Comments Add Comment

एन्फाले बढायो खेलाडीको भत्ता

१८ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीहरुको भत्ता वृद्धि गर्ने गरी कार्यविधि ल्याएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने राष्ट्रिय टिम र उमेर समूहका खेलाडी, अफिसियल, प्रशिक्षक र चिकित्सकलाई प्रतियोगिता सुरु हुनुभन्दा दुई दिन अघि र खेल सकिएको एकदिन पछिसम्मका लागि दिनको ३५ डलरका दरले दिने भत्ता दिने एन्फाले जनाएको छ । यसअघि खेलाडी तथा अफिसियलको भत्ता दैनिक २० डलर थियो ।

त्यस्तै, एन्फाको कार्यविधिमा राष्ट्रिय टिम वा विभिन्न उमेर समूहको टिमको प्रशिक्षणको लागी संघबाट खटाइएका र संघद्वारा नियमित रुपमा तलब नखाने प्रशिक्षकहरुमध्ये प्रमुख प्रशिक्षकलाई दैनिक १२ सय रुपैयाँका दरले दिने छ ।

त्यस्तै, सहायक प्रशिक्षकहरुलाई दैनिक ८ सय रुपैयाँ आफू कार्यरत बाहेक अन्य जिल्लामा जाने प्रशिक्षकलाई खाना, बसोबास बापत दुई हजार रुपैयाँ दिने पनि एन्फाको कार्यविधिमा छ ।

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा रेफ्रीलाई प्रत्येक खेलमा चार जनालाई प्रतिखेल १० हजारका दरले उपलब्ध गराउने छ । त्यस्तै, नकआउट फुटबल प्रतियोगितामा पनि सोही बमोजिम रेफ्रीले रकम पाउनेछन् ।

त्यस्तै, शहीद स्मारक बी डिभिजन लिगमा रेफ्रीलाई प्रत्येक खेलका चार जनालाई प्रतिखेल ६ हजारका दरले एन्फाले उपलब्ध गराउने छ । सी डिभिजन लिगमा ४ हजार पाउनेछन् ।

यता, महिला फुटबल प्रतियोगिताका रेफ्रीले ६ हजार रुपैयाँ पाउनेछन् ।

वैज्ञानिक पद्धतिमा एन्फा अघि बढेको भन्दै अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफा र एएफसीबाट आएको अनुदानलाई पनि यही कार्यविधिले समेट्ने बताए ।

एन्फाले आर्थिक पारदर्शिता कायम गर्न भन्दै आर्थिक नियमावली पनि लागू गरेको छ । एन्फाले सोमबार पत्रकार सम्मेलन गरी आर्थिक नियमावली र कार्यविधि लागु भएको जानकारी दिएको हो ।

एन्फाको गत साउनमा चितवनमा भएको विशेष साधारणसभाले आर्थिक नियमावलीलाई अनुमोदन गरेको थियो । त्यस्तै, विराटनगरमा गत कात्तिक ९ गते भएको साधारण सभाले एन्फाको आर्थिक कार्यविधिलाई पारित गर्दै कार्यन्वयनमा ल्याएको एन्फाले जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एन्फाका अध्यक्ष कार्माछिरिङ शेर्पाले एन्फामा आर्थिक पारदर्शिता कायम गर्न आर्थिक नियमावली र कार्यविधि ल्याएको बताए । उनले भने, ‘हामीले रोडम्याप बनाउन सफल भएका छौं । अब एन्फा यही कार्यविधि र नियमावली अनुसार चल्छ ।’

त्यस्तै, एन्फाले अब यो कार्यन्वयनमा आएसँगै हरेक कुराको रेकर्ड राख्ने जानकारी दिएको छ । अहिलेसम्म एन्फामा कुनै पनि जिन्सी वस्तुको रेकर्ड नभएको हुदा अब त्यस्तो नहुने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment