News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको सम्पत्ति तथा चन्दा संकलनमाथि छानबिनको माग गर्दै सरकारी निकायमा उजुरी परेको छ ।
- आरटीआई कार्यकर्ता अमित तिवारीले दीपकेका पिताको अस्वाभाविक सम्पत्ति र पार्टीको दर्ता प्रक्रियामाथि प्रश्न उठाउँदै विभिन्न तीन सरकारी निकायमा निवेदन दिएका छन् ।
- तिवारीले सांसद कपिल सिब्बलबाट प्राप्त एक करोड रुपैयाँको आर्थिक स्रोत र सीजेपीका नेताहरूले प्रधानमन्त्री लक्षित गरेको अभद्र टिप्पणीमाथि अनुसन्धान गर्न माग गरेका छन् ।
१८ साउन, काठमाडौं । भारतको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दीपकेको सम्पत्ति छानबिनको माग गर्दै सरकारी निकायमा उजुरी परेको छ । उजुरीमा दीपकेको अभियानमा संकलन गरेको भनिएको चन्दा र राजनीतिक गतिविधिमाथि पनि छानबिनको माग गरिएको छ ।
गुजरातको सुरतका आरटीआई कार्यकर्ता (सूचनाको हकसम्बन्धी कानुन प्रयोग गर्दै सरकारी निकायसँग सूचना माग्ने तथा सार्वजनिक विषयमा छानबिन/जवाफदेहिताको माग गर्ने व्यक्ति) अमित तिवारीले भारतका तीन सरकारी निकायमा दीपकेविरुद्ध छुट्टाछुट्टै उजुरी दिएका हुन् ।
तिवारीले महाराष्ट्र सरकार, निर्वाचन आयोग र केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) लाई पत्र पठाउँदै विभिन्न विषयमा छानबिन गर्न माग गरेका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
तिवारीले महाराष्ट्र सरकारलाई दिएको उजुरीमा अभिजीत दीपकेका पिता भगवानराव दीपके महाराष्ट्र औद्योगिक विकास निगम (एमआईडीसी) मा जुनियर इन्जिनियर (जेई) पदमा कार्यरत रहेको उल्लेख गरेका छन् । उनका अनुसार उक्त पदमा मासिक औसत ६० देखि ६५ हजार भारुसम्म तलब हुने गर्छ । यस्तो आम्दानीबाट परिवारले आफ्ना सन्तानलाई अमेरिकाजस्तो महँगो देशमा अध्ययनका लागि कसरी पठायो भन्ने प्रश्न तिवारीले उठाएका छन् ।
उनले भगवानराव दीपके र उनको परिवारको आय तथा सम्पत्तिको निष्पक्ष छानबिन गर्न महाराष्ट्र सरकारसँग माग गरेका छन् । छानबिनका क्रममा आम्दानीको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिए कानुनअनुसार कारबाही गर्नुपर्ने उनको माग छ ।
कक्रोज जनता पार्टीले दर्ताबिनै चन्दा उठाइरहेको आरोप
निर्वाचन आयोगमा पठाइएको उजुरीमा तिवारीले कक्रोच जनता पार्टी (सीजेपी)ले आफूलाई राजनीतिक संगठनका रूपमा प्रस्तुत गर्दै सर्वसाधारणबाट चन्दा संकलन गरिरहेको आरोप लगाएका छन् ।
कुनै संगठनले राजनीतिक दलका रूपमा गतिविधि सञ्चालन गर्ने हो भने जनप्रतिनिधित्व ऐन, १९५१ को धारा २९ए अन्तर्गत निर्वाचन आयोगमा दर्ता हुनुपर्ने उनको दाबी छ ।
त्यसैले सीजेपी निर्वाचन आयोगमा दर्ता नभई राजनीतिक गतिविधि सञ्चालन गरिरहेको हो कि होइन भन्ने विषयमा छानबिन गर्न उनले माग गरेका छन् । यदि दर्ताविनै राजनीतिक गतिविधि तथा चन्दा संकलन गरेको पुष्टि भए कानुनअनुसार कारबाही गर्नुपर्ने उनको माग छ ।
एक करोड रुपैयाँ फन्डिङमाथि पनि प्रश्न
तिवारीले केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) मा दिएको उजुरीमा राज्यसभा सांसद तथा वरिष्ठ अधिवक्ता कपिल सिब्बलबाट सीजेपीलाई प्राप्त हुने भनिएको एक करोड रुपैयाँ फन्डिङको विषय पनि उठाएका छन् ।
उनले उक्त रकमको लेनदेन र त्यससँग सम्बन्धित करसम्बन्धी विषयको छानबिन गर्न माग गरेका छन् ।
प्रचलित कानुन अनुसार कर तिर्नुपर्ने अवस्था भए १८ प्रतिशत जीएसटीको विषयसमेत परीक्षण गर्नुपर्ने उनको माग छ ।
नीट आन्दोलनमा अभद्र टिप्पणी गरेको आरोप
तिवारीले आफ्नो उजुरीमा सीजेपीले नेतृत्व गरेका विरोध प्रदर्शनको विषय पनि समेटेका छन् ।
उनका अनुसार सीजेपीको आन्दोलन सुरुवातमा नीट पेपर लिकको मुद्दामा केन्द्रित थियो र त्यसले व्यापक समर्थनसमेत पाएको थियो । तर पछि आन्दोलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, उनकी दिवंगत आमालगायत अन्य नेताहरूलाई लक्षित गरी कथित रूपमा अभद्र टिप्पणी गरिएको तिवारीको आरोप छ ।
यस्ता अभिव्यक्ति लोकतान्त्रिक विरोधको मर्यादाविपरीत भएको उनको दाबी छ ।
तिवारीका मुख्य माग
तिवारीले विभिन्न निकायमा दिएको उजुरीमा मुख्यत: चार विषयमा छानबिनको माग गरेका छन्–
- अभिजीत दीपकेका पिता भगवानराव दीपके र परिवारको आय तथा सम्पत्तिको छानबिन ।
- सीजेपीले निर्वाचन आयोगमा दर्ताबिनै राजनीतिक गतिविधि र चन्दा संकलन गरिरहेको हो कि होइन भन्ने अनुसन्धान ।
- कपिल सिब्बलबाट सीजेपीलाई दिइएको भनिएको एक करोड रुपैयाँको फन्डिङ तथा त्यससँग सम्बन्धित करको जाँच ।
- महाराष्ट्र सरकार, निर्वाचन आयोग र सीबीआईसीबाट आ–आफ्नो क्षेत्राधिकारअनुसार अनुसन्धान तथा आवश्यक कानुनी कारबाही ।
को हुन् अभिजीत दीपके ?
पछिल्लो समय भारतीय राजनीतिमा चर्चामा आएका युवा नाममध्ये अभिजीत दीपके पनि एक हुन् । ३० वर्षीय दीपकेले स्थापना गरेको कक्रोच जनता पार्टीले नीट पेपर लिक प्रकरणलाई लिएर आन्दोलन गरेको थियो ।
दिल्लीको जन्तरमन्तरदेखि संसद् मार्गसम्म भएको प्रदर्शनमा सीजेपी सहभागी भएको थियो । आन्दोलनसँगै दीपके पनि राष्ट्रिय सञ्चारमाध्यम र राजनीतिक वृत्तमा चर्चामा आएका थिए ।
यद्यपि, आरटीआई कार्यकर्ता तिवारीले लगाएका यी आरोपहरू सम्बन्धित निकायबाट पुष्टि भइसकेका तथ्य नभई छानबिनको मागसहित दर्ता गरिएका उजुरीमा आधारित दाबी हुन् । सम्बन्धित निकायको अनुसन्धान र अभिजीत दीपके वा सीजेपीको आधिकारिक प्रतिक्रियापछि मात्रै आरोपहरूको वास्तविकता स्पष्ट हुनेछ ।
प्रतिक्रिया 4