Comments Add Comment

एमालेले विष्णु पौडेललाई अर्थमन्त्री तय गर्‍यो

cpn-uml-ledar-bishnu-poudel

२५ असोज, काठमाडौं । नेकपा एमालेको तर्फबाट आज पहिलो चरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपमहासचिव बिष्णु पौडेलले मन्त्री पदको सपथग्रहण गर्ने पक्का भएको छ ।

पौडेलले अर्थ मन्त्रालय सम्हाल्ने भएका छन् । वर्तमान सत्ता समीकरण निर्माणमा प्रमुख भूमिका खेलेका पौडेलका लागि अर्थ मन्त्रालय नयाँ हो । स्याङजामा जन्मेर लुम्बिनीमा कार्यक्षेत्र बनाएका पौडेलले यसअघि रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

अन्य सानो आकारको मन्त्रिपरिषद आजै गठन हुने र अन्य एक दुई जना मन्त्री आजै टुंगो लगाउने बारेमा पार्टीका शीर्ष नेताहरुबीच छलफल हुने सचिव प्रदीप ज्ञवालीले अनलाइनखबरलाई जानकारी दिए ।

ज्ञवालीले अनलाइनखबरसँग भने-पार्टीको औपचारिक बैठक नहुने भयो, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेडले बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरल लगायतसँग छलफल गर्नुहुन्छ ।

स्रोतका अनुसार एमालेबाट आजै भीम रावल, शत्रुघन महतोको पनि सपथग्रहण गराउने तयारी थियो । तर बरिष्ठ नेता नेपालले रावलको साटो सोमप्रसाद पाण्डेलाई मन्त्री बनाउन दबाव दिएको एक नेताले बताए ।

गृह र परराष्ट्र मन्त्रालय एमालेको भागमा नरहने अवस्थामा रावल मन्त्री नहुने ती नेताले बताए । एमालेबाट सुरेन्द्र पाण्डेको पनि मन्त्री हुने सम्भावना अन्त्य भएको छ ।

बरिष्ठ नेता झलनाथ खनालले राजेन्द्र पाण्डेलाई मन्त्री बनाउन अध्यक्ष ओलीलाई दबाव दिएका छन् । खनालको कोटाबाट सायद पाण्डे मन्त्री हुनेछन् । एमालेको भागमा स्थानीय विकास मन्त्रालयमा परेमा पाण्डे स्थानीय विकास मन्त्री हुनेछन् ।

मन्त्री छान्न एमालेको स्थायी कमिटी बैठक भने अहिले बस्ने छैन । प्रमुख नेताहरुबीच छलफल भएर मन्त्रीको नाम तय हुने सचिव ज्ञवालीले बताए ।

एमालेले कुन-कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेपछि मात्र अन्य मन्त्रीहरुको नाम तय हुने पार्टीका सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

मन्त्रीका लागि एमालेमा अष्टलक्ष्मी शाक्य, सत्यनारायण मण्डल, शेरधन राई, रविन्द्र अधिकरी, शेरबहादुर तामाङ, डम्बर तुम्बाहम्फे, दीपक कार्की, आनन्द पोखरेललगायतको नाममाथि छलफल चलिरहेको स्रोतले जनाएको छ ।

मापदण्ड बनाएर अनुभवी थोरै र नयाँ धेरैलाई अवसर दिनुपर्ने बारेमा कुरा भइरहेको एक नेताले बताए । दुई पटक लगातार चुनाव जितेर अवसर नपाएका सांसदलाई मन्त्री बनाउने मापदण्ड पनि अघि सारिएको छ ।

त्यस्तै नयाँबाट मञ्जु चौधरी, यज्ञराज सुनुवार, दामोदर भण्डारी, जनार्दन ढकाल, रामेश्वर फुयाल, प्रेमबहादुर आले मध्येबाट राज्यमन्त्रीमा अवसर पाउन सक्ने ती नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment