Comments Add Comment

पार्टी छाडेका बाबुरामलाई मञ्च नदिन पासाङको निर्देशन

Baburam-Pasang

१८ असोज, पाल्पा । एकीकृत नेकपा माओवादी परित्याग गरेका डा. बाबुराम भट्टराईको उपस्थितिमा पाल्पाको तानसेनमा सोमबार मगर राष्ट्रिय मुक्ति मोर्चाले गर्न लागेको कार्यक्रम रोक्न एमाओवादीले निर्देशन दिएको छ ।

पार्टी परित्याग गरेका व्यक्तिलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न लागिएको भन्दै मगर मोर्चालाई कार्यक्रम रोक्न एमाओवादीले निर्देशन दिएको हो । यसअघि नै तय गरिएको कार्यक्रम भएकाले कार्यक्रम रोक्न नसकिने मोर्चाले जवाफ पठाएको छ ।

मगर राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको आयोजनामा सोमवार पाल्पाको तानसेन नगरपालिका हलमा ‘पहिचान र अधिकारका निम्ति मगरात संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

स्रोतका अनुसार पार्टी केन्द्रको तर्फबाट नन्दकिशोर पुन पासाङले आयोजक मोर्चाका नेताहरुलाई टेलिफोन गरी कार्यक्रम नरोके कारवाही गर्ने चेतावनी दिएका छन् ।

कारवाही भोग्न तयार छौं : महासचिव

पार्टी केन्द्र कार्यक्रम नगर्नु भन्ने निर्देशन दिएको भए पनि आफूहरु कारवाही भोग्न तयार हुने तर कार्यक्रम नरोक्ने मोर्चाका महासचिव बालकृष्ण काउछाले बताए ।

पार्टी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको उपस्थितिमा कार्यक्रम गर्ने निर्णय भएअनुसार नै कार्यक्रम गर्न लागिएको काउछाले बताए ।

डा. भट्टराई पहिचानसहितको संघीयताको पक्षधर स्वतन्त्र ब्यक्ति भएकाले स्वतन्त्र ब्यक्तिकै रुपमा कार्यक्रममा मञ्च दिइने मोर्चाले जनाएको छ ।

कार्यक्रममा एमाओवादीका तर्फबाट रामचन्द्र झा, रामकुमार शर्मा, बामदेव क्षेत्री लगायतका वक्ताहरु रहने काउछाले बताए ।

कार्यक्रममा मगर संघ तथा मगरात संघर्ष समितिले आफ्नो धारणा राख्ने, तथा अन्य नागरिकका सुझाव लिने काउछाले बताए ।

नागरिक समाजका अगुवा दमननाथ ढुंगाना र नेपाल प्रहरीका पूर्व आइजीपी कुबेरसिंह रानालाई पनि कार्यक्रममा आमन्त्रण गरिएको आयोजकले जनाएका छन् ।

मगरात भूमिलाई प्रदेश नं. ४, ५ र ६ मा विभाजन गरेर ऐतिहासिक भूमि विभाजनमा पारेको भन्दै यस क्षेत्रका बासिन्दाले आन्दोलन गर्दै आइरहेका छन् ।

आयोजक एमाओवादीको जनवर्गीय संगठन मगर राष्ट्रिय मुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष सरन बाठा, महासचिव काउछा लगायतका पदाधिकारीहरु आइतबार नै पाल्पा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment