Comments Add Comment
स्थलगत रिपोर्ट :

युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय प्रचारमात्रै

वीर अस्पतालकी निर्देशक भन्छिन्, ‘नयाँ भवनमा बेडमात्र थपेर के गर्नू !’

५ जेठ, काठमाडौं । आइतबार दिउँसो वीर अस्पतालको भर्खरै मात्र निर्माणसम्पन्न नयाँ भवनमा कामदारहरू शय्या फिट गर्न व्यस्त थिए । शय्या (बिरामी राख्ने बेड) जडान गर्न आधा दर्जन कामदार निरन्तर खटिएका थिए । यद्यपि, अक्सिजन अभावले गर्दा नयाँ भवनमा सञ्चालन हुने भनिएको ‘कोरोना युनिफाइड अस्पताल’ अलपत्र बनेको छ ।

वीर अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाका अनुसार नयाँ भवनको पहिलो र दोस्रो तल्ला सबै पूर्वाधारसहित सञ्चालन गर्न तयार पारेर राखिएको छ ।

तर अक्सिजन प्रवाह गर्न अहसज स्थिति बनेकाले वार्ड सञ्चालनको काम रोकिएको छ । ‘बेड राखेर उपचार सुरु गर्न सबै ठीकठाक छ’ अनलाइनखबरसँग कुरा गर्दै सापकोटाले भनिन्, ‘उपचार गराइरहेकै बिरामीलाई अक्सिजन पुर्‍याउन हम्मेहम्मे छ । नयाँ भवन कसरी सञ्चालन गरौं !’

वीरको उक्त नयाँ भवन सञ्चालन गर्ने चटारोको कारण भने वैशाख २५ गते शनिबारको मन्त्रिपरिषद् निर्णय हो । बैठकले वीर अस्पतालको नयाँ भवनमा पाँच सय शय्याको ‘युनिफाइड कोभिड अपताल’ बनाउने निर्णय गरेको थियो ।

तर मत्रिपरिषद्को निर्णय कार्यान्वयन भएको छैन । युनिफाइड अस्पताल भनिएपनि अव वीर अस्पताल आफैंले नयाँ भवनमा उपचार सेवा सुरु गर्ने तयारी छ ।

अब वीरले नै सञ्चालन गर्छ : प्रवक्ता जागेश्वर गौतम

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम वीर अस्पतालको नयाँ भवन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत वीरले नै सञ्चालन गर्ने बताउँछन् ।

‘हामीले युनिफाइड अस्पताल सञ्चालन गर्न समिति बनाउने तयारी पनि गरेका थियौं’ डा. गौतम भन्छन्, ‘उक्त भवन वीरकै स्वामित्वमा भएकाले उनीहरूले नै सञ्चालन गर्ने कुरा भएको छ ।’

‘त्यसो भए राष्ट्रिय स्तरको युनिफाइड अस्पताल बन्दैन त ?’ भन्ने प्रश्नमा डा. गौतम भन्छन्, ‘अस्पताल खुलेपनि त्यो देशकै लागि हुने हो । यसैले वीरले नै सञ्चालन गर्छ ।’

अर्थात अहिलेसम्म युनिफाइड अस्पताल बनाउन मन्त्रालयको तर्फबाट कुनै काम सुरु भएको छैन ।

यता, वीर अस्पताल प्रशासन पनि अक्सिजन अभावले गर्दा नयाँ भवनमा बेड राखेर उपचार सुरु गर्न रोकिएको छ । अहिले वीर अस्पतालमा राष्ट्रिय ट्रमा सेन्टरबाटसमेत बिरामी सारिने गरेकाले निकै भीड बढेको अस्पताल स्रोत बताउँछ ।

यस्तो छ वीरको नयाँ भवन

वीर अस्पतालको मुख्य भवनको दायाँपट्टि रहेको नयाँ सर्जिकल भवन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको स्वामित्वमा छ । सात तलाको रहेको विशाल भवनमा पाँच सयभन्दा बढी बिरामीलाई एकैसाथ उपचार गर्न मिल्छ । अन्डरग्राउण्ड पार्किङ र पहिलो तला रिसेप्सन बनाउन तयार पारिएको यो भवनमा पाँच तलामा उपचार वार्डहरू हुन्छन् ।

आधुनिक अस्पतालका सबै सुविधा सञ्चालनमा गर्न मिल्ने तरिकाले बनाइएको छ । भवन दायाँ र बायाँबाट लिफ्ट राखिएको छ भने दुवै तर्फ भर्‍याङ र अपांगमैत्री बाटो राखिएको छ ।

प्रत्येक तलमा डाक्टर र नर्सहरूको लागि छुट्टाछुट्टै च्याम्बर बनाइएको छ । यस्तै वार्ड र वार्डबाहिर पर्याप्त शौचालय राखिएको छ ।

अक्सिजनका लागि भित्तामै फिट गरिएको पाइप तथा बिरामी बस्ने ठूलो आकारका वार्ड प्रत्येक तलामा बनाइएको छ ।

हेर्नुस् भिडियो

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment