Comments Add Comment

छिमेकीलाई किन फकाउँदै छ चीन ?

१७ चैत, काठमाडौं । काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाहरु आज लगानी सम्मेलनमय बनेका छन् । २ दिने सम्मेलनका क्रममा आएका प्रस्ताव र समझदारीलाई पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर उतारेका छन् ।

कान्तिपुरले ‘१७ अर्बको प्रस्ताव’ शीर्षक दिएर लगानी सम्मेलनमा आएका प्रतिबद्धतामाथि मुख्य समाचार बनाएको छ । सरकारले प्रस्तुत गरेका आयोजना र निजी क्षेत्रले घोषणा गरेका क्षेत्रमा १७ खर्ब लगानीको प्रस्ताव आएको हो । समाचार अनुसार, ११ आयोजनामा आवेदन परेको छ भने १५ समझदारीमा हस्ताक्षर भएको छ ।

लगानीको अंक भने पत्रिका पिच्छे फरक छ । नयाँ पत्रिकाले १२ खर्ब लगानीको आवेदन परेको लेखेको छ ।

अन्नपूर्णले १५ परियोजनामा लगानी गर्ने प्रतिबद्धता लगानीकर्ताले जनाएको लेखेको छ । यातायात पूर्वाधारमा ७, ऊर्जामा ४, कृषिमा ३ , शिक्षामा २ र ढुवानीमा १ प्रस्ताव परेको समाचारमा उल्लेख छ ।

तारागाउँ रिजेन्सीमा नक्कली कारोबार

सरकारी लगानी रहेको पब्लिक कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेडमा नक्कली कारोबार हुने गरेको भेटिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानमा अस्वभाविक देखिएका केही कारोबारमा सहायक कम्पनीहरुले नक्कली भ्याट बिल प्रयोग गरेको पाइएको कान्तिपुरको समाचारमा उल्लेख छ । तीमध्ये केही कम्पनीको कारोबारबारे राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ ।

प्रदेश २ को स्थगित एसईई परीक्षा चैतमै हुने अर्को खबर पनि कान्तिपुरमा छ । लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को एसईई परीक्षा स्थगित गरिएको थियो ।

छिमेकी फकाउँदै चीन

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिय चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको अन्नपूर्णले लेखेको छ । विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारणा अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर एसिया युग निर्माणमा लागेको अन्नपूर्णको विश्लेषण छ ।

अन्नपूर्णमा चन्द्रशेखर अधिकारी लेख्छन्– अमेरिकाले भारत, अस्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाइ चीनको छ । तर चीनले अमेरिकी रणनीति फितलो पार्न राजनीति, कूटनीति(कर्मचारीतन्त्र), सुरक्षा निकाय, व्यापारिक समुदाय र जनस्तरबाट विश्वका अधिकांश मुलुकलाई जोड्न थालेको छ । यस क्रममा चीनले छिमेकीलाई विशेष महत्त्व दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment