Comments Add Comment

अखण्ड बागलुङ आन्दोलन चर्कियो, जिल्लामा नाकाबन्दी

१० भदौ, बागलुङ । अखण्ड बागलुङ माग गर्दै भइरहेको आन्दोलन चर्किन थालेको छ । संघीय सिमांकन गर्दा बागलुङलाई प्रदेश नम्बर चार र पाँचमा राखिएको भन्दै शुरु भएको आन्दोलनको सुनुवाइ नभएपछि आन्दोलन चर्काउनुपरेको आन्दोलनकारीले बताएका छन् ।

Akahanda-Baglung-Aandolanआन्दोलनका कार्यक्रमअन्तरगत बिहीबार बागलुङ बजारमा महिलाहरुले थाल ठटाएर प्रदर्शन गरेका छन् । उनीहरुले बागलुङलाई टुक्राउने कुनै कारण नभएको भन्दै शीर्ष नेताहरुसँग बागलुङ टुक्राउनुपर्ने कारण समेत माग गरेका थिए ।

विश्वमै चर्चित ढोरपाटन शिकार आरक्ष, त्यहाँ निर्माण हुन लागेको तीन सय मेगवाटको उत्तरगंगा जलविद्युत आयोजना लगायतमाथि आँखा लागेकाले त्यसलाई रोक्न घरबाट थाल लिएर सडकमा आउनु परेको महिला नेतृ लक्ष्मी बाँस्कोटाले बताइन् ।

जिल्लामा नाकाबन्दी

आन्दोलन चर्किदै गएपछि बुधबारबाट धौलागिरिमा नाकाबन्दी शुरु गरिएको छ । धौलागिरि प्रवेश गर्ने कास्की नयाँपुल, गुल्मीको वामीटक्सार लगायतका नाकामा प्रदर्शन गरिरहेका छन् । बागलुङका व्यवसायीक केन्द्रहरु बागलुङ, बुर्तिवाङ, हटिया, कुश्मीसेरा, बरेङ र खर्वाङ बजार ठप्प भएपछि जनजीवन प्रभावित बनेको छ ।

आन्दोलन चर्किदै गएपछि सबै शिक्षण संघ संस्था, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय बन्द भएका छन् ।

आफ्नो मागको सुनुवाइ नभएसम्म आन्दोलन कायम रहने गीता श्रीसले बताइन् । बागलुङको पश्चिम भेगलाई काटेर प्रदेश नम्बर पाँचमा राखिएकाले त्यो पश्चिमवासीलाई मान्य नहुने उनको भनाइ छ ।

अखण्ड बागलुङको माग गर्दै गलकोट बजार सात दिनदेखि ठप्प बनेको छ । बुर्तिवाङ बजार बुधबारदेखि नै बन्द छ । बन्दकाबेला मोटरसाइकल चलाएको भन्दै हटियामा एउटा मोटरसाइकल जलाइएको छ । बागलुङमा एउटा ट्याक्सी र एउटा पसलमा तोडफोड गरिएको छ ।

शीर्ष नेताहरुले बागलुङलाई नटुक्राउने प्रतिबद्धता जाहेर गरेपछि ढुक्क भएका बागलुङबासीलाई धोका दिएकाले आन्दोलन चर्काउनुपरेको नेपाली कांग्रेसका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले बताए ।

धौलागिरिबाट प्रतिनिधित्व गर्ने सभासद, राजनीतिक दलका नेताहरुले शीर्ष नेता, संवाद समिति, संविधानसभाका अध्यक्ष लगायतलाई आफ्ना मागबारे जानकारी गराएका थिए । सबैले माग सुनुवाइ गर्ने प्रतिबद्धता जनाए पनि बाग्लुङ टुक्राएर संविधानसभामा संविधानको विधेयक पेश भएकाले चर्काउनु परेको एमाले अध्यक्ष श्रीप्रसाद शर्माले बताए ।
-चन्द्र गणेशबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment