+
+

कैलालीको घाउ : निचोरे नि दुख्छ, ननिचोरे नि दुख्छ !

सडकहरु दिनहुँ भरिन्छन् । आन्दोलनकारी घडी हेर्छन् । प्रशासनले दिएको समयमै आन्दोलन पूरा गरिसक्नुछ । रुटिनअनुसारको जुलुस आउने हुँदा व्यापारीहरु चनाखो हुन्छन् । घ्वार्र सटर तान्छन् । लस्कर अघि बढ्छ, अलिपर कोणसभामा परिणत हुन्छ । कोही बोल्छन् केही सुन्छन् अनि फर्किन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३ गते १२:२४

सुमित्रा भट्टराई

सडकहरु दिनहुँ भरिन्छन् । आन्दोलनकारी घडी हेर्छन् । प्रशासनले दिएको समयमै आन्दोलन पूरा गरिसक्नुछ । रुटिनअनुसारको जुलुस आउने हुँदा व्यापारीहरु चनाखो हुन्छन् । घ्वार्र सटर तान्छन् । लस्कर अघि बढ्छ, अलिपर कोणसभामा परिणत हुन्छ । कोही बोल्छन् केही सुन्छन् अनि फर्किन्छन् ।

Sumitra Bhattaraiधर्ती उही, तर नारा बेग्लाबेग्लै, अखण्ड पश्चिम जिन्दावाद र थरुहट जिन्दावाद भन्दै जुलुस बढ्छ । मान्छे उस्तै-उस्तै, तर माग बेग्लाबेग्लै । प्रसंग हो, कैलालीमा चलिरहेको अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलनको ।

नेपाल र व्रिटिस सरकारसँग सन् १८१६ को सुगौली सन्धीमा केही भाग गुमाएर दाङ, बाँके, बर्दियासँगै बक्सिस स्वरुप पाएको नयाँ मुलुक हो कैलाली । अनि सुदूरपश्चिमकै ठूलो व्यापारिक नाका कैलालीको सदरमुकाम हो धनगढी, जहाँ हरेक दिन मानिस जाग्छन्, नारा लाग्छन् र भूभाग हाम्रो बनाइदेऊ भन्ने समूहले सडक ढाक्छन् ।

एक हुल भन्छ कैलाली हाम्रो हो, पहाडसँग जोड्नुपर्छ, अलग राख्न पाईँदैन । अर्को हुल भन्छ कैलाली त हाम्रो पो हो, तराईमा राख पहाडसँग जोड्न पाईँदैन ।

अघिल्लो पटकको संविधानसभाको म्याद गुज्रनुपूर्व पनि अवस्था यस्तै नै भोग्यो कैलालीले । अखण्ड सुदूरपश्चिम पक्षधर समुहले बनाउन लागेको प्रान्तीय खाकामा सुदूरपश्चिम टुक्र्याउन लागेको भन्दै विरोध स्वरुप ३२ दिन लामो सुदूरपश्चिम बन्द गर्‍यो । अनि त्यहीबेला यहाँको थारु समुदायले कैलाली र कञ्चनपुरलाई पहाडी जिल्लामा नराखेर छुट्टै थरुहट/थरुवान प्रदेश बनाउन माग गर्दै आन्दोलन गरे ।

यसरी नै सडक तात्यो उसबेला पनि चैत वैशाखमा । अचेल फेरि उसैगरी सडक तातिरहेछ साउन भदौमा ।

यसपटक पनि आन्दोलनको सुरुवात अखण्ड पक्षधरले गर्‍यो । कैलाली जिल्ला टुक्राउने खबर आएको भोलिपल्टै अखण्ड पक्षधरले अनिश्चतकालीन सुदूरपश्चिम बन्द गरे । सायद सरकारले सुने छ क्यार, सुदुरपश्चिमका नौवटै प्रदेश दिएर अझ जाजरकोट, मुगु, जुम्ला लगायत कणर्ालीका ८ वटा जिल्ला थपेर नामविनाको छैठौँ प्रदेश बनाइदियो । तर, यो निर्णयले एकपक्ष त खुसी भयो, अर्को पक्ष थरुहट भने निर्णय आएको भोलिपल्टै सडकमा उत्रियो ।

राज्यबाट खटाइएका सीमाविदहरुले उसबेला नै सोच्नुपर्ने हो, कुन क्षेत्रको बारेमा कस्तो नक्सा कोरिँदैछ भनेर । अघिल्लो संविधानसभाले नै धेरै पाठ पढाइसकेको थियो ।

आजसम्म त शान्त नै छ यो क्षेत्र । तर, संघीयताले बिस्तारै-बिस्तारै आगो सल्काउँदैछ सुदूरमा । भोलि आगो निभेन भने जिम्मेवार को हुने ?

हिजो चुनाव जित्न जातीयताको मुद्दा उठाउने अनि जब जनता जागे, तब खुसुक्क ६ प्रदेशमा हस्ताक्षर गर्नेलाई चैँ कति प्रतिशत दोष दिन मिल्छ ?

अखण्ड पक्षधर युवाको आक्रोश टीकापुरको आमसभामा अमरेशकुमार सिंह, राजेन्द्र महतो र उपेन्द्र यादव लगायतका मधेसी नेताले दिएको अभिव्यक्तिले बढेको देखिन्छ

कैलाली र कञ्चनपुरमा थारुबिनाका पहाडी गाउँ र पहाडी बिनाका थारु गाउँ एकदमै कम छन् । म आफै थारुको आँगनमा खेलेर हुर्केकी पहाडी चेली हुँ । बर्षौं बर्षदेखिको थारु र पहाडीबीचको सौहार्दपूर्ण नाताले प्रादेशिक खाकाले यसरी धुमिल बनाइदिँदैछ कि फेरि त्यो विश्वास बन्न बर्षौँ लाग्छ ।

सुदूरपश्चिमको तराई र थारुहरुको बसोबास भएको जिल्ला भएकाले गर्दा दुबै पक्ष यी दुई जिल्ला आफ्नो मागको प्रदेशमा राख्न मरिमेट्दैछन् । दुबै पक्ष आफ्ना माग छोड्न तयार छैनन् । यसले गर्दा थारु र पहाडी समुदायबीचको दुरीसमेत बढ्दैछ, अलिअलि गर्दै ।

यसको उदाहारण साउन ३० गते धनगढीमा भएको घटनालाई लिन सकिन्छ । साउन ३१ गते राति जिल्ला प्रशासन कार्यालय कैलालीको परिसरमा राति १२ बजेसम्म भोलिपल्ट थरुहटले गर्ने भनेको विरोध सभामा कुनै हस्तक्षेप नगर्ने भन्ने लिखित सहमति भयो । जहाँ सुरक्षा निकाय प्रमुख, आन्दोलनरत दुवैपक्ष र नागरिक समाज एवम् मानवअधिकारकर्मीहरुको उपस्थिति थियो । दुबै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरे । अखण्ड सुदूरपश्चिम पक्षधरहरुले समेत थरुहटले गर्ने भोलिपल्टको सभामा कुनै अवरोध नगर्ने भन्ने सहमति गरे पनि त्यो सहमति पालना भएको पाइएन ।

अखण्ड सुदूरपश्चिम पक्षधर युवाहरुले थरुहटको विरोध सभामा सहभागी हुन आएका ट्रयाक्टर रोकेको देखियो । जसकारण केहीबेर तनावको अवस्था सिर्जना भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गर्‍यो ।

यता अखण्ड पक्षधर युवाको आक्रोशचाहि पछिल्लो समय कैलालीको टीकापुरमा थरुहटको आमसभामा कांग्रेस नेता अमरेशकुमार सिंह, संघीय सदभावना पार्टीका राजेन्द्र महतो र संघीय समाजवादी फोरमका उपेन्द्र यादव लगायतका मधेसी नेताहरुले दिएको अभिव्यक्तिले बढेको देखिन्छ । जसका कारण उनीहरुले आफ्ना अगुवाहरुको सहमतिबिना कार्यक्रममा सहभागी हुन आउनेलाई अवरोध सिर्जना गरे ।

अब थरुहट पक्षधरका नेतृत्वकर्ताहरुले समेत सोच्नुपर्ने बेला भएको छ । यो समाज सयौँ बर्षदेखि मिलेर बसेको समाज हो । भोलि जुनसुकै प्रदेश बने पनि या जे जस्तो नाम पाए पनि यहाँका बासिन्दा यहीँ नै बस्छन् । नाम फेरिएला, तर भूमि फेरिँदैन । यसकारण कार्यक्रम गर्ने अधिकार सबैलाई छ । अधिकार माग्ने अधिकार सबैलाई छ, तर आफूले अधिकार माग्दा कुन रुपमा माग्ने त ? मन्तव्य राख्नेे नेताहरु त यो प्रदेशमा बस्दैनन् । आउँछन्, बोल्छन् र जान्छन् । तर, सामाजिक सदभाव खल्बलिएमा न थारुले सुरक्षित महसुस गर्छ, न त पहाडीले नै ।

सुर्खेतबासीहरु त एक ढिक्का भएर अधिकार माग्दै थिए । तर, हामी कैलालीवासी दुई भागमा विभाजित छौं

दुबै पक्षको लडाइँ केन्द्रसँगै छ । तर, विगत १२ दिनदेखि बन्द छ कैलाली । यति लामो बन्दमा जनजीवन कस्तो हुन्छ ? केन्द्रले अनुमान गरोस् । राजधानीमा दुई दिन बन्द हुँदा सुदूरेलीले १४ दिनदेखिको बन्द भोगिरहेछन् । एउटा पक्षको चित्त बुझाउँदा अर्को पक्ष दुःख मान्छ र सडकमा टायर बाल्छ । यो अनिश्चितकालीन बन्द खुल्ने कुनै टुंगो छैन । थारु र पहाडी समुदायबीच सम्बन्ध क्रमशः बिग्रदै गइरहेको छ ।

दुबै पक्षका केन्द्रीय नेताहरुले आफू सम्बद्ध आन्दोलनकर्तालाई आन्दोलन गर्न आग्रह गरिरहेका छन् । कार्यकर्ताहरु दिनदिनै जुलुसमा निस्किन्छन् । कैलाली जिल्लामा धनगढी लक्षित छन् विरोधका कार्यक्रम ।

हो, हामी संयमित भएरै आजसम्म जनधनको क्षति भएको छैन, जुन सह्रानीय कुरा हो । तर, के यो संयम संधै टिक्ला त ? के सुदूरको आन्दोलन यसैगरी शान्त रहला त ? भन्न सकिँदैन । किनभने पहिलो दिनको आन्दोलनको कार्यक्रममा गोली चल्दा सुर्खेतका जनताले पनि अनुमान गरेका थिएनन् कि अवस्था त्यस्तो बन्छ भनेर । सुर्खेतबासीहरु त एक ढिक्का भएर अधिकार माग्दै थिए । तर, हामी कैलालीवासी दुई भागमा विभाजित छौँ ।

मान्छे त हामी उस्तै छौँ, उही नै हौँ । तर, थारु अनि पहाडी दुई पक्ष भएर अधिकार मागिरहेछौँ । कसको माग सम्बोधन हुने हो, थाहा छैन । भोलि यो ६ प्रदेशको खाका फेरिएन र यथावत् रह्यो भने पनि आन्दोलन हुन्छ, फेरियो भने पनि विरोध हुने अवस्था देखिन्छ । सजिलो छैन दुबै पक्षलाई चित्त बुझाउन ।

हिजो कुनै दलले निजी स्वार्थका लागि जनतालाई फ्याँकेको मीठो आश्वासनको नतिजा हो यो । तर, न उनीहरु त्यसमा अडिग रहन सके, न त जनतालाई अधिकार नै दिन सके । मात्र द्वन्द्व छरिरहेछन् एकढिक्का भएर बसेको समाजमा । आगो फुकिरहेछन् शान्त बस्तीहरुमा । हामी विचार गरौँ, भूगोल त हाम्रै हो, तर हाम्रा क्रियाकलापले आफ्नै भूगोलमा शीर निहुर्‍याएर हिँड्नुुपर्ने बेला नआओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?