Comments Add Comment

उपेन्द्र र अशोकको विश्लेषण : आन्दोलन उत्कर्षमा पुग्दैछ, सरकार वार्ताको नौटंकी गर्दैछ

Upendra Yadav, Ashok Rai

१६ भदौ, काठमाडौं । मधेसमा आन्दोलनरत संघीय समाजवादी फोरमका नेताहरुले वार्ता र गोली एकैसाथ चल्न नसक्ने बताएका छन् । सरकारले वार्ताको नौटंकी गरिरहेको र आन्दोलन चरम उत्कर्षतर्फ लम्किरहेको फोरम नेताहरुको विश्लेषण छ ।

नयाँ बानेश्वरको मसला कटेजमा पत्रकार सम्मेलनको आयोजना गरेर संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव र अशोक राईले अन्दोलन उत्कर्षतिर लम्किएको विश्लेषण सुनाएका हुन् । सरकारले वार्ताको नाटकमात्रै गरिरहेको उनीहरुले पत्रकारलाई सुनाए ।

‘अहिले संविधानसभा प्रतिगमनको औजार हुन सक्ने सम्भावना देखिएको छ,’ फोरमका बरिष्ठ नेता अशोक राईले पत्रकारसम्मेलनमा भने,’यसलाई प्रतिगमनको औजार बन्न नदिन नेपाली जनता सबै क्षेत्रमा आन्दोलित छन्, आन्दोलन उच्चतम विन्दु हुने अवस्थामा पुगेको छ ।’

पत्रकार सम्मेलनमा बोल्दै फोरम अध्यक्ष उपेन्द्र यादवले प्रमुख दलहरुको दुई तिहाइको दम्भलाई आन्दोलनले चकनाचुर पारिसकेको दाबी गरे । ‘केही वर्गका सीमित वर्गको हात सहने संविधान कदापि स्वीकार्य छैन, दुई तिहाइको दम्भलाई आन्दोलनले चकनाचुर पारिसकेको छ,’ यादवले भने,’अब यो आन्दोलनको जनादेशबाट संविधान बन्छ ।’

यो आन्दोलनलाई मधेसको मात्रै ठान्न नहुने भन्दै यादवले अब ययो आन्दोलन लिम्बुवान, शेर्पा, थरुहट सबैतिर विस्तारित हुने बताए । यादवले भने- ‘दमन गरेर अघि बढ्न खोज्दा जस्तै तानाशाह पनि ढल्छ ।’

सरकारलाई फौजदारी अदालतमा उभ्याउने चेतावनी

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारले शान्तिपूर्ण आन्दालनेमाथि दमन गरेर अन्तरराष्ट्रिय मानवताविरुद्धको अपराध गरेको बताए । उनले भने- ‘अस्पतालमा रहेका बिरामीलाई मारिएको छ, गफ गरेर बसिरहेका मानिसलाई समातेर गोली हानी खप्पर चुँडाइएको छ, यो अन्तररतष्ट्रिय मानवताविरोधी अपराध हो, यस्तो अपराध गर्नेले अन्तररतष्ट्रिय फौजदारी अदालतमा उभिनुपर्ने हुन्छ ।’

वार्ता विरोधी होइनौं तर….

पत्रकार सम्मेलनमा राई र यादव दुबैले आफूहरु वार्ता विरोधी नभएको बताए । सरकारको दोस्रो पत्र आएपछि वार्ताबारे आन्तरिक छलफल गरिरहेकै बेला वीरगञ्जमा नरसंहार गरेर सरकारले वार्ताको वातावरण बिथोलेको बरिष्ठ नेता राईले बताए ।

‘एकातिर वार्ताको लागि चिठी लेख्ने, अर्कातिर गोली ठोक्ने ?’ उपेन्द्र यादवले भने वार्ता र गोली सँगसँगै चल्दैन ।’

सरकारले जनता मार्न सेना परिचालन गरेको भन्दै अध्यक्ष यादवले आपत्ति जनाए । ‘यसरी सेना परिचालन महेन्द्र र ज्ञानेन्द्रले पनि गरेका थिएनन्’ यो सरकार घोर प्रतिगमनकारी र साम्प्रदायिक देखियो ।’

कसैले निशेधाज्ञा तोड्दा पानीको फोहोरा हान्ने र कसैलाई गोली हान्ने कार्य गरेर सरकारले सम्प्रदायिक एवं नश्लवादी व्यवहार प्रदर्शन रिरहेको यादवले आरोप लगाए ।

पत्रकार सम्मेलनमा मधेस आन्दोलनका क्रममा प्रहरीले ज्यादती गरेको भन्दै ल्यापटपको माध्यमबाट केही तस्वीर र भिडियो क्लिपसमेत पत्रकारहरुलाई देखाइएको थियो ।

पत्रकार सम्मेलनको सञ्चालन गरेका फोरम नेता राजेन्द्र श्रेष्ठले मधेसबाट नेताहरु काठमाडौं आउँदा वार्ताका लागि आएको भन्ने भ्रम फैलिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment