Comments Add Comment

निर्माण व्यवसायीहरुको काँधमा सुनौलो अवसर : मन्त्री निधी

९ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले मुलुकको नवनिर्माण तथा पुर्ननिर्माणका लागि निर्माण व्यवसायीहरुको काँधमा सुनौलो अवसर आएको बताएका छन् ।

nidhiकाठमाडौं उपत्यका निर्माण व्यवसायी संघको १४ औं साधारण सभाको शनिवार राजधानीमा उद्घाटन गर्दै मन्त्री निधिले संविधान निर्माणको अध्याय पूरा भएसँगै अब मुलुक नवनिर्माणको चरणमा प्रवेश गरेको बताएका हुन ।

मुलुक संघीयतामा गएसँगै निर्माणका काम घनिभूत रुपमा अघि बढ्ने भएकाले निर्माण व्यवसायीहरुका लागि पर्याप्त काम आइपर्ने उनले बताए । आफनो नेतृत्वको मन्त्रालय व्यवसायीहरुको समस्या हल गर्न प्रतिबद्ध रहेको भन्दै उहाँले व्यवसायीहरुलाई एकताबद्ध हुन सुझाव दिए ।

समस्या समाधानका लागि मन्त्रालय तयार रहेपनि व्यवसायीहरुमै एकताको कमी रहेकाले सार्थक परिणाम नआएको मन्त्री निधिले बताए । बेग्लै प्रसंगमा मन्त्री निधिले तराई केन्दि्रत दलहरुको उठाएका समस्या सम्बोधन गर्न राज्यले लगातार प्रयास गरिरहेको भन्दै जिम्मेवारी सहित प्रस्तुत हुन आन्दोलनरत दलहरुलाई आग्रह गरे । आन्दोलरत पक्षले उठाएका मागलाई संविधान संसोधनको माध्यमबाट सम्बोधन गर्न सकिने उनको भनाई थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले कृषिपछि सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्र निर्माण व्यवसाय भएपनि राज्यले निर्माण व्यवसायीलाई उपेक्षा गर्ने गरेको गुनासो गरे । अध्यादेशबाट ल्याइएको सार्वजनिक खरिद ऐन दुई महिनापछि नै निष्त्रिmय भएकाले व्यवसायी मारमा परेको भन्दै अध्यक्ष गौचनले व्यवस्थापिका संसद्बाट त्यसलाई यथाशिघ्र पारित गर्नुपर्ने माग गरे ।

निर्माण व्यवसायीहरुसँग राज्यले विगतमा गरेको सम्झौता समेत लागू नभएको भन्दै गौचनले असन्तुष्टि व्यक्त गरे । साना व्यवसायीलाई सबल तथा सक्षम बनाउन महासंघको वर्तमान नेतृत्व लागिपरेको जानकारी दिए । विदेशबाट प्रविधि र उपकरण ल्याएपनि नेपालको विकास गर्न नेपालका व्यवसायी नै सक्षम भएको गौचनले बताए । नेपाली व्यवसायीलाई बलियो नबनाएसम्म मुलुक समृद्ध नहुने उहाँको भनाइ थियो । महासंघका मानार्थ सदस्य तथा संविधान सभा सदस्य विक्रम पाण्डेले निर्माण व्यवसायीहरुको एकता अहिलेको आवश्यकता भएको बताए । व्यवसायीहरुले इमान्दारितका साथ काम गरी गुणस्तरमा ध्यान दिनुपर्ने उनको भाई थियो ।

महासंघका मानार्थ सदस्य तथा संविधान सभा सदस्य जनार्दन ढकालले व्यवसायीहरुको पाइला-पाइलमा चुनौति रहेकाले त्यस्ता चुनौति पार गर्दै अघि बढ्नुपर्ने धारणा राखे । महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार सुकुन्तलाल हिराचनले व्यवसायीहरुमाझ फुट ल्याउने तत्वबाट सबै सजग हुनुपर्ने बताए । त्यसैगरी, महासंघका अर्का पूर्वअध्यक्ष तथा सल्लाहकार यक्षध्वज कार्कीले महासंघले सबै खाले व्यवसायीहरुलाई समेट्ने गरी नीति नियम तर्जुमा गर्नुपर्ने विचार व्यक्त गरे ।

महासंघका सल्लाहकार हरिनारायणप्रसाद रौनियारले महासंघ देशभरका व्यवसायीहरुका समस्या हल गर्दै अघि बढ्नुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठले राज्यले दिएको अधिकार समेत व्यवसायीहरुले प्रयोग गर्न नपाएको गुनासो गरे । महासंघका उपाध्यक्ष लक्ष्मण रानाले महासंघको गरिमालाई उच्च राख्न सबै जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment