Comments Add Comment

प्रचण्डको ‘प्रधान दुश्मन’ कमल थापा र पशुपतिसमशेर ?

prachanda

अरुण बराल
कम्युनिष्ट पार्टीको परम्परामा प्रधान अन्तरविरोध र गौण अन्तरविरोध छुट्याउने प्रचलन छ । यही प्रचलनलाई पछ्याउँदै एमाओवादी अध्यक्ष प्रचण्डले अबको प्रधान अन्तरविरोध राप्रपाका विभिन्न घटकसँग रहेको रोचक निश्कर्ष निकालेका छन् ।

प्रचण्डको नयाँ निश्कर्ष अनुसार अब एमाओवादीको प्रधान दुश्मनी कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपतिसमशेर राणा एवं लोकेन्द्रबहादुर चन्द आदिले नेतृत्व गरेको राप्रपासँग हुनेछ । अब एमाओवादीको नजरमा विगतको परम्परालाई उल्ट्याउँदै नेपाली कांग्रेसको साटो पूर्वपञ्चहरु ‘भारतीय दलाल’ को सूचीमा परेका छन् ।

प्रचण्डले मंगलबार पार्टीको केन्द्रीय समितिमा पेश गरेको राजनीतिक एवं सांगठनिक प्रस्तावमा मुलुकमा विद्यमान राजनीतिक शक्तिहरुको विश्लेषण गरिएको छ ।

प्रचण्डले चार प्रकारका राजनीतिक शक्तिहरुको व्याख्या गरेका छन् । पहिलोमा गणतन्त्रविरोधी शक्ति, दोस्रोमा यथास्थितिवादी शक्ति, तेस्रोमा सुधारवादी र अवसरवादी शक्तिको चर्चा गरिएको छ भने चौथोमा क्रान्तिकारी शक्तिको चर्चा छ ।

एमालेबारे दुई वाक्य : सुधारवादी र अवसरवादी शक्ति

Kp-Oli,-Prachanda-And-Kamal-Thapa

अध्यक्ष प्रचण्डले सत्ता साझेदार एमालेलाई सुधारवादी र अवसरवादी राजनीतिक शक्तिको संज्ञा दिएका छन् । ‘सुधारवादी र अवसरवादी’ शक्ति शीर्षकमा प्रचण्डले लेखेका छन्,- मुख्यरुपमा मध्यम वर्ग एवं निम्न पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने अन्त्यन्त ढूलमूल र अवसरवादी चरित्रको सुधारवादी राजनीतिक शक्ति यस कोटीमा पर्छन् । यसमा मुख्यतः एमाले लगायतका सुधारवादी र संशोधनवादी दलहरु पर्छन् ।’

मुलुकको प्राुख राजनीतिक दलमध्येको एक मानिने एमालेका बारेमा प्रचण्डले आफ्नो दस्ताबेजमा तीन लाइनमात्रै लेखेका छन् । आफैंसँग सत्ता साझेदारी गरिरहेको दललाई अवसरवादी भनेता पनि प्रचण्डले एमालेलाई निकै माया गरेको यसबाट प्रतीत हुन्छ ।

विगतमा प्रचण्डले एमालेलाई प्रतिक्रियावादमा पतन भइसकेको शक्ति बताउने गरेका थिए । तर, अहिले आफूसँग प्रतिस्पर्धा गरिरहेको एमालेसँग कस्तो व्यवहार गर्ने र उसको वैचारिक प्रतिवाद कसरी गर्ने भन्नेबारेमा प्रचण्ड आफ्नो दस्तावेजमा पूरै मौन देखिएका छन् ।

प्रचण्डको यस्तो मौनताले देशमा एमाले बाहेक अर्को वाम वाम पार्टीको औचित्य किन छ भन्ने कुरा प्रष्ट्याउन सकेको देखिँदैन ।

यतिबेला एमाओवादीका कार्यकर्ताहरुमा एमालेलाई हेर्ने दृष्टिकोणबारे निकै ठूलो अन्यौल छ । कतिपयले एमाले र एमाओवादीवीच पार्टी एकताको समेत चर्चा गरिरहेका छन् । प्रचण्ड आफैंलेसँग एकता गर्न चाहेको चर्चा समेत भइरहेको छ । भलै प्रचण्डले इटहरीमा आयोजित कार्यक्रममा यसको खण्डन गरेका छन् ।

तर, राजनीतिक शक्तिहरुबारे गरिएको विश्लेषणमा प्रचण्डले यी विषयहरुमा पूर्णतः मौनता प्रकट गर्दै एमालेबारे दुई वाक्यमात्र लेखेका छन् ।

कांग्रेस यथास्थितिवादी-राष्ट्रवादी !

नेपाली कांग्रेसलाई विगतमा एमाओवादीले ‘नोकरशाही तथा दलाल पुँजीपति वर्ग’को प्रतिनिधित्व गर्ने पार्टीका रुपमा विश्लेषण गर्ने गरेको थियो । तर, यसपालि प्रचण्डले प्रधान दुश्मनीको तीर कांग्रेसमा भन्दा राप्रपातिर बढी सोझ्याएका छन् ।

Sushil-Ramchandra

प्रचण्डले नेपाली कांग्रेसलाई यथास्थितिवादी राजनीतिक शक्ति भनेका छन् । यथास्थितिवादी राजनीतिक शक्तिबारे ब्याख्या गर्दै प्रतिवेदनमा प्रचण्डले लेखेका छन्- ‘संसदीय प्रजातन्त्रको वकालत गर्ने, क्रान्ति र परिर्वतनका प्रगतिशील मुद्दाहरुप्रति नकारात्मक धारणा राख्ने, वैदेशिक प्रतिक्रियावादीसँग सम्झौता गर्न रुचाउने र खासखास मोडमा आत्म समर्पण गर्न पनि तयार हुने राजनीतिक शक्तिहरु पर्दछन् । यस्तो राजनीतिक शक्तिमा मुख्यतयाः नेपाली कांग्रेस र पहाड, मधेसमा रहेका कतिपय क्षेत्रीय दलहरु पर्दछन् ।’

नेपाली कांग्रेसबारे प्रचण्डको दृष्टिकोण मध्यपन्थी प्रकारको देखिएको छ । उनले कांग्रेसले राम्रो काम गरेको अवस्थामा ऊ राष्ट्रिय पुँजीपतिको प्रतिनिधि हुने र नराम्रो काम गरेको अवस्थामा दलाल नोकरशाही हुने टिप्पणी गरेका छन् ।

कांग्रेसले मध्यम वर्गदेखि राष्ट्रिय पुँजीपति वर्गको एउटा हिस्साका साथै दलाल नोकरशाही र सामन्त वर्गको अर्को हिस्साको प्रतिनिधित्व गर्ने प्रचण्डको दोधारे विश्लेषण छ ।

उनले दस्ताबेजमा भनेका छन्- ‘जतिबेला उसले (कांग्रेसले) सकारात्मक भूमिका खेल्छ, उसले मध्यम वर्ग र राष्ट्रिय पुँजीपतिसम्मको र जतिबेला उसले गलत सम्झौता र आत्मसमर्पणवादी भूमिका खेल्छ, त्यसबेला उसले दलाल नोकरशाह र सामन्तहरुकै प्रतिनिधित्व गरिरहेको हुन्छ ।’

प्रचण्डले राप्रपा नेपाल, राप्रपा लगायतलाई गणतन्त्र विरोधी शक्ति भनेका छन् । उनले राजतन्त्रको पक्षपोषण गर्ने, हिन्दु राष्ट्रको नारा दिने र संघीयताको विरोध गर्नेहरुलाई गणतन्त्र विरोधी शक्ति भनेका छन् ।

गणतन्त्रविरोधी शक्तिका विषयमा प्रचण्डको विश्लेषण यस्तो छ-‘राजतन्त्रको पक्षपोषण गर्ने, हिन्दुराष्ट्रको नारा दिने, संघीयताको विरोध गर्ने, समग्रतामा महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरुको विरोध गर्ने पूर्वपञ्चहरु, समाजको रुढिवादी सामन्ती शक्ति, दलाल र नोकरशाही पुँजीपति वर्गको एउटा हिस्सासमेत मिलेर यो शक्ति बनेको छ । यसमा मुख्यतः राप्रपाका विभिन्न घटकहरु पर्दछन् ।’

एमाओवादी अध्यक्ष प्रचण्डले चौथो बुँदामा आफ्नो पार्टी एमाओवादी र अन्य माओवादीहरुलाई क्रान्तिकारी राजनीतिक शक्ति भनेका छन् ।

कमजोर दल राप्रपालाई प्रधान शत्रु देख्ने प्रचण्डले नेपालको राजनीतिमा अहम सवाल बनिरहेको मधेसवादी शक्तिबारे मौनता साँधेका छन् ।

यथास्थितिवादी राजनीतिक शक्तिमा ‘मुख्यतयाः नेपाली कांग्रेस र पहाड, मधेसमा रहेका कतिपय क्षेत्रीय दलहरु पर्दछन्’ पर्छन् भन्ने वाक्य लेख्नुबाहेक प्रचण्डले मधेसवादी दलका बारेमा कुनै विश्लेषण गरेका छैनन् ।

मधेसमा कसरी काम गर्ने र मधेसी मोर्चामा आवद्ध दलहरुसँग पार्टीले कस्तो नीति अपनाउने भन्नेबारे प्रचण्डको दस्तावेज मौन छ ।

‘प्रधान अन्तरविरोध’ मै अलमल

आफ्नो दस्तावेजको १७ औं पृष्ठमा प्रचण्डले ‘प्रधान अन्तरविरोध बारे’ उपशीर्षकमा प्रधान अन्तरविरोधबारे गोलमटोल व्याख्या गरेको छन् ।

प्रचण्डको दस्तावेजमा भनिएको छ- ‘भारतीय एकाधिकार पुँजीवादद्वारा पालित पोषित र संरक्षित दलाल, नोकरशाही पुँजीपति र सामन्त वर्गविरुद्ध आम नेपाली जनताको अन्तरविरोध नै प्रमुख अन्तरविरोधका रुपमा रहेको छ ।’

प्रचण्डले ‘भारतीय एकाधिकार पुँजीवादद्वारा पालित पोषित र संरक्षित दलाल, नोकरशाही पुँजीपति र सामन्तवर्ग’ का रुपमा राप्रपाका विभिन्न घटकहरुलाई बताएका छन् । यसको अर्थ राप्रपा नेपाल र राप्रपासँग नै प्रधान अन्तरविरोध रहेको प्रचण्डको दस्तावेजको निचोड देखिन्छ ।

नेपाली कांग्रेसले राम्रो काम गरुञ्जेल राष्ट्रिय पुँजीपति वर्ग मानिने भएकाले प्रधान अन्तरविरोध कांग्रेसमा केन्द्रित हुने भन्दा पनि राप्रपामै केन्द्रित हुने देखिएको छ ।

नेपाली समाजमा रहेका आधारभूत अन्तरविरोधहरुका विषयमा पनि प्रचण्ड अल्मलिएका छन् । उनले यसबारे अमूर्त भाषा प्रयोग गर्दै यसरी लेखेका छन्- ‘माथि गरिएको सामान्य र संक्षिप्त वर्ग विश्लेषण र राजनैतिक शक्तिहरुको विश्लेषणका आधारमा नेपाली समाजमा रहेका आधारभूत अन्तरविरोधहरु स्पष्ट हुन्छन् । त्यसमा दलाल नोकरशाह, पुँजीपति र सीमान्तकृत सामन्त वर्ग र आम जनताका बीच मजदूर र पुँजीपति वर्गका बीच, समाजवादी राजनैतिक धारा र पुँजीवादी राजनैतिक धाराका बीच, साम्राज्यवाद-विस्तारवाद र नेपाली जनताका बीच, सामन्त जमिन्दार र किसानहरुका बीच, आधारभूत अन्तरविरोध रहेको स्पष्ट हुन्छ ।’

पढ्नुस् प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको दस्तावेजको अंश

Document of Maoist

‘भारतीय दलाल’ चिनेनन्, अन्तरराष्ट्रिय परिस्थितिबारे मौन

प्रचण्डले ‘भारतीय एकाधिकार पुँजीवादबाट पालित पोषित दलाल’ वर्गलाई प्रधान शत्रु घोषणा गरे पनि ‘भारतीय दलाल’ को हो भनेर किटानी गर्न सकेका छैनन् । उनले यस्तो वर्गमा नेपाली कांग्रेसको साटो पूर्वपञ्चहरुलाई राख्न खोजेका छन् । जबकि नेपालका राजावादीहरुलाई विगतमा स्वंय एमाओवादीले राष्ट्रवादी मान्ने गरेको थियो ।

यस सन्दर्भमा प्रचण्ड भारतीय दलालको प्रतिनिधि पत्तो लगाउने कुरामा पूरै अल्मलिएका छन् ।

अर्कोतर्फ उनले नेपालमा भइरहेको नाकाबन्दीविरुद्ध राष्ट्रिय स्वाधीनतामा जोड दिने कुरा गरेका छन् । यदि यस्तो हो भने राष्ट्रवादी शक्तिहरु मित्रशक्ति बन्नुपर्ने हो ।

कम्युनिष्ट पार्टीको दस्तावेजमा प्रायः अन्तरराष्ट्रिय परिस्थितिको बारेमा पनि समीक्षा गरिएको हुन्छ । तर, प्रचण्ड यसमा पूरै मौन छन् ।

तर, प्रचण्डले अन्तरविरोधबारे चर्चा गर्दा भारतसँग नेपालको अन्तरविरोध रहेको चर्चा गरेका छैनन् । फगत भारतीय एकाधिकार पुँजीवादद्वारा पालित पोषितहरु मात्रै प्रधान शत्रु रहेको उनको विश्लेषण छ । भारतबारे प्रचण्ड आफैं मौन छन् ।

कम्युनिष्ट पार्टीको दस्तावेजमा प्रायः अन्तरराष्ट्रिय परिस्थितिको बारेमा पनि समीक्षा गरिएको हुन्छ । तर, प्रचण्ड यसमा पूरै मौन छन् । नेपाल भारत सम्बन्ध, चीन र भारतले नेपाललाई कसरी हेरिरहेका छन् भन्नेबारेमा प्रचण्डको दस्तावेज मौन छ ।

विगतमा भन्ने गरिएको ‘विश्व साम्राज्यवाद’को प्रचण्डको दस्तावेजमा कुनै चर्चा छैन, सिरिया, पेरिस लगायतका देशमा भएका हिंसाका विषयमा पनि प्रचण्डले एक शब्द बोलेका छैनन् ।

विगतमा ‘अन्तरराष्ट्रिय परिस्थितिबारे’ भनेर लेखिने गरेको कोलममा’बाबुारम भट्टराईको पार्टी परित्यागबारे भन्ने बुँदा उल्लेख छ । त्यसपछि सोझै ‘वर्तमान राजनीतिक परिस्थिति’बारे चर्चा छ ।

यो पनि पढ्नुस्

पार्टीमा क्यान्सर लाग्यो भन्दै प्रचण्डले बनाए १५ बुँदे आचारसंहिता 

बाबुरामको ‘नयाँ शक्ति’ बुर्जुवाहरुको खिया लागेको हतियारः प्रचण्ड 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment