+
+
Shares

वीर अस्पतालको विशेष तयारी : आकस्मिकदेखि आईसीयूसम्म ‘फुल अलर्ट’

अस्पतालले आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, रगत तथा आवश्यक औषधिको व्यवस्थापन गर्दै ठूलो संख्यामा घाइते बिरामी आउन सक्ने अवस्थालाई ध्यानमा राखेर तयारी अवस्थामा बसेको जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १३:१५

१० भदौ, काठमाडौं । रसुवामा आएको बाढीबाट हुनसक्ने घाइतेको उपचारका लागि वीर अस्पतालले विशेष तयारी गरेको छ। अस्पतालले आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, रगत तथा आवश्यक औषधिको व्यवस्थापन गर्दै ठूलो संख्यामा घाइते बिरामी आउन सक्ने अवस्थालाई ध्यानमा राखेर तयारी अवस्थामा बसेको जनाएको छ।

वीर अस्पतालका निर्देशक डा. विकास नेपालले स्वास्थ्य उपचारका लागि अस्पतालको टोली र आवश्यक संयन्त्र सक्रिय बनाइएको बताए।

उनका अनुसार बाढीबाट घाइते भएर आउने बिरामीलाई अस्पतालमा प्रवेश गर्नेबित्तिकै ‘ट्रायाज’ प्रणालीमार्फत अवस्था छुट्याएर उपचार गरिने छ। हिँडडुल गर्नसक्ने सामान्य अवस्थाका बिरामीलाई ‘ग्रिन’ क्षेत्रमा उपचार गरिने छ । मध्यम तथा गम्भीर अवस्थाका बिरामीका लागि छुट्टाछुट्टै उपचार क्षेत्र तयार गरिएको छ।

‘अस्पतालमा ट्रायाजको व्यवस्था पहिल्यैबाट छ। बिरामी आउनेबित्तिकै उनीहरूको स्वास्थ्य अवस्था हेरेर ग्रिन, यलो र रेड क्षेत्रमा पठाइन्छ,’ डा. नेपालले अनलाइनखबरसँग भने, ‘गम्भीर बिरामीका लागि यल्लो क्षेत्रमा २७ वटा व्यवस्थित बेड तयारी अवस्थामा राखेका छौं ।’

उनका अनुसार थप बिरामीको चाप बढेमा ग्रिन क्षेत्रलाई समेत आवश्यकताअनुसार यल्लो क्षेत्रमा रूपान्तरण गरी थप १० देखि १५ जना बिरामीलाई व्यवस्थापन गर्न सकिने तयारी गरिएको छ। आईसीयूमा समेत बेड खाली गरेर तयारी अवस्थामा राखिएको छ । अस्पतालसँग करिब १० वटा भेन्टिलेटर उपलब्ध रहेको उनले जानकारी दिए ।

‘तत्कालका लागि गम्भीर अवस्थाका १०० बिरामीसम्म समेत व्यवस्थापन गर्न सक्ने अवस्थामा हामी छौं,’ उनले भने।

अस्पतालले औषधि तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री पनि आकस्मिक भवनमै तयारी अवस्थामा राखेको जनाएको छ। औषधि आपूर्ति छिटो गर्न फार्मेसी र आवश्यक सप्लाइ प्रणालीलाई समेत तयारी अवस्थामा राखिएको निर्देशक नेपालले बताए ।

बाढीबाट ठूलो संख्यामा घाइते आउने सम्भावनालाई ध्यानमा राख्दै अस्पतालको रक्त व्यवस्थापनमा पनि विशेष ध्यान दिइएको छ। उनका अनुसार अस्पतालको रक्त बैंकमा करिब १५० पाउन्ड रगत तयारी अवस्थामा राखिएको छ।

सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै नियमित शल्यक्रियाका लागि आवश्यक पर्ने केही रगतको प्रयोगसमेत तत्कालका लागि नियन्त्रण गरी आकस्मिक बिरामीका लागि प्राथमिकतामा राखिएको छ।

‘अवस्था गम्भीर बन्दै गएर एकै पटक धेरै बिरामी आउन थालेमा हामी अस्पतालमा औपचारिक रूपमा डिजास्टर घोषणा गरेर सबै संयन्त्र पूर्ण रूपमा सक्रिय गर्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?