News Summary
Generated by OK AI. Editorially reviewed.- १५ बुँदे माग राखी आमरण अनशनरत नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई वीर अस्पतालको आईसीयूमा सारिएको छ।
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रानाभाटको सत्याग्रहप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्तामार्फत निकास निकाल्ने प्रयास भइरहेको उल्लेख गरिन्।
- रानाभाटले सरकारी तथा निजी क्षेत्रका नर्सहरूको सेवा-सुविधा र कार्य वातावरण सुधारसहितका १५ बुँदे माग पूरा गर्न सरकारसँग निरन्तर माग गरिरहेकी छन्।
१८ साउन, काठमाडौं । १५ बुँदे माग राखेर सत्याग्रहमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई वीर अस्पतालको आईसीयूमा सारिएको छ ।
१४ साउनदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशनरत रानाभाटलाई शनिबार वीर अस्पताल भर्ना गरिएको थियो । रक्तचाप र सुगरको मात्रा अत्यधिक घटेपछि क्याबिनबाट आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ ।
यसबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रानाभाटको सत्याग्रहप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले आफू पनि स्वास्थ्यकर्मी भएकाले रानाभाटका माग र स्वास्थ्य अवस्थाप्रति संवेदनशील रहेको उल्लेख गरेकी छन् ।
मन्त्री मेहताले मन्त्रालयले सुरुदेखि नै वार्ता समिति, अतिरिक्त सचिव, सचिव तथा सम्बन्धित निकायमार्फत पटक–पटक संवाद र समन्वयको प्रयास गरेको बताएकी छन् । साथै, स्वास्थ्य तथा शिक्षासम्बन्धी संसदीय समितिका सभापतिले पनि वार्ताका लागि निरन्तर पहल गरिरहेको जानकारी दिएकी छन् ।
सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँको अवस्था व्यवस्थापनमा व्यस्त रहे पनि रानाभाटको आन्दोलनलाई निरन्तर प्राथमिकतामा राखिएको उल्लेख गर्दै मन्त्री मेहताले सम्बन्धित पक्षसँग पुनः वार्ता गरी सकारात्मक निष्कर्ष निकाल्ने तयारी भइरहेको बताएकी छन् ।
यता रानाभाटले स्वास्थ्य, शिक्षा, श्रम र अर्थ मन्त्रालयका प्रतिनिधि सहभागी हुने उच्चस्तरीय वार्ता टोलीसँग मात्र छलफल गर्ने अडान कायम राखेकी छन् । स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोलीसँगको छलफल निष्कर्षविहीन भएपछि सरकार स्पष्ट कार्ययोजनासहित वार्तामा नआएको भन्दै उनले असन्तुष्टि जनाएकी छन् ।
यसैबीच नेपाल नर्सिङ संघले सरकारलाई यसअघि भएका सहमति तत्काल कार्यान्वयन गर्न र अनशनरत रानाभाटको जीवनरक्षाका लागि अविलम्ब पहल गर्न आग्रह गरेको छ । संघले नर्सहरूको सेवा–सुविधा, तलब–भत्ता र कार्य वातावरण सुधार नगरे गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नसकिने चेतावनी दिएको छ ।
रानाभाटले सरकारी तथा निजी अस्पतालमा कार्यरत नर्स र मिडवाइफका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, सम्मानजनक सेवा–सर्त, पर्याप्त दरबन्दी, श्रम शोषणको अन्त्य, जोखिम भत्ता, सार्वजनिक बिदा तथा विभेदकारी कानुनी व्यवस्था संशोधनसहित १५ बुँदे माग तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिक्रिया 4