Comments Add Comment

नाकाबन्दीले पर्यटन व्यवसाय चौपट

गौरव पोखरेल
२ पुस, झापा । झापाको एक प्र्रसिद्ध पर्यटकीय क्षेत्र जामुन खाडीमा होटल व्यवसाय सञ्चालन गरिरहेका भोगेन्द्र ताजपुरिया महिनामा ४० देखि ५० हजार रुपैयाँसम्म कमाउँथे । तर, भारतले गरेको ‘अघोषित नाकाबन्दी’ पछि उनको व्यापार चौपट भएको छ ।

‘पहिले पर्यटकहरु धेरै आउँथे, कमाइ पनि राम्रै हुन्थ्यो’ उनले भने- ‘तर अहिले बन्द, हड्ताल र नाकाबन्दीले गरेर छाक टार्न पनि धौ-धौ भइरहेको छ ।’

Jamunkhadi

पछिल्लो समय तराई मधेसमा जारी आन्दोलन र भारतीय अघोषित नाकाबन्दीको प्रत्यक्ष प्रभाव व्यापार-व्यवसाय र पर्यटन क्षेत्रमा परेको छ । बाह्य पर्यटकको त कुरै छाडौं, आन्तरिक पर्यटकको आगमनमा पनि कमी भएको छ ।

जाडो याममा विदा मनाउन, वनभोज खान तथा घुम्न आउने पर्यटकहरु नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनका कारण सास्ती व्यहोर्न बाध्य भएका छन् ।

चर्को मूल्य वृद्धिले सास्ती

पेट्रोलियम पदार्थको अभावसँगै गाडी भाडा बढेको छ । त्यस्तै, अन्य खाद्य सामग्रीको मूल्य समेत आकाशिँदा पर्यटकहरु मारमा परेका छन् ।

‘जाडोयाममा सबै मिलेर रमाइलो गरौं भन्ने सोचेर वन भोजको लागि यहाँ आएको हौं’ इटहरीकी हिमाश्वरी राइले भनिन्- ‘तर, नाकाबन्दीले सवारी साधनको प्रयोग गर्दा चर्को मूल्य तिर्नु पर्‍यो, के गर्नु समस्या छ !’

यसैगरी रेणुकादेवी दाहाल पनि नाकाबन्दीले निक्कै मारमा परेको दुखेसो पोख्छिन् । ‘टाढाबाट घुम्नका लागि आयौं । गाडी भाडा धेरै तिर्नु पर्‍यो’ उनले भनिन्, ‘नाकाबन्दी र आन्दोलनले हामीलाई हरेक कुरामा असर परेको छ ।’

झापामा पर्यटन सम्भावना

धार्मिक, ऐतिहासिक, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, कृषि, औद्योगिक, राजनीतिक एवम् हरित पर्यावरणीय महत्व बोकेका झापामा थुप्रै पर्यटकीय स्थलहरु छन् । धार्मिक पर्यटकीय क्षेत्रहरुमा किचकबध, अर्जुनधारा, सताक्षीधाम, चिल्लागढ, विराटपोखरी, पाँचपोखरी, केचनाकबल, पातालगंगा, कृष्णथुम्की, साधुटार, धनुषपोखरी, सुखानीलगायत दुई दर्जन बढी पर्यटकीय क्षेत्र छन् भने पुरातात्विक दृष्टिबाट समयगढ र चन्द्रगढ जस्ता महत्वपूर्ण पर्यटकीय स्थलहरु छन् ।

प्राकृतिक पर्यटकीय स्थलहरुमा यहाँ जामुनखाडी, कलवगढी लगायत छन् भने भौगोलिक पर्यटकीय क्षेत्रहरुमा नेपालको पूर्वी सिमानाको जङ्गे पिल्लर, नेपाल बङ्गलादेश सुख्खा बन्दरगाह, केचना कवल स्तम्भ, सुनामाईको भीउ पोइन्टलगायत छन् । त्यसै गरेर कृषि औद्योगिक पर्यटकीय स्थलहरुमा टोकला, बर्ने, बुट्टाबारी चिया बगन, बर्ने पहाडे कागज उद्योग, बुधबारे शान्तिनगर सुपारी प्रशोधन साना उद्योगलगायत रहेका छन् ।

राजनीतिक तिर हेर्दा झापामा सुखानी र सुखानी सहिद स्मारक पार्क, सालबाडी रहेका छन् । यता, नेपालमा बसोबास गर्ने जम्मा १ सय ३७ जातजाति मध्ये ६० जातजाति झापा जिल्लमा मात्र वसोवास गर्ने गरेको तथ्याङ्क छ । यी विविध जातजातिका संस्कार, चाडपर्व, इतिहास, भाषा, भेषभुषा, खाद्य परिकार, रहनसहनजस्ता कुरा समेत सांस्कृति पर्यटनका महत्वपूर्ण पाटो हुन् ।

सांस्कृतिक पर्यटन अन्तरगत झापामा होमस्टे, फुड फेस्टिवल, अन्तरजातिय संस्कार आदान प्रदान क्यापेनिङ्ग, सांस्कृतिक महोत्सवलगायतको बलियो सम्भावना रहेको छ । जसको समुचित संयाजनले झापालाई हरित पर्या-पर्यटनको राजधानीको रुपमा विकसित गर्न सकिने सम्भावना रहेको सामुदायिक वन उपभोक्ता सम्बद्ध युवा संयन्त्र नेपालका अध्यक्ष शेर्पा दावा छिरिङ बताउँछन् ।

अहिले चहलपहल शुन्य

तर, अहिले एकातिर तराई मधेसमा जारी आन्दोलन र अर्कातिर भारतीय नाकाबन्दीका कारण यी सबै पर्यटकीय क्षेत्रहरुमा आन्तरिक एवम् बाÅय पर्यटकको चहलपहल शुन्य छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटकहरुको चहलपहल घटेको हो । झापाका यी पर्यटकीय क्षेत्रहरु त केही उदाहरण मात्र हुन्, नाकाबन्दीका कारण पूर्वकै पर्यटन व्यवसाय धरापमा परेको छ ।

‘गत वर्षको तुलनामा यस पटक एक तिहाइ मात्र पर्यटकहरु आएका छन्’ जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष पर्शुराम गिरी भन्छन- ‘इन्धन अभाव र असुरक्षाका कारण समस्या भएको हो ।’

भारतले गरेको नाकाबन्दीपछिको अवधिमा ४३ हजार जना पर्यटकहरु मात्र आएको उनले जानकारी दिए । पर्यटकको कमिले आम्दानी घट्दा पर्यटकीय क्षेत्र सञ्चालनमा पनि समस्या भएको उनको भनाइ छ ।

पर्यटकहरुको अत्याधिक चहलपहल हुने मंसिर र पुस महिनामा पनि यस पटक पर्यटकीय क्षेत्रहरु सुनसान छन् ।

भूकम्पको भन्दा बढी नाकाबन्दीको असर

गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले देशका थुप्रै पर्यटकीय स्थलहरु तहसनहस भए । तर, भूकम्पले भन्दा पनि नाकाबन्दीका कारण पर्यटन व्यवसायलाई धेरै असर पुगेको पर्यटनविद्हरुको भनाइ छ । नाकाबन्दीको कारण पूर्वका पर्यटकीय स्थलहरुमा अहिले ५० प्रतिशत आन्तरिक पर्यटक घटेको पूर्वाञ्चल पर्यटन कार्यालयका प्रमुख गणेश तिम्सिना बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment