Comments Add Comment

एभरेष्ट बैंकको लाभांस प्रस्ताब राष्ट्र बैंकले रोक्ने

१३ कात्तिक, काठमाडौं । भारतीय पञ्जाब नेसनल बैंकको संयुक्त लगानी रहेको एभरेष्ट बैंकले गरेको नगद लाभांस वितरण गर्ने प्रस्ताबलाई राष्ट्र बैंकले अस्वीकृत गर्ने भएको छ । चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्‍याउने प्रष्ट आधारबिनै बैंकले नगद लाभांसको प्रस्ताब गरेको भन्दै राष्ट्र बैंकले रोक्ने भएको हो ।

Everest bank2‘एभरेष्ट बैंकले गत वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र ६.५८ प्रतिशत नगद लाभांस गरी ३६.५८ प्रतिशत लाभांसको प्रस्ताव गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको छ ।’ राष्ट्र बैंकको उच्च स्रोतले भन्यो- ‘तर, बैंकको नगद लाभांस स्वीकृत गर्न सक्ने अवस्था छैन ।’

सञ्चालक समितिले प्रस्ताव गरेको ६.५८ प्रतिशत नगद लाभांसलाई पनि बोनस सेयरमै रुपान्तरण गर्न निर्देशन दिने तयारी गरिरहेको उनले बताए । प्रष्ट आधारबिना नगद लाभांसको प्रस्ताब गरेको भन्दै यसअघि राष्ट्र बैंकले सिटिजन्स बैंकको नगद लाभांस रोकिसकेको छ ।

बैंक आफैंले गत भदौ मसान्तमा राष्ट्र बैंकमा पेस गरेको पुँजी वृद्धिको योजना विपरित बोनस सेयर र नगद लाभांसको प्रस्ताब गरेपछि राष्ट्र बैंकले स्वीकृति नदिने भएको हो ।

बैंकले राष्ट्र बैंकमा बुझाएको पुँजी वृद्धि योजनामा चालू आर्थिक वर्षभित्रै ४ अर्ब रुपैयाँ पुँजी पुर्‍याउने योजना पेस गरेको थियो । बैंकले मर्जरबाट २ अर्ब, सेयर निष्काशनबाट ५४ करोड र बाँकी ३ अर्ब ५३ करोड रुपैयाँ बोनस सेयर जारी गरी चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउने योजना पेस गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले प्रस्ताब गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति बिना वितरण गर्न पाईदैन । राष्ट्र बैंकको स्वीकृतिपछि सम्बन्धित संस्थाको साधारणसभाले स्वीकृति दिएपछि मात्रै लाभांस बाँड्न पाइन्छ ।

एभरेष्ट बैंकको चुक्ता पुँजी थोरै भएकाले लगानीकर्ताहरुले ५० प्रतिशतभन्दा बढी बोनस सेयरको अपेक्षा गरेका थिए । हाल बैंकको चुक्ता पुँजी २ अर्ब १३ करोड रुपैयाँ छ । ३० प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् बैंकको चुक्ता २ अर्ब ७६ करोड रुपैयाँ हुनेछ । यो बैंकमा भारतीय पञ्जाब नेसनल बैंकको २० प्रतिशत लगानी छ ।

everest-bank
यस्तो छ, बैंकको सेयर मुल्यमा भएको उत्तार-चढाव

०७२ असार मसान्तसम्ममा बैंकले ८३ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो वर्षको नाफाबाट गत वर्ष भने बैंकले ५० प्रतिशत नगद लाभांस र १२ प्रतिशत बोनस सेयर गरी ६२ प्रतिशत लाभांस वितरण गरेको थियो । चुक्ता पुँजी कम भएका कारण बैंकको सेयरमा लगानी गर्ने लगानीकर्ताहरुले यो वर्ष अझ बढी लाभांसको अपेक्षा गरेका थिए ।

राष्ट्र बैंकले साउन ७ गते मौद्रिक नीति सार्वजानिक गर्नुअघि दोस्रो बजारमा बैंकको प्रतिकित्ता सेयरमुल्य २२ सय रुपैयाँ थियो ।

तर, मौद्रिक नीतिमार्फत पुँजी बढाउनुपर्ने घोषणा आएपछि बैंककेा सेयर मुल्य बढेर ३५ सय रुपैयाँसम्म पुगेको थियो । बोनस सेयरको घोषणा गरेपछि भने सेयरमूल्य घटेर २६ सय रुपैयाँसम्म पुगेको थियो । बिहीबार बजार बन्द हुँदा २६ सय ९५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment