+
+

गाली खाने सभासदले बल्ल पाए ताली

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३१ गते १३:४५

३१ भदौ, काठमाडौं । नेपालमा संविधानसभाको पहिलो निर्वाचन भएदेखि नै सम्भवतः सबैभन्दा गाली खाने प्राणी बनेका थिए सभासदहरु । संविधान दिन नसकेको दोष बोकेर पहिलो संविधानसभाका सभासद घर फर्किए ।

दोस्रो संविधानसभा सभासदहरु पनि त्यही गालीबाट अभिशप्त भइरहेका थिए । तर, भदौ ३० गते राति संविधानसभाबाट संविधान पारित गरेपछि सधै गाली खाने सभासदहरु ताली खाइरहेका छन् ।

उनीहरुलाई चुनाव जितेको क्षणभन्दा अहिले बिजय अनुभव भएको छ । सभासदहरु संविधान पारी हुँदा जति खुसी छन्, त्यति नै यसको कार्यान्वयन र असन्तुष्ट समूहको माग सम्बोधन चुनौतिपूर्ण रहेकाले शीर्ष नेताबीचको एकता अझै बलियो हुनुपर्ने बताउँछन् ।

सभासदहरुले संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सरकारमा जोड दिएका छन् । प्रस्तुत छ बिभिन्न दलका बिभिन्न समुदायको समेत प्रतिनिधित्व गर्ने सभासदहरुसँग अनलाइनखबरले लिएको प्रतिक्रिया ।

Padma-Narayan-Chaudhariसंशोधनबाट सम्बोधन गर्ने ठाउँ छ
पद्मनारायण चौधरी, कांग्रेस सभासद सिराहा- १

सबैभन्दा ठूलो कुरा हामी सभासदहरु नेपाली जनतालाई संविधान दिन सफल भएका छौं । धेरैले विश्वास गरेका थिएनन्,हामीले संविधान यति चाँडै दिन सक्छौं भन्ने कुरा । संविधानसभाबाट संविधान पारित भएपछि म पनि खुसी भएको छु ।

मधेसको आन्दोलनलाई पनि सम्बोधन गर्न सकिएको भए अझ राम्रो हुने थियो । तर केही बिग्रेकेका छैन,यो संविधानले सबैका आवाजलाई संशोधन मार्फत पनि सम्बोधन गर्न सकिने ठाउँ भएकाले अब नेतृत्वले त्यता ध्यान दिनुपर्छ । जनता संविधानको उत्सव मनाउन तयार छन् । अब यसको कार्यान्वयन र असन्तुष्ट आवाज सम्बोधन गर्न नेतृत्व अझ एकजुट हुनुपर्छ । राष्ट्रिय सहमतिको सरकार बनाएरै देशमा स्थायित्व दिनुपर्छ ।

कार्यान्वयनका लागि राष्ट्रिय सरकार
पार्वत गुरुङ,एमाले सभासद दोलखा १

Parbat-Gurungसंविधान जारी गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ, जनताको चाहना पूरा भएको छ । चुनाव जितेर आउँदा जुन उत्साह थियो, बीचमा त्यो जोस जाँगर सेलाएको थियो । तर, संविधान पारित गरेपछि वास्तविक चुनाव जितेको अनुभूति भयो ।

संविधान जारी हुन नदिन धेरै चलखेल भए, संविधान बनाउन आएकाहरु नै संविधान बिरुद्ध लाग्दा निराश भइएको थियो । तर, अन्ततः हामी सफल भयौं । सबै समुदायले अधिकार पाएका छन् । गर्व र खुसीको कुनै सिमा छैन, अब यसलाई कार्यन्वयन गर्न राष्ट्रिय सरकार चाहिन्छ ।

कुनै एक दुई दलको प्राबिधिक बहुमतले होइन, राष्ट्रिय सरकारले कार्यन्वयन गर्नुपर्छ । त्यसका लागि दलहरुबीचका अझ उच्चस्तरको एकता जरुरी भएको छ ।

सानो शक्ति भएर पनि धेरै पायौं
हरिबोल गजुरेल, एमाओवादी सभासद,सिन्धुली ३

Haribol-Gajurelपहिलो संविधानसभा असफल भयो । दोस्रो संविधानसभाले संविधानको धाराहरु पारित गर्दैगर्दा पनि के हुने हो भने प्रश्न थियो । अब संविधान पारित भएको छ । थारु, मधेसी र मगरहरुलाई पनि सम्बोधन गर्न सकेको भए अझ राम्रो हुन्थ्यो । तर, यो संविधानलाई टेकेर अघि बढ्ने सानो ढोका हामीले खुला नै राखेका छौं । संविधान पारित भएसँगै नेतृत्वमा अबसर र चुनौती छ । हिजो संक्रमणकाल भनेर जनता चुप लागेर बसेका थिए । अब त काम गरेर देखाउनुपर्नेछ ।

संविधानसभा चुनावका बेला पार्टी धेरैतिर हारिरहेको थियो । पहिलो खाता नै मैले खोलेकाले आफू जिते पनि पार्टीले हारिरहेका कारण खासै खुसी मनाउने अवस्था रहेन । तर, हिजो संविधानसभाबाट नयाँ संविधान पारित गर्दैगर्दा गौरवको अनुभूति भयो । योपटक तेस्रो पार्टी भएर पनि संविधान निर्माणमा हामीले धेरै मेहनत गरेका छौं । सानो शक्ति भएर पनि हामीले धेरै प्राप्त गरेका छौं भन्ने लाग्छ मलाई ।

जनजातिको अधिकार स्थापित भएको छ
अइन्द्रसुन्दर नेम्वाङ, माले सभासद पाँचथर

Aindra-Sundra-Nemwangसंघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी सिद्धान्त स्वीकार गरेर आएको यो संविधान प्रगतिशिल संविधान बनेको छ । सुखानुभूति महशुस भएको छ । हिजोसम्म जनताले गाली गर्थे आज ताली पाइएको छ ।

सडकमा भएकाहरु पनि आउन् भन्नेमा हामी अझै पनि छौं । मलाई विशेष खुसी यसकारण पनि छ कि आफैं मस्यौदाको सदस्य र उपसमितिको संयोजक भएर काम गर्ने अवसर पनि प्राप्त भयो ।

आदिवासी जनजातिको अधिकार स्थापित भएको छ, कल्पनै गर्न नसकिने आनन्द महसुस भएको छ । दलहरुबीच भोलि पनि यो एकता कायम हुनुपर्छ ।

मधेसी र मुस्लिमको पनि संविधान
अत्तहर कमाल मुसलमान, स्वतन्त्र सभासद कपिलबस्तु-२

Atahar-Kumal-Musalmanसबैभन्दा ठूलो कुरा हामीले संविधान जारी गर्न सफल भएका छौं । संविधानसभाबाट हाम्रो संविधान पारित भएपछि हामी खुसी भएर फर्केका छौं । अझै पनि कतिपयका केही विवाद र विमति छन् । सबैलाई सहमतिमा ल्याउन सकिँदैन ।
देश अब सम्बृद्धिमा जान्छ । जसका केही असन्तुष्टि छन्, उनीहरुका कुरालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भन्नुभएको छ । यो संविधान हामी सबै हिमाल, पहाड तराईका जनताको संविधान भएकाले सबै उत्सवमा सहभागी हौं ।

मधेसी र मुस्लिम जनताको प्रतिनिधिसमेत भएकाले म यो संविधान बनाउन पाएकोमा गौरव गर्छु ।

यो हामी मधेसी र मुस्लिम जनताको संविधान हो । तराई मधेसका जनताको अधिकार यो संविधानले अधिकतम सुनिश्चित गरेको छ ।

बल्ल चुनाव जितेजस्तो भयो
रामहरि खतिवडा,कांग्रेस सभासद ओखलढुंगा २

Ramhari-Khatiwadaमेरो जीवनको सबैभन्दा खुसीको क्षण नै संविधानसभाबाट संविधानको बिधेयक पारित हुँदा भयो ।

हामी धेरैखाले षडयन्त्र चिरेर जनतालाई उनीहरुले चाहेको संविधान दिन सफल भएका छौं । जनताले आफ्नो संविधान आफैं लेख्न ऐतिहासिक सफलता पाएका छन् ।

चुनाव जितेर जनताले माला लगाएर पठाउँदा भन्दा बढी जितको अनुभूति संविधान पारित गरेपछि भएको छ ।

अब यसको कार्यन्वयन झनै चुनौतिपूर्ण हुने भएकाले शीर्षनेताहरु अझ बढी विवेक र बुद्धिमता देखाउनुपर्छ ।

संविधान कार्यान्वयनका लाीगि राष्ट्रिय सहमतिको बलियो सरकारको विकल्प छैन ।

देशभन्दा ठूलो जात र धर्म होइन
अनारकली मिया, एमाले सभासद दाङ

सबैभन्दा खुसीको कुुरा देश र जनताको चाहना पूरा भयो । म खुसी हुनुभन्दा पनि जनता खुसी हुनुपर्‍यो । जनताले Anarkali-Miyaसंविधान पाएका छन् । हामीले भनेका कुरा सयमा सय सबै पूरा हुदैनन् । जे जति पाइएको छ त्यो ठूलो कुरा हो ।

महिलाका कुरा केही छुटेका छन्, ती पछि मिलाउँदै लैजाने सहमति भएको छ । एउटा जाति समुदाय भन्दा पनि देशको कुरा ठूलो हो ।

मुलुक संकटमा परेका बेला जातिले के कति पाए, कुन धर्मले के पाए भन्ने कुरा गौण हो ।

म मुस्लिम र महिलासमेत भएकाले हाम्रा कतिपय माग समेटिएनन्, भोलि समेटिन्छन् तर देशले जित्यो, यसमा गौरव लागेको छ ।

बल्ल जनताले जितेका छन्
जमिन्द्रमान घले,एमाले सभासद लम्जुङ १

Jamindra-Man-Ghaleसंविधान जारी भएर एउटा मिसन पूरा भएको छ । कार्यान्वयनमा चुनौती छन् । हामीले जनताको बीचमा जे कुरा कबुल गरेर आएका थियौं, कम्तिमा यो पूरा भएकोमा अत्यन्तै खुसी लागेको छ । तुलनात्मकरुपमा अहिलेसम्मको संविधानमा यो उत्कृष्ट र प्रगतिशील संविधान हो भन्न सकिन्छ ।

अझै पनि सबै समुदायका सबै माग सम्बोधन गर्न सकिएको छैन । तराईबासीको माग अझै बाँकी छन् । आदिवासी जनजातिका माग धेरै पूरा भएका छन् ।

धर्म निरपेक्षता, आदिवासी जनजाति आयोग, समानुपातिक समावेशीजस्ता जनजातिका मुद्दा संविधानमा स्थापित गराउन सफल भएकोमा अत्यन्तै खुसी छु । वास्तवमा जनताको मतबाट जितेको अनुभूति आज भएको छ ।

कार्यान्वयनका लागि राष्ट्रिय सरकार
रञ्जित कर्ण, सभासद, नेपाली कांग्रेस, सप्तरी

Ranjit-Karnaसंविधानसभाबाट संविधानको बिधेयक पारित भएपछि सबैभन्दा ठूलो खुसी भएको छु । संविधान अहिले जारी नभएको भए देश ठूलो दुर्घटनामा जानेवाला थियो । अहिलेसम्म राजनीतिक स्थायत्वि हुन सकेको छैन ।

यो संविधानको सकारात्मक पक्ष के हो भने,संशोधन गरेर असहमत पक्षलाई पनि समेट्न सकिने ठाउँ छ ।
कसैले पनि यो संविधान मेरो हुदैन कि भन्नु पर्दैन, सबै अटाउने ठाउँ छ ।

जनताबाट ठूलो समर्थन र शुभेच्छा प्राप्त भएको छ । हामीले देशव्यापी दिपावली गर्न भनेका छौ,उत्सव मनाउन ७५ जिल्लामा जान्छौं ।

अब यसलाई कार्यान्वयन गर्न उत्तिकै चुनौति भएकाले दलहरु मिलेर राष्ट्रिय सरकार बनाएर जानुपर्छ ।

आगामी आन्दोलनको बाटोको सारथी

उमेश यादव,  सभासद, एमाअोवादी, सप्तरी

इतिहासको गर्तमा हराइसकेको संविधानसभा लाई माओवादी आन्दोलन ले हजारौंको बलिदान सहित महान जनयुद्धलाई उचाइमा पुर्याएकै कारण ले नेपालीको इतिहासमा पहिलो चोटि संविधानसभाबाट संविधान जारी हुन सकेको हो ।तसर्थ महान जनयुद्धमा बलिदान हुनु भएको सहिद, बेपत्ता, घाइते, अपांग एवम् सहयोग गर्नुहुने महान जनसमुदायलाई सलाम । संगै २०६२/६३ को एेतिहासिक जनआन्दोलन, मधेस बिद्रोहको क्रममा बलिदान गरेर यो महान यात्रालाई सार्थक बनाउनु हुने वीर सहिद एबम जनसमुदाय लाई नमन । हामीले खोजेको जस्तो नभए पनि आगामी आन्दोलनको बाटोको यो सारथी बन्ने छ । एेतिहासिक कार्यभार सफल भयो । अब नयाँ इतिहास बनाउन नयाँ आन्दोलन सङ्गठित गर्दै अघि बढनु पर्छ । यसमा रहेका कमजोरीहरु सम्सोधन मार्फत हल तुरून्त गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?