, भ्रष्टाचारीहरूमाथि कारबाही गरियोस् र सुशासन अभियान अघि बढाइयोस् । छ, ध्वंस गरिएका राष्ट्रिय संरचनाहरूको पुनःनिर्माण गरियोस् । त्यसमा सबैले योगदान गरौं ।
घोषित मितिमा निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने संशयपूर्ण परिस्थिति विद्यमान रहेको अहिलेको अवस्थामा हामीले सम्पूर्ण कोशिस समयमै निर्वाचन सम्पन्न गर्नमा लगाउनुपर्दछ । साथसाथै संभावित सबै प्रकारको संकट र चुनौतीको सामना गर्न पनि तयार रहनु पर्ने आवश्यकता छ ।
पार्टी रूपान्तरण र पुनर्गठन
हामीले देशको यथास्थिति अन्त्य गरी अग्रगमनको दिशामा अघि बढ्न हाम्रो पार्टीको यथास्थितिको अन्त्य गर्नु पर्छ भन्ने अत्यन्त सही र गम्भीर निष्कर्ष निकालेका हौं ।
पार्टीको यथास्थिति अन्त्य गर्नको लागि रूपान्तरण र पुनर्गठनको प्रक्रियालाई गुणात्मक ढंगले अघि बढाउनु आवश्यक छ, अन्यथा पार्टीले आफ्नो राजनीतिक आचित्य पुष्टि गर्न सक्नेछैन र विघटन वा विसर्जनमा पुग्नेछ भन्ने पनि हाम्रो निचोड हो ।
पार्टीको यथास्थितिलाई अन्त्य गर्न पार्टीमा विद्यमान निम्न मुख्य समस्याहरूलाई समाधान गर्नु पर्छ भन्ने हाम्रो निष्कर्ष रहेको हो ; वैचारिक समस्या : निष्ठा,आदर्श र मूल्यको स्खलन । वैचारिक सैद्धान्तिक पक्षको उपेक्षा,पार्टीको कार्यदिशाको एकरुप समझदारीको अभाव,, विचारको विकासको महत्वको बोध नगर्नु । विधि पद्धतिको पालन, सामूहिक र संस्थागत कार्यप्रणालीमा गम्भीर समस्या । व्यक्तिवाद र गुटबाद हावी ।
भ्रष्टीकरण :
नेपाली राजनीति र नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको भ्रष्टीकरणको समस्या हाम्रो पार्टीमा पनि गम्भीर रूपमा विद्यमान छ । उत्पीडित वर्ग र जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको छ ।
निचोडमा भन्दा यो वैचारिक सांस्कृतिक समस्या वा वैचारिक सांस्कृतिक संकट हो । यसको वस्तुगत कारण ,पार्टीको बुर्जुवाकरण हो ।
ठूलो वैचारिक सांस्कृतिक रूपान्तरणको महाअभियानले वा हाम्रो मौलिकताको सांस्कृतिक क्रान्तिले मात्र यसको समाधान गर्न सक्दछ ।
पार्टीको रूपान्तरण र पुनर्गठनको अभियानले सार्थक रूपमा तिब्रता प्राप्त गर्न सकेन र सकारात्मक गुणात्मक परिणाम देखिएन । यस सन्दर्भमा हाम्रो पार्टीमा दुई प्रवृत्ति विद्यमान छन् । यो कुनै एउटा व्यक्तिको विरुद्ध वा व्यक्तिको विषय होइन ।
हामी सबैमा एक वा अर्को रूपमा विद्यमान प्रवृत्तिगत समस्या हो ।
ती दुई प्रवृत्ति हुन्; एउटा ,पार्टीको निर्णयलाई निर्णय पुस्तिकामा सीमित राखेर वास्तविक व्यवहारमा जे गरिराख्या छ त्यही गरिराख्ने तदर्थवादी यथास्थितिवादी अवसरवादी प्रवृत्ति र अर्को, पार्टीको निर्णयलाई इमान्दार रहने रूपान्तरणकारी क्रान्तिकारी प्रवृत्ति ।
दोस्रोलाई पार्टी प्रवृत्ति र पहिलोलाई गैर पार्टी प्रवृत्ति भन्न सकिन्छ । यी दुई प्रवृत्ति मध्ये पार्टीको मूल प्रवृत्ति के बन्छ भन्ने कुराले पार्टीको भविष्य निर्धारण गर्नेछ ।
पार्टीको सकारात्मक पक्षहरू
एक, नेपालमा आज विद्यमान ऐतिहासिक राजनीतिक परिवर्तन,उपलब्धि र संविधानको निम्ति मुख्य निर्णायक भूमिका खेल्ने शक्ति हाम्रो पार्टी हो र त्यसको रक्षामा पार्टी प्रतिबद्ध छ ।
दुई, बेला बेलामा देखिएका प्रतिगामी कदम वा प्रतिगमन उन्मुख घटनाहरूको विरुद्धको संघर्षमा नेतृत्वदायी भूमिका खेल्दै सबै प्रतिगमन विरोधी शक्तिहरूलाई गोलबन्द गरेर प्रतिगमन लाई परास्त गर्न मुख्य भूमिका खेल्ने शक्ति पनि हाम्रो पार्टी नै हो ।
तीन, नेपाली समाजको आवश्यकता र जनताको अपेक्षा लाई पूर्ति गर्ने गरी सुशासन र समृद्धिको पक्षमा काम गर्न नसकिएको भए पनि सरकारमा रहँदा सुशासन ,समृद्धि र सामाजिक न्याय को पक्षमा अरु कुनै पार्टीको सरकारले भन्दा उल्लेखनीय भूमिका खेल्ने हाम्रो पार्टीको सरकार हो ।
चार, जनता सँग माओवादी जनजागरण अभियानले पार्टी र जनताको बीचमा सम्बन्ध राम्रो बनाउने काम गर्यो । पाँच, पार्टी सरकारबाट हटिसकेपछि प्रमुख प्रतिपक्षी दलको हैसियतले अध्यक्ष कमरेडले संसद्मा गर्नुभएको सम्बोधन र अपीलले कार्यकर्ता र जनतालाई धेरै उत्साह र ऊर्जा दिएको छ ।
छ, आफ्ना गल्ती कमजोरीका निम्ति पार्टीले सार्वजनिक रुपमा नै आत्मलोचना गर्दै आएको छ ।
पार्टीका कमजोरीहरू :
त्यो ऐतिहासिक युगान्तकारी राजनीतिक परिवर्तनको मुख्य नेतृत्वदायी शक्ति हुनुको नाताले हाम्रो काँधमा नै सामाजिक आर्थिक रूपान्तरण,समृद्धि र सामाजिक न्याय लाई गुणात्मक फड्कोको बिन्दुमा पुर्याएर र आम जनतालाई नयाँ जीवन दिई नयाँ नेपालको अनुभूति गराउने जिम्मेवारी थियो ।
त्यस सन्दर्भमा हामी शान्ति प्रक्रियामा आएदेखि जुन ढंगको गम्भीरता, तत्परता ,नीति,योजना र आचरण प्रदर्शन गर्न सक्नु पर्थ्यो त्यसो गर्न नसक्नु र हाम्रो पार्टी स्वयं वैचारिक सांस्कृतिक रुपले स्खलित र भ्रष्टकृत हुँदै जानु हाम्रो सबभन्दा ठूलो कमजोरी हो ।
यसरी हजारौं महान शहीदहरूको रगतबाट निर्मित हाम्रो पार्टीले ती महान शहीदहरूको सपना साकार गर्ने दिशामा अपेक्षित गुणात्मक भूमिका खेल्न नसकेकोमा पार्टीले आम जनसमुदाय समक्ष विनम्रतापूर्वक क्षमा याचना गर्नु पर्दछ ।
यस सन्दर्भमा पार्टीले महाधिवेशन र केन्द्रीय समितिको विभिन्न बैठकहरूमा आत्मसमीक्षा गर्दै पार्टीको अहिलेको भ्रष्टकृत,स्खलित र कमजोर स्थितिको यथार्थलाई स्वीकार गर्यो र त्यसलाई बदल्न पार्टीमा रूपान्तरण र पुनर्गठनको महाअभियान अघि बढाउने र हाम्रो आफ्नै मौलिकताको सांस्कृतिक क्रान्ति सञ्चालन गर्ने निर्णय गर्यो । तर व्यवहारमा त्यो निर्णय प्रभावकारी रुपमा लागू हुन सकेन । तदर्थवादी यथास्थितिवाद नै हावी भइरह्यो ।
अन्य कमजोरी हरू :
एमसीसी परियोजना आर्थिक विकास परियोजना नभएर मूलतः रणनीतिक योजना हो भन्ने पार्टीको निष्कर्ष हुँदाहुँदै पनि पार्टीले यसलाई संसदबाट अनुमोदन गर्नु, नेपाली कांग्रेस सँगको सरकारको समीकरण हठात परिवर्तन गरी एमाले सँग नयाँ समीकरणको सरकार बनाउनु, स्वार्थको द्वन्द्व भएको व्यक्तिलाई गृह मन्त्रालयको जिम्मेवारी दिनु र रास्वपाको सभापति प्रति नेतृत्वबाट ज्यादै बढी महत्त्व दिएको र पक्षधरता लिएको देखिनु, (यहाँ के कुरामा स्पष्टताको आवश्यकता छ भने रास्वपा सभापतिमाथि अनुसन्धान र हिरासत वा जेल बसाइमा सरकारको व्यवहारद्वारा गरिएको भेदभाव,दुर्व्यवहार र अपमानजनक व्यवहारको हामीले कडा विरोध गर्ने पर्थ्यो । त्यसमा कुनै शंका छैन । तर हाम्रो नेतृत्वबाट अनुसन्धान र मुद्दा दायर को नै विरोध गरेको जस्तो देखिनु उपयुक्त होइन ।)
जनता सँग माओवादी जन जागरण अभियान प्रभावकारीरूपमा अघि बढिरहेकै बेला शेरबहादुर देउवालाई सरकार बनाउन समर्थन गर्ने र सरकारमा जान सकिने अभिव्यक्ति दिनु, (त्यसले कार्यकर्ता र जनतामा भ्रम पैदा गर्यो ।)
भिजिट भिसाका सन्दर्भमा प्रमुख प्रतिपक्षी पार्टीले सरकारसँग र बुँदे गलत सम्झौता गर्नु, (त्यसले कार्यकर्ता र आम जनसमुदायमा पार्टीप्रति नकारात्मक भाव विकास गर्यो ।)
भर्खरै जेनजी आन्दोलनबाट विस्थापित एमाले र नेपाली कांग्रेस पार्टीका प्रमुख सचेतकहरूले सँग मिलेर संयुक्त वक्तव्य दिनु र प्रतिनिधि सभा पुनस्स्थापनाको नारा दिनु, (हाम्रो पार्टीले जेनजी आन्दोलनकारी कै प्रस्ताव र सहमति अनुसार अन्तरिम सरकार बनाउने तर प्रतिनिधिसभा मार्फत संवैधानिक रूपमा नै त्यसको आधार तयार पारेर गर्ने भन्ने प्रस्ताव राखेको थियो ।
त्यो प्रस्तावमा सहमति नभएर प्रतिनिधि निर्णय संवैधानिक बाटो अवलम्बन नगरी प्रतिनिधिसभा विघटनको गरिएकोमा असहमति दर्ज गर्नु स्वाभाविक थियो ।
तर त्यसरी असहमति दर्ज गर्दै गर्दै पनि पार्टीले अन्तरिम सरकारको गठन र निर्वाचन घोषणा प्रति सहमति र समर्थन जनाइसकेको सन्दर्भमा प्रतिनिधि सभा पुनस्स्थापनाको नारा दिनु गलत थियो । त्यसले केही समय भ्रम पैदा गर्यो ।)
जेनजी आन्दोलनपछिको अवस्था र पार्टी पुनर्गठन
अब जेनजी आन्दोलन पछिको कुरा राम्ररी उजागर भएको छ भने पार्टीको रूपान्तरण र पुनर्गठनको कुरा अब निर्णय र दस्तावेजमा मात्र सीमित गर्ने कुरा स्वीकार्य र सह्य हुने सक्दैन ।
त्यसले हामीलाई पार्टीको राजनीतिक औचित्य समाप्त पार्ने, पार्टी संगठनलाई विघटन र विसर्जनको ठाउँमा पुर्याउने र देशलाई संकट थोपरिनबाट बचाएर अग्रगामी दिशामा लैजाने सम्भावना कमजोर बनाई संकटग्रस्त बनाउन सक्नेछ । त्यो छुट हामीलाई छैन र त्यो क्षम्य हुने सक्दैन ।
त्यसैले हामीले पार्टीको रूपान्तरण र पुनर्गठनलाई नयाँ उचाइबाट आन्दोलनको रूपमा अघि बढाउनु पर्दछ । यसलाई सिंगो कम्युनिष्ट आन्दोलनको रूपान्तरण तथा पुनर्गठन सम्म विस्तारित गर्नु पर्छ ।
त्यसका लागि हामीले विश्व मा विभिन्न आयाममा देखा परेको वस्तुगत परिवर्तनका पक्षहरूलाई लाई सम्बोधन गर्नेगरी र प्रतिक्रान्तिका शिक्षाहरूलाई आत्म सात गरेर गतकालमा भएका कमीकमजोरीलाई सच्याउने गरी दुवै कोणबाट विचारको विकास गर्न जुट्नु पर्छ ।
नेपालको सामाजिक क्रान्तिको चरित्र,वर्ग संरचना,उत्पादन पद्धति,सामाजिक विशेषता,संघर्षका रूपहरूको विकास र भूराजनीतिक पक्षलाई समेत ध्यान दिएर राजनीतिक कार्यदिशालाई परिमार्जन र विकास गरेर स्पष्ट पार्नु पर्छ ।
संगठनात्मक कार्यदिशा,संगठन निर्माण र परिचालनको कार्ययोजना लाई आजको विज्ञान,प्रविधि र सामाजिक यथार्थको सापेक्षतामा अघि बढाउनु पर्छ ।
विचार,राजनीति,संगठन,अर्थ व्यवस्था र संस्कृति सबै क्षेत्रमा हामीमा अन्तर्निहित जडताको साङ्लोलाई च्यातेर वैज्ञानिक चेत र आजको यथार्थको आत्मसातीकरण गरेर तदनुरूप नीति,योजना,कार्यक्रम र कार्यशैली बनाएर अघि बढ्नु अपरिहार्य भएको छ ।
पार्टीको आजको आवश्यकता अनुरूप फड्कोकारी रूपान्तरण र पुनर्गठनको निम्ति पार्टीभित्र व्यापक छलफल बहस सहित अभियान सञ्चालन गर्नु पर्दछ । त्यसलाई पार्टीको महाधिवेशन सम्पन्न गरेर गुणात्मक बिन्दुमा पुर्याउनु पर्दछ ।
यसै बीचमा क्रान्तिकारी, समाजवादी एवं इमान्दार वामपन्थी शक्तिहरूको बीचमा पार्टी एकताको पकडने प्रयत्न गर्नु पर्दछ र त्यस अवस्थामा एकता अधिवेशन गर्दै अघि बढ्नु पर्ने हुन सक्छ ।
र,राष्ट्रिय सार्वभौमिकता र नेपाली जनताको सम्प्रभुताको रक्षाको प्रश्न अत्यन्त गम्भीर बन्दै गइरहेको परिप्रेक्षमा सम्पूर्ण देशभक्त शक्तिहरूलाई एकतावद्ध हुन अपील गर्दै ती सबै शक्तिहरूलाई गोलबन्द गर्ने पहल लाई गम्भीर रुपमा अघि बढाउनु पर्दछ ।
साथै भ्रष्टाचार विरुद्ध सुशासन ,विधिको शासन,स्वच्छता र समृद्धि पक्षमा देखिएका सबै वाम – लोकतान्त्रिक राजनीतिक दल तथा शक्तिहरू सँग सहकार्यमूलक एकताको लागि प्रयत्न गर्ने नीति लिनु पर्दछ ।
महाधिवेशन कहिले ?
हामीले महाधिवेशनको आयोजना गर्दा एकातिर देशको तात्कालीन परिस्थिति र कार्यभारलाई साथ साथै महाधिवेशनको उद्देश्य तथा न्यूनतम पूर्वशर्त को पालनामा ध्यान दिनु पर्दछ ।
अहिले पार्टीको मुख्य ध्यान घोषित मितिमा आम निर्वाचन सम्पन्न गर्ने बिन्दुमा देशलाई पुर्याउन र निर्वाचनको तयारीमा केन्द्रित गर्नु पर्दछ ।
निर्वाचन निर्धारित मितिमा हुन नसकेमा उत्पन्न हुन सक्ने संकट बाट देशलाई बचाउन र निर्वाचनको राम्रो परिणाम ल्याउन हर संभव प्रयत्न गर्न त्यसमा जोडिनु पर्दछ ।
त्यस कोणबाट हेर्दा निर्वाचन मिति अघि मंसिरमा नै विशेष महाधिवेशन सम्भव र उपयुक्त हुँदैन ।
हाम्रो पार्टीको वैचारिक सांस्कृतिक स्तरको न्यूनताको परिप्रेक्षमा पार्टीको विभिन्न स्तरको सम्मेलन र अधिवेशनमा हुन सक्ने अस्वस्थ प्रतिस्पर्धा अर्थात् गुटबन्दिजन्य खिचातानीले पार्टीलाई आसन्न चुनावमा एकताबद्ध भएर प्रस्तुत हुनेमा गम्भीर समस्या उत्पन्न गर्न सक्नेछ ।
यसरी हेर्दा पनि निर्वाचन मिति अघि मंसिरमा विशेष महाधिवेशन उपयुक्त हुँदैन ।यसका अतिरिक्त कुनै पनि वास्तविक महाधिवेशनको लागि दुई विषय अनिवार्य पूर्व शर्त हुन्छन् ।
एक, वैचारिक दस्तावेज तयार पारी तल पार्टीको सबै तहमा पार्टी सदस्य सम्म पुर्याउनु पर्दछ र त्यसमाथि अध्ययन – छलफल हुनु पर्छ ।
दुई, सबै वडा, पालिका र प्रदेश स्तरको सम्मेलन – अधिवेशन गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित गर्नु पर्दछ । २ महिना भित्र यो कार्य पूरा गरेर सार्थक महाधिवेशन गर्न सम्भव देखिन्न । त्यसैले हामीले निर्वाचन पछि सम्भव भए सम्म छिटो महाधिवेशन गर्ने सोच अनुसार अघि बढ्नु आवश्यक छ ।
प्रमुख कार्यकारी नेतृत्वबारे
पार्टी महाधिवेशन त्यसरी उपयुक्त समयमा गर्ने तयारी अनुरूप अघि बढ्दै गर्दा पनि पुनर्गठनको स्पष्ट सन्देश दिने कार्यको थालनी भने अहिले नै गर्नु पर्दछ ।
अहिले जेनजी विद्रोहात्मक आन्दोलन ले दिएको सन्देश ,पारेको प्रभाव र पुनर्गठन गर्नु पर्ने अपील को सन्दर्भमा अध्यक्ष कमरेडले अध्यक्ष पदको कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ ।
महाधिवेशनबाट त्यस प्रकारको निर्णय लिने हो भने पनि अहिले संस्थागत प्रणाली अन्तर्गत दोस्रो वरीयताका नेतालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएर त्यो प्रक्रियाको स्पष्ट सन्देश दिनु राम्रो हुन्छ ।
यो पार्टी पुनर्गठनको सन्देश दिन र जनतालाई अपील गर्न सकारात्मक कदम हुनेछ । अध्यक्ष क. प्रचण्डले नै पहल लिँदा सामान्यतः नेपाली मुलधारको राजनीतिमा र विशेषतः नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँको ऐतिहासिक अगुवाइका स्थापित हुनेछ ।
यहाँ के कुरामा पनि स्पष्ट हुनु आवश्यक छ भने हाम्रो पार्टीको आजको यथार्थको ठोस सन्दर्भमा अध्यक्ष कमरेड स्वयंको वास्तविक सहमतिमा मात्र यो प्रक्रिया व्यवहारतः कार्यान्वयन हुन सक्नेछ ।
यस सन्दर्भमा अर्को एक पक्षको बारेमा पनि स्पष्टताको आवश्यकता छ । अध्यक्ष कमरेडको कार्यकारी नेतृत्वको जिम्मेवारीबाट विदाई हुँदा उहाँ प्रतिको सम्मान लाई कायम राख्दै र उहाँको निरन्तर वैचारिक,निर्देशनात्मक र अभिभावकीय भूमिकालाई स्थापित गर्दै गरिनु पर्दछ ।
नेपालको आजको ऐतिहासिक राजनीतिक परिवर्तनको निम्ति जसरी जनयुद्धको मुख्य भूमिका रहेको यथार्थलाई सबैले स्वीकार्नु पर्ने हुन्छ,त्यसरी नै व्यक्ति नेताहरूको हकमा क. प्रचण्डको मुख्य योगदान रहेको तथ्यलाई स्थापित गर्दै हामीले अध्यक्ष क. प्रचण्डको नेतृत्व ले पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्नु पर्दछ । प्रतिक्रियावादी कोणबाट गरिने आक्रमणबाट प्रतिरक्षा गर्नु पर्दछ ।
तर हाम्रो समाज एवं बहुदलीय प्रतिस्पर्द्धात्मक प्रणालीको परिप्रेक्ष्यमा ३ दशक एउटै व्यक्ति प्रमुख नेतृत्वमा रहिरहेको विषय नकारात्मक चर्चा को विषय बनिरहेको सन्दर्भ र अहिलेको जेनजी आन्दोलन पछि प्रमुख पार्टीहरूको प्रमुख नेताहरूको सन्दर्भमा जनमानसमा परेको वा पारिएको पर्सेप्सनको परिप्रेक्ष्यमा जनतामा अपील सहित पार्टी निर्माणको प्रक्रियामा अघि बढ्न आजको सन्दर्भमा नयाँ ढंगले अघि बढ्नु पनि त्यतिकै आवश्यक छ ।
(नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा पेश गरेको प्रतिवेदनको पूर्णपाठ ।)
प्रतिक्रिया 4