Comments Add Comment
विचार :

मृत्युको ताण्डवमाथि प्रधानमन्त्रीको सत्तारोहण

ग्रीकमा एउटा कहावत प्रचलित छ । ‘म कैयन् पटक मूर्ख शासकलाई रुचाउँछु धूर्त शासक भन्दा ।’ सरकारको नेतृत्व कस्तो मानिसबाट होस् भन्ने चाहन्छौ भनी दुई हजार वर्ष अगाडि एथेन्समा माथिको कथनमा पढाइ हुन्थ्यो रे ।

धूर्तभन्दा मूर्ख ठीक

सुकरात, प्लेटो र अरस्तुको विश्वविद्यालयबाट धूर्तले विनाश गर्छ र समाजलाई समाप्त गर्ने दिशातिर लैजान्छ । मूर्खले बिगार कम गर्छ, तसर्थ धूर्त शासकभन्दा मूर्ख शासक नै ठीक भनी एथेन्सवासीहरु मूर्ख रुचाउँथे रे ।

नेपालमा मूर्खहरुको शासन विरलै भयो । अधिकांश धूर्त भए । मूर्ख शासक भएको भए नेपाली आफैं देशको विकास गर्न सक्षम थिए । तर, विगत तीन दशकदेखि नेपालमा अपवादबाहेक मूर्खहरुभन्दा धूर्तहरुको सरकारमा नेतृत्व बढी भएर देशको बेहाल भयो । एथेन्समा हजारौं वर्ष अगाडि दार्शनिकहरुले भनेको कुरासँग अहिलेको नेपालमा असहमत हुने ठाउँ देखिंदैन । प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर धूर्त शासकहरुको शृंखलामा ‘अब्बल’ भएर देखिएका छन् ।

एथेन्समा झैं नेपालमा एउटा कहावत छ, ‘जस्तो जनता त्यस्तै सरकार ।’ यो कहावतसँग असहमत हुन सकिन्छ । जनता सोझा र मूर्ख हुन सक्छन् । ‘हामी मूर्ख छौं र त बहादुर छौं’ भनेर कुनै कविले कविता लेखेका छन् । साहित्य समाजको ऐना हो भनिन्छ । तसर्थ तिनै महान् कविको विचारसँग सहमत हुँदै हामी मूर्ख बनाइएका छौं, यो सत्य हो ।

सरकार सञ्चालन गर्नेहरु मूर्ख जनतालाई ठगेर शासन गर्न सक्षम भए भनेर आजभन्दा डेढ दशक अगाडि तत्कालीन राजा ज्ञानेन्द्रले टाउको उठाए । सत्ता आफ्नो हातमा लिए । यहाँसम्म ठीकै थियो भनी मानौं । यो धूर्त र धूर्तबीचको प्रतिद्वन्द्विता थियो ।

मूर्ख हुनुको सजाय सम्भवतः आज जस्तो कुनै नेपालीले कहिल्यै भोग्नुपरेको थिएन होला ।

राजाको सत्तालाई हल्लाउन एकथरी धूर्त शासकहरुले सकेका थिएनन् । मूर्ख नागरिकहरु अगाडि आउनुपर्‍यो । त्यो पनि नागरिक समाज र मिडियामार्फत । डेढ दशक अगाडिको गणतन्त्र नेपालको आन्दोलनले राजतन्त्रलाई समाप्त गर्‍यो । तर दुर्भाग्य नागरिक समाज र मिडियाले बडो हिम्मतका साथ फुटपाथमा बसाएका धूर्तहरुलाई जनताले फेरि सिंहदरबारमा पुर्‍याए ।

हामी मूर्ख भयौं   

मेरा मित्र प्राध्यापक कृष्ण खनाल बडो उत्साहपूर्वक नागरिक आन्दोलनको अग्रपंक्तिमा देखिनुभयो । नेताहरुलाई मञ्चमा राखेर कार्यक्रम गर्न सकिने अवस्था थिएन तिनताका । तसर्थ ती श्रोता भएर सडकमा बसेका थिए ।

त्यसबेला नेपाली कांग्रेसका नेता नरहरि आचार्यको घरमा नयाँ पार्टी निर्माणको सम्भावनाबारे बृहत् छलफल चल्थ्यो । पार्टी निर्माण प्रक्रिया कति हन्डर, दुःख र लामो यात्रा हो भन्ने नबुझ्ने त्यहाँ कोही थिएन ।

हामी सबै ‘कम्फर्ट जोनमा’ बस्न रुचाउने अर्थात् ‘आर्मचियर डेमोक्रेट्स’ झैं भइसकेको अवस्था थियो । सही अर्थमा भन्ने हो भने कांग्रेस नै समग्रमा आर्म चियरवालाहरुको क्लब झैं थियो केन्द्रमा । जुन अहिले पनि छ ।

नरहरि आचार्यको घरमा चल्ने बैठकमा कांग्रेस र कम्युनिष्ट तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनपछि पनि सुध्रिन्छन् भन्नेमा सबैको अविश्वास थियो । तर हामी सबै पण्डित परिवारका थियौं अर्थात् जन्मले बाहुन । कुनै न कुनै तर्क निकालेर असफल नेताहरुलाई पुनर्स्थापित गर्न सघाउने बाटो नै हामीलाई सहज लाग्थ्यो । डेढ दशक अगाडि एउटा अवसर आएको थियो धूर्तहरुलाई फ्याँक्ने । तर ‘रिस्क’ उठाउन कोही तयार थिएनन् र अवसर गुम्यो ।

आज लकडाउनको बेला घरमा बसेर अतीतका ती पुराना डायरीहरु केलाउँदा देश रुपान्तरण र समृद्धिको कुरा गर्न हामी कहिल्यै नथाक्ने तर आफू सुध्रिन र ‘रिस्क’ उठाउन कहिल्यै नचाहने राजनीतिक प्राणी हो भने झैं लाग्यो । आज नागरिक आन्दोलन र मिडिया मूर्ख झैं भएका छन्, धूर्तहरुको आक्रमणको तारो भएका छन् ।

कोरोनाको पाठ 

भनिन्छ मान्छेलाई पढेर भन्दा परेर मात्र ‘चेत’ आउँछ । कोरोना महामारीले विश्वमा ताण्डव गरिरहँदा यो भाइरस नेपालमा पनि आउँछ र भनी हामी सोच्थ्यौं । प्रधानमन्त्री ओली झैं आम नेपाली धूर्त नभए पनि यो सोच मूर्ख झैं पक्कै थियो ।

नेपालमा कोरोना आए पनि मलाई र मेरो परिवारलाई होला र भन्नेमा बडो निर्धक्क थियौं हामी । म र मेरो परिवारलाई लागिहाले पनि चिनजान र भनसुनबाट उपचार त होला नि भनी राज्यसँगको निकटताले केही ढुक्क थिए । तर राज्यको क्षमता यसरी खुम्चिन्छ र हामी शहरिया सत्तासँग सम्पर्क र पहुँच भएकाहरु पनि प्रताडित हुनुपर्नेछ भनी कहिल्यै सोचिएको थिएन ।

तर कोरोना महामारी जब मेरो घर, आसपास, नाताकुटुम्ब र प्रियजन सबैमाथि कहर झैं बज्रियो अनि राज्य कहाँ छ ? राज्यको स्वास्थ्य सेवा कहाँ छ ? भनी हजारौं हजार मध्यम वर्ग मूर्खहरुको क्रन्दन काठमाडौंमा सुनियो । राज्य कहीं थिएन, राज्यको स्वास्थ्य सेवा र सुविधा पाउन पहुँच, सम्बन्ध र सम्पर्क निष्प्रभावी भइसकेको थियो ।

प्रधानमन्त्री अपराधी हुन् ?

प्रारम्भमा हवाईजहाजमा धेरै चढ्ने सम्भ्रान्त र धनीमानीहरुलाई मात्र लाग्ने यो कीटाणु हो भनी हामीले कोरोनालाई बुझ्यौं । कोरोनाभाइरसलाई लिएर अनेकन् ‘न्यारेटिभ्स्’हरुमा मूर्ख जनता र धूर्त शासकहरुबीच प्रचारबाजीको प्रतिस्पर्धा नै चल्यो ।

अम्बाको पात निचोरेर खाए कोरोना ठीक हुन्छ भन्ने प्रधानमन्त्रीको उपदेशले रेम्डिसिभिर र खोपहरु जुटाउन नेपालमा आवश्यक नै परेन । नेपालीहरु भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता राख्छन्, तसर्थ विकसित देशमा जस्तो यसले ताण्डव मच्चाउँदैन भनियो । गरीब नेपाली कोरोनाजस्तो भाइरससँग लड्दै यहाँसम्म आएका हुन् तसर्थ चिन्ता छैन, केही हुँदैन भनी गरीबीसँग पनि गौरव गरियो ।

खानामा नै रोग प्रतिरोधात्मक क्षमता छ भनियो । जन्मँदै कुपोषणले ग्रस्त नेपाली बच्चाहरु कसरी प्रतिरोधात्मक क्षमता राख्छन् विज्ञान मान्न तयार थिएन । युवा जनसंख्या छ नेपालमा कोरोना वृद्ध र बुढाबुढीहरुलाई हुन्छ भनियो । अहिले युवाहरु नै भटाभट मर्दैछन् । यहाँसम्म सरकारी ‘न्यारेटिभ’ अर्थात् धूर्त र मूर्खबीच तालमेल मिलेकै छ ।

वार्निङ बेल’ सुनिएन   

कोरोनाभाइरस संक्रमणको पहिलो लहर शिथिल हुँदैथियो । सर्वत्र आशा र भविष्यप्रति विश्वास बढ्दै गयो । शहर र गाउँमा आर्थिक गतिविधि शुरु भए । शिक्षा केन्द्र र सिनेमाहल खुले । पार्टी प्यालेस, कर्पोरेट हाउस, रिसोर्टहरु पनि खुले । सबैभन्दा ठूलो कुरा सबैको अनुहारबाट ‘मास्क’ गायब भयो । भौतिक दूरी आवश्यक ठानिएन ।

नेताहरु आमसभा, उद्घाटन, शिलान्यास र गुट तथा गिरोहको बैठक गर्न थाले । युवा र केटाकेटी अनलाइनबाट अफलाइनमा आए । सबै क्षेत्र आश्वस्त भए अब कोरोनाभाइरससँगको सतर्कता समाप्त गर्नुपर्छ भनेर । तर विज्ञान आश्वस्त थिएन । विज्ञान बुझ्ने मानिसहरु सतर्क मात्र गराइरहेका थिएनन्, डराइ पनि रहेका थिए ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकृतले मलाई बारम्बार फोनमा भनिरहन्थे कोरोना भयावह भएर आउँदैछ भनेर ‘लौ न नेताहरुलाई भन्नुपर्‍यो ।’ केही मेडिकल डाक्टरहरु ढुक्क थिए, नेपालमा भयावह अवस्था आउँदैछ भनेर । कसलाई कसरी कहाँ भन्ने ? सरकार र दलहरुको प्राथमिकतामा मूर्ख जनता थिएनन् । धूर्तहरुबीच सत्ता निर्माण र आफ्नो इमेज प्रदर्शनमा प्रतिस्पर्धा थियो ।

मृत्युघण्टी भयावह भयो  

कोरोनाभाइरसको दोस्रो कहर भयावह भएर आयो । राजधानीमा एउटा घर छाडेर अर्को घरमा कोरोना बिरामी छ । नागरिक जीवनरक्षाको लागि संघर्षरत छन् । सरकार बेपत्ता छ । प्रधानमन्त्री लगायत सम्पूर्ण नेताहरु मृत्युको ताण्डव भइरहँदा सत्तारोहणको नयाँ–नयाँ प्रयोगमा व्यस्त छन् । संविधान पल्टिएको छ । स्वास्थ्य सुधार कार्यक्रमको गुञ्जन कतै सुनिंदैन । स्वास्थ्यमा कमिसनका कुराहरु सुन्नुपर्दा मुटुको चाल बढेर जान्छ ।

संविधानका धारा र उपधाराबीच सत्ताको सुनिश्चितता खोजिंदैछ । यता मूर्ख जनता अस्पताल, बेड, अक्सिजन, दबाई, डाक्टर र भेन्टिलेटर खोज्दैछन् । यतिखेर अस्पताल जानु नपर्ने गरी कोरोना लागोस् भनी कैयन् नागरिक ‘भगवानसँग भाकल’ गर्दैछन् । शहरको कोरोना कहरमा उपचार गर्न सक्नेको क्रन्दनले समेत राजधानी मृत शहर भएको छ । मृत्युको घण्टी यसरी निरन्तर बजिरहेको छ कि सामाजिक र पारिवारिक सम्बन्धहरु विघटन उन्मुख छन् ।

मन विचलित हुन्छ   

मेरो परिवारका सबैजसोलाई कोरोनाले चपेटामा लियो । धन्न उपचारको लागि अस्पताल जानु परेन । अस्पतालमा बेड र अक्सिजन सिलिण्डरको जोहो गर्नु परेको भए म कता गुहार्न सक्थें थाहा छैन । चिनजान र सोर्सवालाहरुको फोन उठ्दैन । सोसल मिडिया हेर्न र आफ्नै फोन उठाउन पनि डर लाग्छ । असह्य अनुभव हुन्छ ।

सोसल मिडियामा आउने दुईखाले समाचारले मन विचलित हुन्छ । एकातिर आफ्ना साथभाइ, इष्टमित्र र परिवारका सदस्यको मृत्यु, क्रन्दन र लाचारी देख्छु । अर्कोतिर दलहरुको जित र हारको समाचार सुन्छु । अझ नेताहरुको विजयी मुस्कानसहितको अनुहार जब टेलिभिजनमा देख्छु ‘आत्मा’ छियाछिया हुन्छ । मूर्ख हुनुको सजाय सम्भवतः आज जस्तो कहिल्यै कुनै नेपालीले भोग्नुपरेको थिएन होला ।

गाउँघरतिर के छ ?

पैसा हुनेहरुले स्वास्थ्य सेवा किन्न सक्छन् काठमाडौंमा, प्रयत्न गर्न सक्छन् । देशका केही शहरी क्षेत्रको क्रन्दन पत्रपत्रिका, रेडियो र टीभीमार्फत दबाबको रुपमा सरकारसम्म पुगेको पनि छ । निजी क्षेत्रका फाइभस्टार अस्पतालदेखि सरकारी अस्पतालले शहरमा केही न केही राहत दिइरहेकै होलान् । तर गाउँघरतिर के छ ? अहिलेसम्म कोरोना महामारीबारे जे जति सरकारी र निजी प्रयासहरु भएका छन् त्यो शहर केन्द्रित छ ।

अहिले कोरोना महामारीमा ‘मृतक विगतको जस्तो डाटा’ मात्र भएन । मर्ने डर नेता, अभिनेता, प्रशासक, डाक्टर सबैलाई भयो । अहिलेको वैकुण्ठबास ‘ए यो पनि मर्‍यो ?’ भन्ने खालको भयो ।

गाउँमा अक्सिजन, रेम्डिसिभिर, स्टोराइट र बेड के हो थाहा पनि छैन मानिसलाई । गरीब गाउँलेहरुले पहिलो कोरोना कहरमा लकडाउनको कारण रोजगारी गुमाए । लाखौंको संख्यामा झनै गरीब भए । अर्थशास्त्रीहरुले तिनलाई ‘डाटा’ बनाए र कमाए ।

केटाकेटीहरुलाई अनलाइन नभए पनि अफलाइन शिक्षा दिनुपर्छ भनेर नयाँ चेत गाउँलेमा भर्खर आएको थियो, खासगरी सीमान्तकृत समुदायमा । दोस्रो लहरको कोरोनाले तिनलाई निर्मम गरीबीको चक्रव्यूहमा पुर्‍याएको छ । अधिकांश ग्रामीण शिक्षा आज १३ महीनादेखि पूर्ण बन्द छ । अफलाइन बन्द छ, अनलाइनमा पढ्ने नेपालमै बस्दैनन् सकिगाे ।

के गर्ने अहिले गाउँमा ?   

एकातिर गरीबी अर्कोतिर लकडाउन योभन्दा अभिशाप के हुन्छ एउटा विपन्न परिवारको लागि । सरकारमा रजगज गरेका धूर्तहरुको आत्मामा अलिकति पनि मानवता छ भने गाउँमा अक्सिजन र स्टोराइड होइन केही भोजन र सिटामोल पठाऊ मानवता बाँच्छ । केही स्वास्थ्यकर्मी पठाऊ गाउँलेको अनुहारमा यति मात्रले पनि मुस्कान फर्कन्छ ।

केही चना र चामल पठाऊ झण्डै चालीस प्रतिशत कुपोषणको शिकार भएर जन्मिएको बच्चा, युवा र वृद्ध गाउँलेलाई प्रोटिन र अक्सिजन पुग्दछ । अहिले गाउँमा कुनै च्यारिटी र एनजीओ छैनन्, सरकार त पुग । नेपाल सरकारलाई थाहा छ कि छैन कोरोनाको दोस्रो लहरसँगै गाउँका अधिकांश सामुदायिक अस्पतालहरु बन्द भएका छन् ।

स्वास्थ्य र शिक्षाको निर्मम समीक्षा गर, यसरी चल्दैन

अन्त्यमा, किन नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र आज ‘पेन्डेमिक’मा ‘शक’ लाग्ने खालका देखिए ? के यो अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको मात्र गल्तीबाट भएको हो ? होइन । निश्चय नै ओली धूर्त देखिए कम्युनिष्ट भएर पनि, दुःख यहाँ छ ।

नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र कहिल्यै पनि राम्रो थिएन, प्रजातन्त्र आएर पनि त्यसमा सुधारको कुनै सामान्य प्रयत्न भएन । कोरोना महामारीमा मात्रै होइन ,नेपालको स्वास्थ्य क्षेत्र ‘इन्डेमिक’ अर्थात् स्थानीयस्तरमा देखिने झाडापखालालाई सम्बोधन गर्ने क्षमताको पनि छैन ।

प्रत्येक वर्ष इन्डेमिक आउँछ नेपालमा । मानिस मर्छन् । मृतकको संख्या गनिन्छ । त्यो मृत्यु ‘डाटा’ भयो संवेदनाहीन डाटा । किनकि त्यो जाजरकोटमा भयो, कर्णालीमा भयो । तराईको पिप्राहा पूर्वको मुसहर बस्तीमा भयो ।

अहिले कोरोना महामारीमा ‘मृतक विगतको जस्तो डाटा’ मात्र भएन । मर्ने डर नेता, अभिनेता, प्रशासक, डाक्टर सबैलाई भयो । अहिलेको वैकुण्ठबास ‘ए यो पनि मर्‍यो ?’ भन्ने खालको भयो ।

के यसले नेपालको स्वास्थ्य क्षेत्रको दशा सुध्रिएर नयाँ  दिशा लिन्छ ? धूर्तहरुको सत्ताबाट वहिर्गमन गरेर मूर्खहरुले आफ्नो सही प्रतिनिधि सरकारको नेतृत्व गर्न पठाउलान् ? धूर्तभन्दा मूर्ख शासक ठीक भनी आजभन्दा दुई हजार वर्ष अगाडि एथेन्सवासीले सोच्न सके भने नेपाल पक्कै ब्युँझिन्छ भन्ने आशा गरौं । संसारको दशा र दिशा ‘पेन्डेमिक’ले बदलिंदैछ । नेपालको पनि पक्कै बदलिएला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
पुरञ्जन आचार्य

बरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेपाली कांग्रेससँग वैचारिक निकटता राख्ने बुद्धिजीवी हुन् ।आचार्यले अनलाइनखबरमा विशेष गरी कांग्रेसको आन्तरिक राजनीति र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे विश्लेषणात्मक रूपमा कलम चलाउँदै आएका छन् ।

ट्रेन्डिङ

Advertisment