+
अन्नपूर्णको च्याम्पियन शैली :

विदेशी खेलाडीको जादुमा अन्नपूर्णको शान

२०८३ भदौ  २९ गते १४:५५ २०८३ भदौ २९ गते १४:५५

च्याम्पियन अन्नपूर्ण मात्र नभएर अन्य टिमको प्रदर्शन पनि धेरै हदसम्म विदेशी खेलाडीमै निर्भर रहेको थियो । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको सुची बनाउँदा पनि विदेशीकै नामको चर्चा बढी हुन्छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्नपूर्ण स्पाइकर किंग्सले मंगोलियाका तीन खेलाडीको उत्कृष्ट प्रदर्शनमा कर्णाली शिवराजलाई फाइनलमा ३-० ले हराएर पहिलो एनभीएल उपाधि जित्यो ।
  • अन्नपूर्णले च्याम्पियन बन्दै २० लाख रुपैयाँ र कुल ३२ लाखको पुरस्कार राशिमा सबैभन्दा ठूलो नगद पुरस्कार प्राप्त गर्‍यो ।
  • लिगमा १७ खेलमध्ये १३ खेलमा विदेशी खेलाडी प्लेअर अफ दि म्याच बने, र विधागत अवार्ड पनि अधिकांश विदेशी खेलाडीले जिते ।

नेपाल भलिबल लिग (एनभीएल) को भव्य अक्सन सम्पन्न भएपछि धेरै टिमका प्रशिक्षकदेखि मार्कीहरूको एउटै भनाई थियो विदेशी खेलाडी जसको राम्रो हुन्छ उसैले लिग जित्छ ।

अक्सनमा काठमाडौं रेड्स र कर्णाली शिवराज खेलाडी अनुबन्ध गर्ने मामलामा धेरै हदसम्म भाग्यमानी बन्यो । किनभने कर्णालीले ४ र काठमाडौंले ३ खेलाडी लक्की ड्र मार्फत टिममा पार्न सफल भएको थियो ।

अर्कोतिर सगरमाथा स्म्यासर्सले भने अक्सनमा बोली लगाउने भन्दा धेरै खेलाडी विश लिस्ट मार्फत अनुबन्ध गरेको थियो । अन्य टोलीको पनि अक्सनमा मिश्रित रह्यो । कुनै टिमले चाहेको खेलाडी पाउँदा खुशी र नपाउँदा केही निराश त थियो ।

तर विदेशी खेलाडीको अनुबन्धपछि भने सबै टिमको स्तर फरक बन्यो । कुनै टिमले छिमेकी भारत र पाकिस्तानका खेलाडी ल्याए भने कुनैले मंगोलियाको राष्ट्रिय टिमबाट । अनी कसैले युरोप, कसैले अफ्रिका र कुनै टिमले ब्राजिलसम्मको खेलाडी नेपाल भित्र्याए एनभीएलका लागि ।

अन्नपूर्ण स्पाइकर किंग्सले मंगोलियाको राष्ट्रिय टिमकै तीन खेलाडी अनुबन्ध गर्दा मधेश युनाइटेडले तीन खेलाडी भारतबाट र सगरमाथाले पाकिस्तानबाट ३ खेलाडी अनुबन्ध गरेको थियो । काठमाडौं रेड्सले पनि पाकिसत्नको २ र सर्वियाबाट १ तथा कर्णाली र खप्तडले तीन फरक-फरक राष्ट्रको खेलाडी भित्र्याएको थियो ।

मंगोलियाको राष्ट्रिय टिमबाट तीन खेलाडी भित्र्याएको अन्नपूर्ण स्पाइकर किंग्सले शनिबार कर्णाली शिवराजलाई फाइनलमा सोझो सेटमा पराजित गर्दै संस्करणको एनभीएलको च्याम्पियन बन्यो ।

अन्नपूर्णले पहिलो संस्करणकै एनभीएलको उपाधि जित्दै इतिहास रच्दा सर्वाधिक नगद पुरस्कार २० लाख पनि प्राप्त गर्‍यो । घरेलु भलिबलमा कुनै पनि प्रतियोगिताको विजेताले प्राप्त गरेको यो अहिलेसम्मको ठूलो रकम हो । उपविजेता र अनय विधागत अवार्ड गरेर कूल पुरस्कार राशी ३२ लाख थियो ।

कर्णालीमा युरोपका दुई र इरानको एक गरी तीन विदेशी खेलाडी थिए भने अन्नपूर्णले मंगोलियाको राष्ट्रिय टिमकै सेटको खेलाडी अनुबन्ध गरेको थियो ।

च्याम्पियन अन्नपूर्ण मात्र नभएर अन्य टिमको प्रदर्शन पनि धेरै हदसम्म विदेशी खेलाडीमै निर्भर रहेको थियो । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको सुची बनाउँदा पनि विदेशीकै नामको चर्चा बढी हुन्छ ।

फाइनलमा मंगोलियाका उरानबायर मंखबायर, तुर्मान्डाख र एंख एर्डेनको उत्कृष्ट प्रदर्शन मदतमा अन्नपूर्णले कर्णालीलाई ३-० कै सेटमा हरायो ।

लिग चरणको पहिलो खेलमै यी दुई टोली भेट हुँदा कर्णालीले अन्नपूर्णलाई ३-१ को सेटमा पराजित गरेको थियो । तर फाइनलमा भने अन्नपूर्णले त्यसको बदला मात्र लिएन कर्णालीमाथि पूर्ण रुपमा हावी नै भयो ।

फाइनल खेलको स्कोर थियो २५-१५, २५-२०, २५-१८ । यसले पनि अन्नपूर्णको प्रदर्शन कस्तो थियो भनेर पुष्टि गर्छ ।

पहिलो खेलमा अन्नपूर्णका विदेशी र नेपाली खेलाडीबीचको तालमेलमा अली समस्या थियो । हरेक खेल खेल्दै जाँदा उनीहरूसँग नेपाली खेलाडीको तालमेल मिल्दै गयो र कोर्टमा उत्कृष्ट प्रदर्शन निस्कियो ।

विदेशी खेलाडीको प्रदर्शन बारे अन्नपूर्णका कप्तान हिमाल सुनारी भन्छन्, ‘सुरुमा उनीहरूसँग अलि तालमेल मिलेको थिएन अली अफ्ठ्यारो भइरहेको थियो । आज आएर सोचे भन्दा राम्रो प्रदर्शन गर्नुभयो र जित्न पनि सहज भयो ।’

विदेशी खेलाडीहरूसँग खेल्दा धेरै फरक हुने र सिक्न पाइने हिमालले बताए । ‘विदेशी खेलाडीहरूसँग खेल्ना फरक भइहाल्छ । अनुभवहरू लिन पाइन्छ । मुख्य कुरा अनुशासन हो । टिमवर्क, रिचहरू, ब्लकहरू सबै कुरा उहाँहरूसँग खेल्दा देखेर सिक्न पाइन्छ’ उनले भने ।

अन्नपूर्ण मात्र होइन यस लिगमा हरेक टिमका विदेशी खेलाडीहरू नै निर्णायक बने । कर्णालीका कप्तान कप्तान पहल गहतराज लिबेरो विनोद चन्द लगायत नेपाली खेलाडीको प्रदर्शन पनि राम्रो थियो । तर इरानका अलीरेजा अलबलुच, पोल्यान्डका सेटर इमिलयन स्मेटेक र बेलारुसमा स्पाइकर कुद्रासोउको प्रदर्शन टिमका लागि निर्णायक थियो ।

यस्तै काठमाडौंका लागि पाकिस्तानी खेलाडी अहमेद मुस्ताफाले उत्कृष्ट प्रदर्शन गरे । मुस्ताफा चल्दा काठमाडौंको प्रदर्शन उत्कृष्ट थियो भने उनी नचल्दा टिमको अवस्था कमजोर बन्यो । त्यस्तै भयो सगरमाथा स्म्यासर्सको पनि ।

नेपाली राष्ट्रिय टिमका कप्तान तथा सेटर हरिहजुर थापा मार्की रहेको सगरमाथाले पाकिस्तानका अइमल खान, फखर उद्दिन देखि उमेर समूहका फैजल उल्लाहलाई अनुबन्ध गरेको थियो । उनीहरूले राम्रो खेल्दा टिमको प्रदर्शन राम्रो देखियो भने उनीहरू नचल्दा कमजोर बन्यो ।

यस्तै मधेशका लागि भारतीय खेलाडी उक्रा मान्डियम र जिबिन सेबास्टियनको प्रदर्शन पनि मिश्रित रह्यो । खप्तडका बोस्को डेटले एक्लो प्रयास गरेपनि अन्य विदेशी र नेपाली खेलाडीहरूबाट राम्रो साथ नपाउँदा टिमले कुनै पनि खेल जित्न सकेन ।

लिगमा १७ खेल मध्ये १३ खेलमा विदेशी खेलाडी प्लेअर अफ दि म्याच बने । यस बाहेक कर्णालीका कप्तान पहल गहतराज ३ र काठमाडौंका कप्तान सुनिल बोहरा १ खेलमा प्लेअर अफ दि म्याच बने । यो तथ्याङ्कले पनि विदेशी खेलाडी कति हावी थिए भन्ने प्रमाणित गर्छ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी देखि विधागत अवार्डमा पनि विदेशी खेलाडीकै वर्चस्व रह्यो ।

अन्नपूर्णबाट खेलेका तीनै विदेशी खेलाडीले अवार्ड पाए । जसमा उरानबायर मंखबायर ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी) घोषित हुँदै १ लाख पुरस्कार पाए ।

तुर्मान्डाख गान्खुयाग उत्कृष्ट सर्भर तथा सेटर र इंख एर्डेन जारगालसोट उत्कृष्ट अपोसिट हिटर घोषित भए भने काठमाडौंका विदेशी खेलाडी अहमद मुस्ताफा उत्कृष्ट आउटसाइड हिटर चयन भए ।

यस बाहेक नेपाली खेलाडीले दुई अवार्ड पाए । कर्णालीका विनोदबहादुर चन्द उत्कृष्ट लिबेरो र मधेश वारियर्सका कप्तान रविन नगरकोटी उत्कृष्ट मिडल ब्लकर घोषित भए । विधागत उत्कृष्टले जनही ५० हजार प्राप्त गरे ।

अन्नपूर्णको च्याम्पियन यात्रा

गण्डकी प्रदेशकै खेलाडी हिमाल सुनार मार्की र कप्तान रहेको अन्नपूर्णले पहिलो खेलमा कर्णाली विरुद्ध हार बेहोरेपछि दोस्रो खेलबाट सुधारिएको प्रदर्शन गर्‍यो ।

पहिलो खेलमा हार अनी लगातार ५ खेलमा जित र उपाधि । अन्नपूर्णको प्रदर्शन यस्तो थियो । दोस्रो खेलमा काठमाडौं रेड्सलाई सोझो सेटमा हराएर विजयी यात्रा सुरु गरेको अन्नपूर्णले च्याम्पियन बन्दासम्म यसलाई निरन्तरता दियो ।

तेस्रो खेलमा मधेश वारियर्सलाई ३-१, चौथो खेलमा अप्तड फाल्कन्सलाई ३-० र पाँचौ खेलमा सगरमाथा स्म्यासर्सलाई ३-१ को सेटमा पराजित गर्दै अन्नपूर्ण लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो ।

अन्नपूर्णले ५ खेलबाट सर्वाधिक १२ अंक जोडेको थियो । अर्को महत्वपूर्ण पक्ष अन्नपूर्णले कुनै पनि खेल पाँच सेटसम्म खेल्नुपरेन र लिगमा पाँच सेट नखेल्ने अन्नपूर्ण एक्लो टोली थियो । लिग चरणमा अन्य टिमले पाँच सेट खेल्दा अंक घाटा लागेको थियो ।

यस्तै अन्नपूर्णले सगरमाथा विरुद्ध पहिलो सेट गुमाएपनि पुनरागमन गर्दै लगातार तीन सेट जितेर खेल जितेको थियो ।

पहिलो संस्करणको च्याम्पियन बनेर इतिहास रच्दा अन्नपूर्णका कप्तान हिमाल सुनारै निशै खुशी देखिएका थिए । ‘एकदमै खुशीको सीमा नै छैन । नेपालमा भएको पहिलो एनभीएलमा हामी अन्नपूर्ण स्पाइकर किंग्स च्याम्पियन हुन सफल भयौं’ सुनारीले फाइनलपछि पोस्ट म्याच कन्फेरेन्समा भने, ‘हाम्रो अन्नपूर्ण स्पाइकर किंग्स सम्पूर्ण परिवारलाई धन्यवाद भन्न चाहन्छु । केडिया ग्रुपलाई पनि धन्यवाद भन्न चाहन्छु उहाँहरूले गर्दा खेल्न पायौं ।’

गण्डकी प्रदेशकै मुख्य प्रशिक्षक रमेश केसीको मुख्य प्रशिक्षणमा रहेको अन्नपूर्णमा राष्ट्रिय टिमका पूर्व सदस्य तथा हालका त्रिभ्वन आर्मी क्लबका प्रशिक्षक नरेन्द्र गिरी सहायक प्रशिक्षक अनि कप्तान हिमाल सुनार देखि गण्डकीबाटै खेल्ने विश्वास अधिकारी, विवश आले मगर लगायत खेलाडी थिए भने त्रिभुवन आर्मीबाट खेल्ने राजेन्द्र धामी, जित बहादुर शार्की र देव राना अनी एपीएफका सुरेन्द्र केसी थिए ।

२० वर्षीय लिबेरो जितले एनभीएलमा अन्नपूर्णका लागि डिफेन्समा प्रभावशाली प्रदर्शन गरे । लिगअघि कमै चर्चा भएका जितले एनभीएलमा आफूलाई प्रमाणित गरे । यस्तै सुरेन्द्रले पनि पनि कोर्टमा अवसर पाउँदा उत्कृष्ट प्रदर्शन गर्द‌ आफूलाई प्रमाणित गरे । उनले निर्णायक क्षणहरुमा अंक जोड्दै टिमका लागि योगदान गरे ।

मिडल ब्लकर देव रानाले पहिलो रोजाइमा खेल्दै अनुभव लिने मौका पाए । जापानदेखि आएका रवि केसी देखि अन्य खेलाडीहरूका लागि पनि अन्नपूर्णबाट एनभीएल उपाधि जित्नु ठूलो उपलब्धी बन्यो ।

भलिबलको नयाँ उडान

केडिया ग्रुपले दुई वर्षअघि नै उचाइको नया उडान स्लोगानसहित एनभीएलका लागि नेपाल भलिबल संघसँग सम्झौता गरेको थियो । तर तोकिएको समयमा लिग सुरु हुन नसक्दा यसमा धेरैले शंका पनि गरेका थिए । सम्झौता भएको दुई वर्षपछि मात्रै केडिया ग्रुपले पहिलो संस्करणको एनभीएल आयोजना गर्‍यो ।

१० भदौको भोटेकोशी बाढीले गर्दा पूरा देश नै दु:खमा रहेको बेला एनभीएल आयोजना गर्न कठिन चुनौती भएपनि आयोजकले सरोकारावहलाहरूको साथमा सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्‍यो ।

केडिया ग्रुप तथा नेपाल भलिबल लिगका अध्यक्ष विमलकुमार केडियाले उचाईँको नयाँ उडान नारा जस्तै एनभीएलको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको बताए । उनले एनभीएल जस्तै हरेक क्षेत्रमा नयाँ फड्को आवश्यक भएको बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठले राष्ट्रिय खेल भलिबलको यस लिगले खेलाडी र खेल दुवैलाई व्यावसायिक बाटोमा डोहोर्‍याएको बताए ।

भलिबल नेपालको राष्ट्रिय खेल र धेरै क्रेज भएको खेल भएपनि यसका लागि आवश्यक पूर्वाधार छुट्टै कभर्डहल नहुँदा ठूला प्रतियोगिता गर्दा सधैँ चुनौतीको सामना गर्नुपरेको छ ।

फ्रेन्चाइज लिग देखि राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू त्यही एउटै कभर्डहलमा आयोजना गर्नुपर्ने बाध्यता छ । जसले गर्दा दर्शकहरूले चाहेर पनि कभर्डहलमा गएर खेल हेर्न पाएका छैनन् ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पनि कम्तीमा १० हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनन्पर्ने माग राखेका छन् ।

अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिग
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय