Comments Add Comment

प्रचण्डले भने- आत्मसमर्पण गरिँदैन, तर सहमति गर्नैपर्ने भो !

२२ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधान निर्माणका क्रममा कांग्रेस एमालेसँग सहमति गर्नका लागि आफूलाई अधिकार दिन आफ्नो पार्टीका नेताहरुसँग माग गरेका छन् ।
prachanda
‘चार दलको छलफलमा मलगायत बाबुरामजी र नारायणकाजीजी समेत सहभागी हुनुहुन्छ, सबै साथीहरुसँग छलफल गर्ने समय भएन,’ प्रचण्डले शुक्रबार बिहान आयोजित पार्टीको ‘हाइ कमाण्ड’ बैठकमा भने, ‘संविधान निर्माणमा सहमति गर्ने अधिकार तपाईहरुले मलाई दिनुपर्‍यो ।’

‘अध्यक्षले आफू लगायत तीन जना नेतृत्वको टीमलाई अधिकार दिनोस् भन्नुभयो, हामीले हुन्छ गर्नोस् भन्यौं,’ बैठकपछि स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अनलाइनखअबरसँग भने,-‘संविधान नबनाऔं भने मुलुक अर्को कोर्सतिर जाने भो, बनाउँदा हाम्रा एजेन्डाहरु सम्बोधन नहुने खतरा बढ्यो भन्ने अध्यक्षको निश्कर्ष थियो ।’

बैठकमा बरिष्ठ नेता डा. भट्टराईले पनि संविधान नबनाउने खेल भइरहेको भन्दै संविधान नै नबन्नुभन्दा बनेपछि नयाँ कोर्सतिर जान सकिने बताएका थिए ।

पार्टीका कोषाध्यक्ष हरिबोल गजुरेलले पनि शुक्रबार बिहानको बैठकले अध्यक्ष प्रचण्डलाई सहमतिका लागि म्यान्डेट दिएको बताए । त्यस्तै प्रमुख सचेतक गिरिराजमणि पोखरेलले पनि अध्यक्ष प्रचण्डलाई सहमतिका लागि जिम्मेवारी सुम्पिएको बताए ।

पराजित मुद्रामा नेताहरु

आठ प्रदेशबाट ६ मा झरेर पनि सहमति हुन नसकेका बेला शुक्रबार बिहान सिंहदरबारमा एमाओवादीका उच्च तहका नेताहरुको बैठक डाकिएको थियो । बैठकमा राजधानीमा उपलब्ध पदाधिकारीका साथै स्थायी किमिटी सदस्यहरुको सहभागिता थियो । बैठकमा बोल्ने अधिकांश नेताहरुले एमाओवादीले उठाएका एजेन्डाहरु समाप्त पार्दै लगिएको भन्दै निराशा प्रकट गरेका थिए ।

तर, अध्यक्ष प्रचण्डले संविधान नबनाई अर्को बाटोमा जान सक्ने सम्भावना नभएकाले बाध्य भएर सहमति गर्नुपरेको बताएका थिए । भैठकमा प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो-‘सकेसम्म आत्मसमर्पण गरिँदैन, तर, नोट अफ डिसेन्ट राखेर भए पनि सहमति गर्ने म्यान्टेड तपाईहरुले दिनैपर्ने भयो ।’

पार्टीको बैठक सकेर त्यहीँबाट तीनजना शीर्ष नेताहरु सम्वाद समिति अन्तरगतको विशेष समिति बैठकतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment