+
+

पेट्रो चाइनालाई पत्र पठाउन आलटाल गर्दै आयल निगम

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १६ गते १४:१४

China-petrol

१६ कात्तिक, काठमाडौं । चीनबाट तेल नेपाल ल्याउने विषयमा दुई देशका आयल निगमबीच व्यापारिक सम्झौतामा ढिलाई हुने भएको छ ।

सम्झौताका लागि पेट्रोचाइनाका प्रतिनिधीलाई आमन्त्रण गर्न आयल निगमले आलटाल गर्दा ढिलाई भएको हो ।

आयल निगमका जिम्मेवार अधिकारी अनुदानको तेल आइसकेपछि मात्रै पेट्रो चाइनालाई पत्र पठाउने पक्षमा छन् । जबकी अनुदानको तेल सबै आइसक्न कम्तिमा पनि १५ दिन लाग्ने देखिन्छ ।

‘अनुदानको सबै तेल आइसकेपछि पेट्रोचाइनालाई बोलाउने प्रक्रिया सुरु हुन्छ,’ निगमका कार्यकारी निर्देशक गोपाल खड्काले भने, ‘हामी हतारिएर मात्रै हुँदैन, उनीहरु पनि तयारी अवस्थामा हुनुपर्‍यो ।’

तत्कालै पत्र पठाउन के समस्या छ भन्ने विषयमा उनले जवाफ दिन चाहेनन् ।

चीनका लागि नेपाली राजदूत महेश मास्के तेल ल्याउने विषयमा चीनसित सैद्दान्तिक सहमति भइसकेकाले अब आयल निगम र पेट्रोचाइना बसेर प्राविधिक कुराहरु टुंग्याउने बताउँछन् ।

‘अनुदानको तेल आइसकुञ्जेलमा दुई कम्पनीबीच व्यापारिक सम्झौता गरिसक्नुपर्छ,’ राजदूत मास्केले अनलाइनखबरसँग भने, ‘आयल निगमले पत्र पठाउनासाथ पेट्रो चाइनाका प्रतिनिधी आउँछन् र सम्झौता हुन्छ ।’

मूल्य, परिमाण, बाटोघाटो लगायतका कुराहरु दुई पक्षको व्यापारिक सम्झौतामा तय हुने मास्केको भनाई छ । उनले भने, ‘भारतबाट ल्याउँदाभन्दा महंगो नपरोस् भन्ने कुरा हामीले मोटो रुपमा राखेका छौं । आयल निगमले यस विषयमा विस्तृत छलफल गर्छ ।’ राजदूत मास्केले नेपाल आपत्कालिन अवस्थामा रहेकाले तदारुकताका साथ प्रक्रिया अघि बढाउन सबै पक्ष तात्नुपर्नेमा जोड दिए ।

स्रोतका अनुसार चीनबाट कति तेल ल्याउन प्रस्ताव गर्ने भन्ने विषयमा आयल निगम अन्योलमा छ । मागको ३० देखि ४० प्रतिशत ल्याउने प्रारम्भिक तयारी भए पनि भारतसितको नाका चाँडै खुलेको खण्डमा चीनबाट ल्याउने परिमाण घटाउने उसको सोच देखिन्छ ।

चीन र नेपालबीच गत साता नेपालमा तेल आपूर्तिसम्वन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त सैद्धान्तिक समझदारीले तेल ल्याउने बाटो खोले पनि विस्तृत व्यापारिक सम्झौता नभएसम्म तेल आउन सक्दैन । चीनले दिएको एक हजार मेटि्रक टन अनुदानको तेल भने आउन सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?