Comments Add Comment

आगामी हप्ता पोखरा विमानस्थलको ऋण सम्झौता

१७ भदौ, काठमाडौं । बहुप्रतिक्षित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आगामी हप्ता चीनको एक्जिम बैंकसँग ऋण सम्झौता हुने भएको छ ।

Pokhara-airport-Newपोखरा विमानस्थल एक्जिम बैंकको सहुलियत ऋण सहयोगमा चिनियाँ कम्पनी चाइना सीएएमसी इञ्जिनियरिङले निर्माण गर्ने जिम्मेवारी पाएको छ । विमानस्थल निर्माणमा २१ ऋर्ब ४५ करोड रुपैयाँ लगानी हुनेछ ।

‘भदौको २४/२५ गतेतिर चीन र नेपालबीच सहुलियत ऋण सम्झौता हुँदैछ’ संसदको विकास समितिका प्रमुख रविन्द्र अधिकारीले भने- ‘यसका लागि चिनियाँ प्रतिनिधि छिट्टै आउने जानकारी पाएको छु ।’

एक्जिम बैंकले करिव एक तिहाई ७ अर्ब १५ करोड रुपैयाँ अनुदानमा उपलब्ध गराउने भएको छ । बाँकी १४ अर्ब ३१ करोड रुपैयाँ २ प्रतिशत ब्याजमा दिने सहमति भएको पोखरा विमानस्थल निर्माण सरोकार समितिका प्रमुखसमेत रहेका रविन्द्र अधिकारीले जानकारी दिए ।

‘पोखरा विमानस्थल निर्माण महंगो हुने भयो भनेर चौतर्फी गुनासो आइरहेको थियो’ अधिकारीले भने- ‘चीनले एक तिहाई रकम अनुदानमा उपलब्ध गराउने भएपछि उत्साह थपिएको छ ।’

चिनियाँ पक्ष र नेपाली पक्षबीच लामो छलफलपछि एक्जीम बैंकले ७ अर्ब १५ करोड रुपैयाँ अनुदान उपलब्ध गराउन सहमत भएको अधिकारीले सुनाए । नेपालले ऋणमा १.७५ प्रतिशतमात्र ब्याज हुनुपर्ने अडान लिँदै आएपनि एक्जीम बैंकले २ प्रतिशत भन्दा क मगर्न नसक्ने बताउँदै आएको थियो ।

ऋणको ब्याजदर नघटे पनि मोटो रकम अनुदान उपलब्ध गराउने भएपछि उत्साह थपिएको हो । ऋण सम्झौताको काम सम्पन्न भएपछि यही आर्थिक वर्षदेखि नै निर्माण कार्य सुरु गर्ने तयारी पोखरा विमानस्थल परियोजनाको छ । विमानस्थल सन् २०१९ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विमानस्थल निर्माणका करिव ४० वर्ष अगाडि ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरेर राखिएको छ । विमानस्थलका लागि अझै ६ सय २९ रोपनी जग्गा अधिग्रहण गनुपर्ने हुन्छ । जग्गा अधिग्रहणका लागि चालु आर्थिक वर्षमा डेढ अर्ब रुपैयाँ छुट्टाइएको छ ।

विमानस्थलको २ हजार ५ सय मिटर लम्बाई र ५० मिटर चौडाई भएको धावनमार्ग निर्माण गरिने छ । साथै, एरोबि्रजयुक्त भवन तथा कार्गो भवन निर्माण हुनेछ । धावनमार्ग एरोबि्रज र कंक्रिटको बनाइने छ । यस विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० लगायतका जहाजहरु उडान अवतरण गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment