Comments Add Comment

रसुवाको राम्चे भीरबाट बस खस्यो, ३५ को मृत्यु

bus accident ramche, Rasuwa

१७ कात्तिक, धुन्चे । रसुवाको ग्राङमा मंगलबार दिउँसो भएको बस दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ । घटनास्थलमा २९ जनाको मृत्यु भएको थियो । बाँकीको रसुवा र नुवाकोट जिल्ला अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

मृतकमध्ये धैबुङ गाविस सचिव टिकबहादुर शाही, बाराको गढीमाई नगरपालिका ७ की दीपा चिमौरिया र रसुवाको गोल्जुङ गाविस ५ की तीन वर्षीया बालिका मिराटासी घलेको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

नुवाकोटको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको साथमा रहेको अन्दाजी दुई वर्षको बालिका प्रहरीले संरक्षणमा राखेको नुवाकोट प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शिद्धिविक्रम शाहले बताए ।

काठमाडौंबाट रसुवाका लागि छुटेको बा २ ख ५७०६ नम्बरको पासाङल्हामु यातायात समितिको बस राम्चे गाविस ३ ग्राङमा सडकबाट करिव दुई सय मिटर तल खसेको छ । इन्धन अभावका कारण गाडीहरु कम चलेकाले उक्त बसमा खचाखच यात्रु चढेका थिए । क्षमताभन्दा धेरै यात्रु चढेकाले बस दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दिउँसो साढे १२ बजे बस दुर्घटना भएको थियो । त्यसलगत्तै सुरु भएको उद्धारकार्य बेलुकासम्म पनि जारी थियो ।

नेपाली सेना, सशस्त्र, जनपद र स्थानीयबासीले घाइतेहरुलाई उद्धार गर्दै पायक पर्ने अस्पतालमा पठाएका थिए । २४ जनालाई रसुवा अस्पतालमा र २३ जनालाई त्रिशुली अस्पतालमा पठाइएको थियो । दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट एम्बुलेन्ससहितको प्रहरी टोली रसुवास्थित घटनास्थल पुगेको थियो ।

त्रिशुली अस्पतालमा पुर्‍याइएकामध्ये १६ जनालाई हेलिकोप्टरबाट, सात जनालाई एम्बुलेन्सबाट र दुई जनालाई बसमा राखेर उपचारका लागि काठमाडौं पठाइएको नुवाकोटका प्रहरी निरिक्षक प्रल्हाद अधिकारीले जानकारी दिए ।

रसुवा जिल्ला अस्पताल धुञ्चेमा ११ जनाको, नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा ५ जनाको र ३६ जनाको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । तीमध्ये २१ जना गम्भिर घाइते रहेको रसुवा प्रहरीले जनाएको छ । भिरमा खसेको बस टुक्रा-टुक्रा भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा हामफाल्न भ्याएका तीन जना यात्रुहरु भने सकुशल छन् ।

(नुवाकोटबाट कपिलदेव खनालको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment