Comments Add Comment

एचआईभी र एड्स : भ्रम र यथार्थ

डा.एन्ड्रयू ट्रोटर  

आज डिसेम्बर १, विश्व एड्स दिवस, यसै दिवसको सन्दर्भमा हामीले संसार भर बढ्दो अवस्थामा रहेको एचआईभी सङ्क्रमण र एड्सका बारेमा रहेका केही भ्रम र यथार्थ लाई यहाँ प्रस्तुत गरेका छौ ।

Dr.-Andrew-Trotterएचआईभी (Human Immunodeficiency Virus – HIV) ले शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक कोषिकाहरु सीडि फोर (CD 4) लाई नाशगर्ने काम गर्छ । एचआईभी सङ्क्रमण भएर सीडि फोर कोषहरूको संख्या २०० भन्दा कम भएमा वा रोग प्रतिरोधात्मक शक्ति कमजोर भएका व्यक्तिहरूमा मात्र देखिने किसिमका सङ्क्रमण देखिएमा मात्र त्यस अवस्थालाई एड्स (Acquired Immunodeficiency Syndrome/ AIDS) भनिन्छ। सहि औषधीको प्रयोग र नियमित जाँचबाट एचआईभी समक्रमण भएको व्यक्ति पनि अब स्वस्थ व्यक्ति सरह वर्षौं एड्स नभइ बाँच्न सक्छन् ।

साधारण सम्पर्क जस्तै अँगालो मार्ने, एउटै रुमालको प्रयोग गर्ने, जुठो खाँदैमा एचआईभी सङ्क्रमण सर्दैन। धेरै बर्ष अघि रगत लिँदा दिँदा एचआईभी सर्ने गर्दथ्यो, तर आजकल रक्तदान गरिएको रगत अर्को व्यक्तिलाई दिँदा एचआईभीको साथै अन्य जाँच गरिन्छ, जसले गर्दा यो रोग सर्ने सम्भावना अत्यन्त न्यून रहन्छ । तर असुरक्षित यौनसम्पर्क, एउटै सुई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यो रोग सर्न सक्छ।

यो विरामी अनुसार फरक हुन्छ। कसैमा केही एचआईभी सङ्क्रमण भएको केही महिनामै एड्स हुन्छ भने कतिमा दशौं वर्षसम्म पनि केही हुँदैन र शरीरमा भाइरसको मात्रा धेरै बढ्दैन। यसमा नियमित रुपमा आफ्नो चिकित्सकसँगको जाँच र औषधीहरूको सेवनले पनि सहयोग गर्छ। अमेरिकी बास्केटबल खेलाडी म्याजिक जोन्सनले आफूलाई एचआईभी सङ्क्रमण भएको घोषणा गरेको २० वर्ष भइसकेको छ, तरपनि उनलाई आज पनि एड्स भएको छैन।

कति मानिसमा सङ्क्रमणको बेलामा केही पनि लक्षणहरु नदेखिने गर्छ। कतिलाई भने सङ्क्रमण भएको केही साताभित्र ज्वरो आउने, थकाई लाग्ने, घाँटी दुख्ने जस्ता सामान्य लक्षणहरु देखिने गर्छ। यी लक्षणहरु पनि केही हप्तापछि हराएर जान्छन् र वर्षौंसम्म केही पनि लक्षण नदेखिने र पछि एड्स हुने हुन्छ। एचआईभी सङ्क्रमण भए नभएको जान्ने एउटै मात्र तरिका भनेको रगतको परीक्षण हो। त्यसैले शंका लागेको छ भने रक्त परीक्षण गरी चाँडै पत्ता लगाएर उपचार गर्नु उत्तम हुन्छ।

AIDS-Day

आजसम्म यसलाई पूर्ण रुपमा निको पार्ने कुनै औषधीको विकास भएको छैन। हामीसँग भएका औषधीहरू(Anti Retroviral Therapy/ ART) ले शरीरमा एचआईभीको संख्यालाई नियन्त्रणमा राखी शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई सामान्य राख्न र एड्सको अवस्थामा पुग्नबाट बचाउने काम गर्छन्। आफ्नो चिकित्सकसँग सल्लाह गरी रगतको जाँच गरी कुन अवस्थामा औषधी सुरु गर्न सकिन्छ, आफ्नो शरीरमा भाइरसको मात्रा कति छ (Viral Load), रोग प्रतिरोधात्मक कोषहरूको संख्या कति छ (CD4 count) भनेर थाहा पाउन सकिन्छ।

के महिला, के पुरुष, के बच्चा, के वृद्ध, यो सङ्क्रमण कसैलाई पनि हुनसक्छ। त्यस्तै समलिङी, विपरीतलिङी सबैलाई यो सङ्क्रमण हुनसक्छ। त्यसैले आजैदेखि यो रोगबाट बच्ने तरिकाहरू जानी राखौँ र प्रयोगमा पनि ल्याऔँ।

दुवैलाई एचआईभी सङ्क्रमण हुँदैमा कन्डमको प्रयोग बेकार भन्ने हुँदैन। यसले सम्पर्कको बेलामा एचआईभी का अन्य प्रकारहरु र यौनसम्पर्कबाट सर्ने अन्य खालका रोगहरू (Sexually Transmitted Diseases) बाट बचाउँछ। त्यस्तै तपाईँले एचआईभीको औषधी खाइराख्नु भएको छ र तपाई स्वस्थ महसुस गर्नुहुन्छ भने पनि तपाईँले अरूलाई यो सङ्क्रमण सार्न सक्नुहुन्छ।

एचआईभी सङ्क्रमित आमाले बच्चा पाउँदा गर्भधारणको बेलामा वा सुत्केरी हुने बेलामा बच्चालाई यो सङ्क्रमण सर्नसक्छन् । तर यो सतप्रतिशतमा हुँदैन। चिकित्सकसँगको सल्लाह, औषधीको सेवन, नियमित जाँच आदिले बच्चामा यो सङ्क्रमण सर्ने सम्भावनालाई घटाउन सकिन्छ।

एचआईभी पोजिटिभ भएका व्यक्तिहरूको रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा क्षयरोग, क्यान्डीडीयासीस/ Candidiasis, न्युमोसिस्टीस न्युमोनिया/ Pneumocystis Pneumonia जस्ता रोगहरू हुने सम्भावना धेरै हुन्छ। तर एचआईभीका औषधीहरूको प्रयोग र ती सङ्क्रमणबाट बचाउने औषधीहरूको प्रयोगले त्यो सम्भावनालाई कम गर्न सकिन्छ।

नेपाल सरकारले एचआइभी समक्रमणका औषधीहरू नि:शुल्क वितरण गर्ने गर्छ। त्यस्तै यो सम्बन्धी रक्तपरिक्षण सेवाहरु पनि नि:शुल्क प्रदान गरी रहेको छ। तरपनि यो सबै सङ्क्रमितहरूको लागि पर्याप्त छैन। साथै सङ्क्रमितहरुलाई यसको औषधी सेवा सँगै आम जनमानसमा यो रोग सम्बन्धी चेतना फैलाउनु अपरिहार्य छ । हामी आफूपनि सजग भएर यस रोगको बारेमा जानकारी दिने र लिने गरी एचआइभी र एड्सको विरुद्धको अभियानमा सहभागी हुनु जरुरी छ ।

लेखक ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका संक्रमणजन्य रोग तथा एचआईभी बिशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment