Comments Add Comment

अजित डोभलः सिक्किमको बिलयदेखि नेपालको नाकाबन्दीसम्म

ajit-doval (1)

नेपालमा भारतले लगाएको अघोषित नाकाबन्दीका एक योजनाकार मानिन्छन् भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल । दुई देशबीच पछिल्लो समय उत्पन्न तिक्तताको केन्द्र भागमा उनी रहेको विश्वास गरिन्छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री लगायतका नेताहरु उनै डोभलसँग कुरा गरेर मोदीको मनोविज्ञान बुझिरेका हुन्छन् । भारतीय जासुसी संस्था रअ र आइबीले पनि सिधै डोभललाई रिपोर्ट गरिरहेका हुन्छन् ।

भारतीय जासुसी संयन्त्र, सुरक्षा मामिला र धेरै हदसम्म कुटनीतिक मामिलामासमेत डोभल संलग्न मानिन्छन् । हालै भारतीय पत्रिका आउटलुकले अजित फर्मूला नेपालसहित छिमेकी मुलुकमा असफल भएको टिप्पणी गरेकेा छ ।

नेपाल मामलामा मात्र होइन, भारतका थुप्रै अन्तर्राष्ट्रिय सम्वन्धहरु सुधार्न र बिगार्न भूमिका खेल्दै आएका डोभल भारतका पुराना र सिद्दहस्त जासुस हुन् । सिक्किमलाई भारतमा विलय गराउने काममा समेत उनले भूमिका खेलेका थिए । नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि उनी शक्तिमा आएका हुन् ।

नेपालमाथि लगाएको नाकाबन्दीको मुख्य योजनाकार मानिएका डोभलबारे केहि तथ्यहरुको खुलासा हालै ‘म्याम्स अफ इन्डिया‘ नामक वेवसाइटले गरेको छ, जून यस्ता छन्ः

१. ७० वषिर्य डोभललाई मोदीले ३० मे, २०१४ देखि सुरक्षा सल्लाहकारमा नियुक्त गरेका थिए । उनी एक पूर्व प्रहरी अधिकृत हुन्, जसले आफ्नो करिअरको ठूलो हिस्सा जासुसका रुपमा बिताए । भारतको इन्टेलिजेन्सी व्यूरोका निर्देशक समेत बनेका डोभल पहिलेदेखि नै अनुदार छवीका उग्रराष्ट्रवादी अधिकृत मानिन्थे । प्रहरीको जागीरबाट रिटायर्ड भएपछि उनी विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनको संस्थापक निर्देशक बने । अहिले उनलाई प्रधाननमन्त्री मोदीको दाहिने हात मान्ने गरिएको छ ।

२. म्यानमारमा सन् २०१५ को जूनमा एनएससिएन (खाप्लाङ) फ्याक्सनका लडाकुहरुले ६ दोग्रा रेजिमेन्टमा रहेको सैनिक क्याम्पमा हमला गरी १८ सैनिकको हत्या गरे । त्यसमा तात्तातो प्रतिक्रिया जनाउदै भारतले पहिलोपटक सैनिक कमान्डोहरुको नेतृत्वमा म्यानमारको जंगलमा गुप्त कारवाही गर्‍यो । उक्त कारवाहीमा १०० भन्दा बढि लडाकुको हत्या गरियो । उक्त कारवाही सुरक्षा सल्लाहकार डोभलको योजनामा भएको थियो, जसलाई प्रधानमन्त्री र सेनाप्रमुखले सहयोग गरेका थिए । उत्तरपूर्वमा भेष बदलेर थुप्रै लडाकु समुहहरुसित फिल्डमा परिचालित भएका डोबल त्यहाँको सिमा क्षेत्रको भौतिक अवस्थासित चिरपरिचित थिए ।

३. भारतको संरक्षकत्वमा रहेको स्ववतन्त्र राज्य थियो सिक्किम । चीनको समेत आँखा परेको सिक्किमलाई सन् १९७५ मा भारतले आफ्नो अधिनमा लियो । भारतको २२ औं राज्यका रुपमा सिक्किमलाई कब्जा गर्ने क्रममा अजित डोभलले पर्दापछाडिबाट अहम् भूमिका खेलेका थिए । उनकै योजना अनुसार भारतीय सेना सिक्किममा पसेर जनमतसंग्रहको नाटक रची सिक्किमलाई भारतमा विलय गराएको बताइन्छ ।

४. भारतीय प्रधानमन्त्री मोदी केहि दिनअघि आकस्मिक रुपमा पाकिस्तानको लाहोरमा पुगे । दुई देशबीचको लामो तिक्ततापूर्ण सम्वन्धको आलोकमा मोदीको यो भ्रमण अन्तर्राष्ट्रिय चर्चाको विषय बन्यो । यो भ्रमणका सूत्रधार पनि डोभल थिए । पाकिस्तामा लामो समय बसेर त्यहाँको राजनीतिक बुझेका डोभल त्यहाँका आफ्ना समकक्षी जनरल नासिर जनुजामार्फत पर्दापछाडीको कुटनीति चलाइरहेका छन् ।

५. सन् ८० को दशकमा भारतको पञ्जाबमा खालिस्तान लडाकुले दवदवा थियो । त्यहाँ सञ्चालित विभिन्न लडाकु समहुहरुलाई छिन्नभिन्न बनाउन डोभलले भूमिका खेलेका थिए । अपरेसन ब्ल्याक थन्डर नामको अभियानमा उनले गोल्डेन टेम्पल क्षेत्रमा एउटा रिक्सा चालकको भेष धारण गरेर काम गरेका थिए । आफूलाई पाकिस्तानी गुप्तचर संस्था आइएसआइको एजेन्टठका रुपमा चिनाउदै उनले लडाकु समुहसित हेलमेल बढाए । उनीहरुको विश्वास जितेपछि डोभल गोल्डेन टेम्प्लमा पसेर जासूसी गर्न थाले । त्यसैका आधारमा लडाकुहरुमाथि सुरक्षा कारवाही गरिएको थियो । उक्त कारवाहीमा न्यूनतम भौतिक तथा मानवीय क्षति भएकोमा डोभलको प्रशंसा गर्दै उनलाई किर्ति चक्र पनि दिइयो, जुन कुनै पनि भारतीय प्रहरीले पाएको पहिलोपटक थियो ।

६ डोभलले पाकिस्तानमा लामो समय काम गरे । उनी त्यहाँको इतिहास संस्कृति र राजनीतिका जानकार मानिन्छन् । पािकस्तानमा ६ वर्षभन्दा बढि समय उनले मुस्लिमको भेष धारण गरेर जासुसी गरेका थिए ।

हिन्दुभाषी भएर पनि मुस्लिमको भेषमा त्यहाँ सर्वसाधारणजस्तै गरी जासुसीमा संलग्न थिए । एकदिन मस्जिद गएर निस्कदै गर्दा गेटमा बसेका एकजनाले उनी हिन्दु भएको पत्तो लगाएका थिए । उनले कान छेडेको देखेपछि उनको पहिचान हिन्दु भएको खुलेको थियो

७ सन् १९९९ मा इन्डियन एयरलाइन्सको आइसी ८१४ बिमान काठमाण्डौबाट उडेपछि अपहरण भयो । अफगानिस्तानको कान्दाहार लगिएको विमानमा सयौं यात्रु थिए । सो घटनामा अपहरणकारीसित आत्मसमर्पण गरेर उनीहरुका माग पूरा गरिदिने भारत सरकारको निर्णयको आलोचना पनि भयो । यद्यपि, त्यतिबेला अपहरणकारीसित समन्वय गरेर जनधनको क्षति हुन नदिन भूमिका निभाएको भनेर डोभलको प्रशंसा गरिन्छ ।

८. भारत र पाकिस्तानबीचको विवादित भूमि काश्मिर उपत्यकामा पाकिस्तान प्रायोजित लडाकु संगठनको चलखेल रहेको आरोप भारतले लगाउने गरेको छ । सन् १९९० मा भारतको सरकारले डोभललाई ती लडाकुलाई लखेट्ने जिम्मेवारी दियो । उनले आफ्नो जिम्मेवारी धेरै हदसम्म निर्वाह गरेका थिए । डोभलले लडाकु समुहहरुलाई निस्तेज पारेकाले नै सन् १९९६ मा त्यहाँ निर्वाचन सहजरुपमा सम्पन्न भएको भारतीयहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment