+

नेपालबाहिर गएर एसीसीको प्रतियोगिता जित्नु ठूलो उपलब्धि हो : सचिव खड्का

२०८३ भदौ  २९ गते १३:१२ २०८३ भदौ २९ गते १३:१२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोली आइतबार राति स्वदेश फर्किएको छ।
  • क्यान सचिव पारस खड्काले भारत र पाकिस्तानसँग फेरि प्रतिस्पर्धा गर्ने अवसरलाई नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भनेका छन्।
  • नेपालले एसीसी प्रिमियर कप जित्दै दोस्रो पटक एसिया कपमा स्थान सुरक्षित गरेको छ।

२९ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोली आइतबार राति स्वदेश फर्कियो ।

टोलीको स्वागतका क्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एसिया कपमा पुग्नु नेपाली क्रिकेटका लागि गौरवको विषय भएको भन्दै यसलाई आगामी यात्राको ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

पारसले नेपाली टोलीले प्रतियोगिताभर उत्कृष्ट क्रिकेट खेलेको उल्लेख गर्दै भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग फेरि प्रतिस्पर्धा गर्ने अवसर मिल्नु ठूलो उपलब्धि भएको बताए ।

‘हामी फेरि एसिया कपमा छौं भन्ने कुरामा निकै गर्व छ । टिमले राम्रो क्रिकेट खेल्यो । भारत र पाकिस्तानसँग खेलेको पछिल्लो अनुभवलाई हेर्दा यो फेरि एउटा उत्कृष्ट अवसर हो। आशा छ, यसपटक अझ राम्रो प्रदर्शन गर्नेछौं’ उनले भने।

उनले प्रिमियर कपको समूह चरणमा हङकङसँगको एक हारबाहेक नेपालले समग्रमा उत्कृष्ट प्रदर्शन गरेको पनि बताए ।

‘क्रिकेट टिम स्पोर्ट हो । जितेपछि सबै राम्रो देखिन्छ, हार्दा आलोचना पनि स्वाभाविक हुन्छ । तर समग्रमा हाम्रो टोली सही दिशामा अघि बढिरहेको छ । अहिले ओडीआई संरचनामा केही सुधार गर्नुपर्ने पक्ष छन्, तर यो प्रतियोगिताको सकारात्मक पक्षबारे नै कुरा गर्नुपर्छ ।’

पारसका अनुसार मलेसियामा उपाधि जित्नु केवल एसिया कपको टिकटमात्र होइन, एसोसियट क्रिकेटमा नेपालको स्तर प्रमाणित गर्ने उपलब्धि पनि हो।

‘नेपालभन्दा बाहिर गएर एसीसीको प्रतियोगिता जित्नु आफैंमा ठूलो उपलब्धि हो । एसियामा प्रतिस्पर्धा सजिलो छैन, तर टिमले उत्कृष्ट प्रदर्शन गर्दै फेरि उपाधि जित्यो । देशले पछिल्ला केही सातादेखि भोगिरहेको कठिन परिस्थितिबीच यो जितले नेपालीलाई केही खुसी दिएको छ’ उनले भने ।

उनले क्रिकेटमार्फत राष्ट्रलाई एकताबद्ध गर्ने अभियानमा क्यान निरन्तर लागिरहेको पनि बताए ।

एसिया कपमा छनोटपछि नेपाली टोलीको आगामी सात–आठ महिनाको तालिका व्यस्त रहने पारसले जानकारी दिए । उनका अनुसार टोलीको ध्यान अब एसियाली खेलकुद, नेपाल प्रिमियर लिग (एनपीएल), आईसीसी क्रिकेट विश्वकप लिग–२ तथा विभिन्न द्विपक्षीय शृङ्खलातर्फ केन्द्रित हुनेछ ।

‘हाम्रो अर्को बर्खासम्मकै तालिका लगभग तय भइसकेको छ । अब एसियाली खेलकुदमा पदक जित्ने अवसर छ । त्यसपछि एनपीएल, ओडीआई क्रिकेट र द्विपक्षीय शृङ्खलाका लागि पनि पहल गरिरहेका छौं । प्रतियोगिताअनुसार सबै जानकारी सार्वजनिक गर्दै जानेछौं’ खड्काले भनेका छन् ।

नेपालले एसीसी प्रिमियर कप जित्दै दोस्रो पटक एसिया कपमा स्थान सुरक्षित गरेको हो । यसअघि सन् २०२३ मा पनि प्रिमियर कपको उपाधि जितेर नेपालले एसिया कप खेलेको थियो ।

नेपाली क्रिकेट पारस खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय