३ भदौ, काठमाडौं । वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ ।
यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ ।
अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो दुवै सत्रमा सेवा उपलब्ध हुनेछ ।
मंगलबार र बिहीबार भने बिहानको सत्रमा मात्रै ओपीडी सञ्चालन हुनेछ । शुक्रबार पनि बिहान र दिउँसो दुवै सत्रमा विशेषज्ञ सेवा दिइने अस्पतालले जनाएको छ ।
यसअघि मंगलबार ओपीडी सञ्चालन नहुँदा अन्य दिन, विशेषगरी बुधबार बिरामीको चाप अस्वाभाविक रूपमा बढ्ने गरेको थियो । मंगलबार मिर्गौला प्रत्यारोपण, राउन्ड तथा औपचारिक कक्षालगायतका चिकित्सकीय र शैक्षिक गतिविधि हुने भएकाले ओपीडी बन्द रहने व्यवस्था थियो ।
तर, आइतबार सार्वजनिक बिदा लागु भएपछि समस्या झन् थपिएको वरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजिस्ट तथा विभागीय प्रमुख डा. अनिल बरालले बताए ।
उनका अनुसार आइतबार सेवा लिन नपाएका बिरामी सोमबार अस्पताल पुग्ने र सोमबारको परीक्षण तथा रिपोर्ट बोकेर आउने बिरामीसमेत बुधबारको ओपीडीमा थपिँदा भीड अत्यधिक बढ्न थालेको थियो ।
एउटै दिन बिरामीको चाप थुप्रिँदा सेवा व्यवस्थापनमा समेत चुनौती देखिएपछि विभागले ओपीडी विस्तार गर्ने निर्णय गरेको हो ।
ओपीडी विस्तारका लागि अस्पतालले नयाँ जनशक्ति थपेको छैन । साबिककै जनशक्ति, स्रोत र साधनबाट सातामा पाँच दिन मिर्गौला विशेषज्ञको सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो ।
बिरामीको चाप घटाउने उद्देश्यले सेवा विस्तार गरिएपनि अस्पतालको जनशक्ति र स्रोतसाधन सीमित रहेको विभागले जनाएको छ ।
डा. बरालले आकस्मिक अवस्थाबाहेकका बिरामीले अस्पतालको सीमित स्रोत र जनशक्तिलाई ध्यानमा राखेर सहयोग गरिदिन आग्रह गरे ।
प्रतिक्रिया 4