Comments Add Comment

विकृतिका सूत्रधारलाई मदन पुरस्कार ?

हरि अधिकारी

विजयकुमारको खुशी भन्ने किताबले मदन पुरस्कार पाएकोमा मलाई खासै आश्चर्य लागेको छैन । किनभने हालसम्मको इतिहास हेर्ने हो भने धेरैजसो फाल्तु किताबले नै मदन पुरस्कार पाएका छन् । राम्रा र स्तरीय साहित्यिक सिर्जनालाई यसले प्रायः वेवास्ता गरेको पाइन्छ । यस हिसाबले खुशीलाई पुरस्कृत गरियो भनेर बेखुशी हुनुको कुनै अर्थ छैन ।

खुशी बेअर्थी किताब हो

khusiमेरो दृष्टिकोणमा खुशी कुनै साहित्यिक कृति होइन । असल साहित्यमा हुनुपर्ने कुनै पनि गुण यसमा छैनन् । यो केवल विजयकुमारका व्यक्तिगत अहंकार तथा आत्मरञ्जनाहरुको कलात्मक प्रस्फुटन हो, जसलाई पढेर पाठकले केही पनि पाउँदैन ।

विजयकुमारका कट्टर प्रशंसक कोही छन् भने उनीहरु यो किताब पढेर रमाउन सक्छन् । कतिपय प्रसंगहरुमा भावुक बनिदिन सक्छन् । बाँकी पाठकका लागि यो बेअर्थी किताब हो ।

यस किताबमा बृहद् जनसरोकारका विषयहरु केही पनि छैनन् । लेखकका निजी गन्थन र प्रवचनहरु ठेलठाल गरेर येमानको किताब बनाइएको छ । राजनीतिकदेखि सेक्स सम्मका विषयमा प्रवचन दिएर उनले आफूलाई सर्वज्ञानी सावित गर्न खोजेका छन् । शब्द-शब्दमा उनको ‘आउट एन्ड आउट एरोगेन्ट’ चरित्र प्रतिबिम्बित हुन्छ । गफ दिने क्रममा कतिपय सरासर झूटा तथ्यहरुसमेत पेश गरेका छन् उनले । उदाहरणका लागि आफ्नो बिहेमा नारायणगोपाल सपरिवार आएको उल्लेख गरेका छन्, जबकि उनको बिहे हुँदा नारायणगोपालको मृत्यु भइसकेको थियो ।

किताबमा उनले आफ्नो पत्रकारितालाई भँजाएर ब्यापारीहरुसित पैसा लिएका कुराहरुलाई पनि बडो गर्वसाथ प्रस्तुत गरेका छन् ।

दरबारको आड पाएका पत्रकार

किताबका बारेमा चर्चा गर्दा विजयकुमारको व्यक्तित्व र पृष्ठभूमिमा पनि ध्यान दिनुपर्ने हुन्छ । उनी एकाएक कसरी टुप्पोमा पुगे भन्ने कुरा खोतल्नुपर्ने हुन्छ । पेशाको हिसाबले उनी एक ओभरसियर थिए । त्यतिबेला देवेन्द्रराज पाण्डेका दाजु नरेन्द्रराज पाण्डे दरबार निकटका व्यक्ति थिए । विजयकुमार उनीहरुका भाञ्जा हुन् । नरेन्द्रराज पाण्डेकै बुई चढेर बिजयकुमार दरबारसित जोडिन सफल भए र त्यसको भरपुर फाइदा उठाए ।

दरबारकै निगाहका कारणले उनलाई नेपाल टेलिभिजनमा नीर शाहलाई भन्दा बढी सुविधा दिने गरी करारमा राखिएको थियो । दरबारकै पावरले गर्दा जसलाई जे प्रश्न गर्न पनि उनलाई छुट हुन्थ्यो । त्यसैले उनले विगतदेखि जति पनि अन्तरवार्ता लिए, सबैमा आफूलाई माथि राख्ने धृष्टता गर्दै आए ।

मेरो बिचारमा नेपालमा अन्तरवार्ताको शैली बिगार्ने व्यक्ति विजयकुमार नै हुन् । म उनलाई अडियो भिडियो मिडियामा विकृतिको सुरुवात गर्ने सूत्रधार नै मान्छु ।

विजयकुमारको व्यक्तित्वको सबैभन्दा नकारात्मक पक्ष भनेको आफूबाहेक अरुलाई मान्छे नै नदेख्नु हो । अरुको अस्तित्व, क्षमता, गुण र योग्यतालाई कदर गर्ने स्वभाव छैन उनको । अरुलाई मानिसको कोटीमै राख्दैनन् । उनका हरेक लेखहरु मपाइत्वले भरिएका हुन्छन् । खुशी पढ्दा यस्तो लाग्छ, यो देशमा जति पनि ठूला परिवर्तनहरु भए सबै उनलाई नै सोधेर भएका हुन् ।

आत्मकथामै विकृति

लेखक हरि अधिकारी
लेखक हरि अधिकारी

नेपालमा पछिल्लो समय आत्मकथा लेखन नेपाली साहित्यमा एउटा ठूलो समस्याका रुपमा पैदा भएको छ । आत्मकथा लेख्नु भनेको आफूलाई नंग्याउनु हो । यसमा अर्द्धसत्य हुनुहुँदैन । तर, नेपालमा पछिल्ला वर्षहरुमा जे-जति आत्मकथा लेखिएका छन्, ती सबैमा आफ्ना कमजोरीहरु ढाकछोप गरेर अनुकूल कुराहरुलाई मात्रै लेखिएको पाइन्छ । आत्मकथा त ती हुन्, जो विश्वेश्वरप्रसाद कोइरालाले लेखेका थिए ।

आत्मकथा लेख्नुको खास आशय र उद्देश्य हुनुपर्छ । तपाईंको जीवनका उतार-चढाव पाठकले किन पढ्ने भन्ने प्रश्नको उत्तर हुनुपर्छ । आत्मकथाले कम्तिमा इतिहासको, समयको एउटा झल्को दिनुपर्छ । समाजको थोरबहुत चित्रण हुनुपर्छ । समाजको कुनै सरोकारै नभएका कुराहरु लेख्दा के, नलेख्दा के !

आत्मकथा लेख्नु उपयुक्त हुन्छ, समयको एउटा विन्दूमा, उमेरको एउटा चरणमा वा जीवनकोे एउटा मोडमा । तर, विजयकुमारको आत्मकथा यी कुनै पनि मापदण्डमा परेको देखिँदैन । प्रकाशकले अफर गरे, उनले लेखिदिए ।

आत्मकथा नलेख्ने मान्छे पनि कमै भेटिन्छन् अचेल । यो श्रृंखला रुक्मांगद कटवालदेखि किशोर नेपाल र सूर्यबहादुर सेनदेखि महेश बस्नेतसम्म आइपुगेको छ ।

मदन पुरस्कार पाउने किताब ८० प्रतिशत झूर

मदन पुरस्कारका बारेमा भन्नुपर्दा ०१३ सालदेखि ०७१ सालसम्म दिइएका पुरस्कारमध्ये ८० प्रतिशत गलत किताबलाई दिइएको पाएको छ । पछिल्ला वर्षहरुमा त एकपछि अर्को झूर किताबले मदन पुरस्कार पाएका छन् ।

मदन पुरस्कार पाएका पुस्तकहरुको चर्चा गर्दा ०६६ सालमा एकहातको तालीदेखि बालीनालीमा लाग्ने किरासम्वन्धी किताब, दमिनी भीर, नर्सको डायरी सबै अयोग्य किताब हुन् । बाहिर जति ठूलो क्रेज भए पनि यो पुरस्कार कमलमणि दिक्षीतको बक्सिसमा परिणत भएको छ । उनले कसलाई पुरस्कार दिँदा दुवै आफ्नो स्वार्थ पूरा हुन्छ, उसैलाई दिन्छन् । त्यसैले यो पुरस्कारलाई साहित्यिक वृत्तमा ठूलो महत्व दिइरहनुपर्छ जस्तो मलाई लाग्दैन ।

आजकाल राम्रा लेखकहरुले पनि स्तरीय सिर्जना गर्न छाडेर बजारको पछि दौडिरहेका छन् । प्रकाशकले दिएको टिप्सअनुसार लेख्न वाध्य भइरहेका छन् । मिडियालाई हातमा लिएपछि बजारमा चलि पनि हाल्छन् । यस्ता साहित्यकारहरुको भिडमा म विजयकुमारलाई धेरै आलोचना पनि गर्न चाहन्न ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment