Comments Add Comment

सरकार भन्छ- चिनी र नुन टन्नै छ, नआत्तिनोस्

१० असोज, काठमाडौ । भारतले नाकाबन्दी लगाए पनि राजधानीमा अहिले कुनै पनि खाद्य समाग्रीको अभाव नरहेको सरकारले जनाएको छ ।

Foodबाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बजारमा कुनै खाद्यान्न सामाग्रीको अभाव नरहेको भन्दै हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेको छ ।

केही ठाउँमा नुन र चिनीको अभाव भएको भन्दै ब्यापारीले कालोबजारी सुरु गरेका छन् । तर, साल्ट ट्रेडिङ कर्पोरेसनले त्यो हल्ला मात्रै भएको स्पष्ट गरेको छ । ‘हामीसंग अझै ८ महिनालाई पुग्ने नुन मौज्दात छ’ साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले अनलाइनखबरसँग भने-‘१ लाख १३ हजार टन नुन हाम्रा विभिन्न गोदाममा भण्डार भएर बसेका छन् ।’

यस्तै चिनी पनि पर्याप्त मौज्दात रहेको उनले बताए । ‘हामीसँग १२ हजार टन चिनी मौज्दात छ । निजी क्षेत्रले यसअघि देखि नै नेपालमै पर्याप्त चिनी रहेको भन्दै भारतबाट नल्याउन भनेकै हो । त्यसैले चिनीको अभाव हुने स्थिति छैन । अझै ९० हजार टन चिनी मौज्दात छ भन्ने बुझिएको छ’ भण्डारीले भने, ‘कसैले नुन र चिनीमा अभावको हल्ला चलाएको भए ती कालोबजारी नै हुन् ।’

दुई महिना पुग्ने खाद्यान्न छ : बेल्बासे

‘बजारमा चामल, दाल, खाने तेल, मसलालगायतका समाग्रीको मौज्दात पर्याप्त छ,’ विभागका निर्देशक हरिनारायण बेल्बासेले भने, ‘हामीले ठूला व्यापारीहरुसँग छलफल गरिरहेका छौं । अझै दुई महिनालाई पुग्ने खाद्यन्न बजारमा मौज्दात छ ।’

यो समयमा अभावको हल्ला चलाएर उपभोक्ता ठग्नेहरु सक्रिय भएको विभागको भनाइ छ । ‘अभाव भयो, भनेपछि उपभोक्ताहरु जति पनि मूल्य तिर्न तयार हुन्छन् । यसैलाई आधार बनाएर उपभोक्ता ठग्नेहरु सक्रिय भएका हुन सक्छन् ।’ उनले भने ‘कसैले खाद्यवस्तुमा अभाव भयो भन्छ भने उपभोक्ताले अस्वीकार गर्दा हुन्छ ।’

उनले मौज्दात घट्दै जाँदा आपूर्ति नहुँदा केही वस्तुको मूल्य भने बढेको बताए । ‘तराईमा आन्दोलन चर्किएदेखि नै खाद्य वस्तुमा मूल्य बढेको छ । तर, भारतबाट आपूर्ति रोकिएकै कारण बजारमा मूल्य बढेको हामीलाई जानकारी छैन ।’

आपूर्ति रोकिएको अप्ठेरो स्थिति रहेकाले बजारमा कडा किसिमले अनुगमन गर्न पनि नसकिएको उनले बताए । खाद्यन्न ब्यापारीहरुले पनि अतिअशश्कीय खाद्यन्न २ महिनासम्म सहज रुपमा पाइने जानकारी बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यसअघि नै दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment