Comments Add Comment

मधेसी मोर्चाद्वारा पर्सामा लाठी जुलुस प्रदर्शन

८ भदौ, पर्सा । तीन दलले गरेको सीमाङ्कनको विरोधमा आह्वान गरिएको मधेस बन्दको ११ औँ दिन आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जमा लाठी जुलुस प्रदर्शन गरेको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

मधेस बन्द सफल बनाउन वीरगन्जको घन्टाघरबाट बाजागाजासहित लाठी जुलुस निकालिएको हो । घन्टाघर चोकबाट मोर्चाले निकालेको लाठी जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी पुनः घन्टाघर चोकमै पुगी समाप्त भएको थियो ।

सदभावना पार्टीका सहअध्यक्ष एवम् सभासद् लक्ष्मणलाल कर्ण र सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष एवम् सभासद् लालबाबु राउत गद्दीको नेतृत्वमा लाठी जुलुस निकालिएको हो ।

रामसपा पनि आन्दोलनमा

यसैबीच, समग्र मधेस दुई स्वायत प्रदेशको मागसहित आजदेखि राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) आन्दोलनमा उत्रेको छ । रामसपा पर्साले आज वीरगन्जको आदर्शनगरस्थित पार्टी कार्यालयबाट बन्द सफल बनाउन अपिल गर्दै जुलुस निकालेको हो ।

रामसपाका केन्द्रीय सदस्य राजेशमान सिंहको नेतृत्वमा आदर्श नगरबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी घन्टाघर चोक पुगेको थियो ।

बन्दले जनजीवन कष्टकर

साउन ३० गतेदेखि भएको बन्दले बारा पर्साको जनजीवन कष्टकर बन्दै गएको छ । मोर्चालगायत विभिन्न मधेसवादी दलले आह्वान गरेको बन्दको कारण निजी तथा सार्वजनिक यातायात, उद्योग, बजार, पसल बन्द भएपछि सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको हो । विगत ११ दिनदेखि भएको लगातारको बन्दले गर्दा सर्वसाधारण खाद्यान्न तथा खाना पकाउने ग्यासको अभावसमेत खप्न बाध्य भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment