+
+

ट्याटु खोपेका र टिकाटालो गरेका केटी मिस नेपालमा अयोग्य

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ५ गते १९:५२

Miss-Nepal

५ माघ, काठमाडौं । मिस नेपाल बन्न चाहने युवतीहरुका लागि मंगलबारबाट दरखास्त खुलेको छ । १९ देखि २४ वर्षमुनीका युवतीहरुले दरखास्त भर्न पाउँछन्, तर त्यसका लागि केहि शर्तहरु पूरा गरेको हुनुपर्छ ।

दरखास्त भर्नका लागि पहिलो आवश्यकता वैवाहिक स्थिति हो । विवाह गरेका, विवाह गर्न बाँकी तर, टिकाटालो गरेका वा त्यो दुवै नगरिकन बच्चा जन्माएका युवतीहरुका लागि ढोका बन्द छ । त्यसो त विवाह गरेका र आमा भएकाहरुका लागि छुट्टै सौन्दर्य प्रतियोगिताहरु हुने गरेका छन् ।
दोस्रो आवश्यकता उचाई हो । ५ फुट चार इन्च उचाई नभएका केटीहरु दरखास्त भर्न अयोग्य हुनेछन् । आयोजकका अनुसार मिस नेपालबाट छानिएका सुन्दरीले मिस वल्र्ड, मिस अर्थ र मिस यूनिभर्समा भाग लिनुपर्ने कुरालाई ध्यानमा राखेर यो मापदण्ड बनाइएको हो ।

पढाईका हकमा प्लस टु वा सोसरह हुनुपर्ने भनिएको छ । अंग्रेजी फरर बोल्नुपर्ने चाहिँ लेखिएको छैन । आवेदन दिने व्यक्ति आकर्षक, स्वस्थ र राम्रो आचरण भएको हुनुपर्ने प्रावधान पनि आयोजकले राखेको छ । ‘आकर्षक’ ठहरिनका लागि आवश्यक शर्तहरु चाहिँ खुलासा गरिएको छैन ।

अन्तिम र सबैभन्दा रोचक शर्त छ, शरीरमा ट्याटु खोपेको हुनु नहुने । शरीरका कुन-कुन अंगमा ट्याटु हुन नहुने भनेर नखुलाइएको अवस्थामा सुन्दरीहरुका अंग-प्रत्यङ्ग नियालेर हेरिने सम्भावना यसबाट झल्किन्छ ।

आधुनिक युवायुवतीमा शरीरका विभिन्न अंगमा ट्याटु खोपाउने चलनले फेसनकै रुप लिइरहेको छ । ट्याटु भएकी केटीलाई मिस नेपालमा भाग लिन किन बन्देज त ? यसको तार्किक कारण मिस नेपाल आयोजकसित छैन ।

आयोजक हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपतिले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको मापदण्डका आधारमा ट्याटुलाई रोक लगाइएको बताए । कक्षतिका अनुसार मिस वल्र्ड र मिस युनिभर्समा ट्याटु बन्देज नभए पनि मिस अर्थमा बन्देज छ ।

पूर्व मिस नेपाल मलिना जोशीले पनि ट्याटुमा रोक लगाइनुको कारण थाहा नभएको बताइन् । ‘हाम्रो पालामा पनि ट्याटु नभएको हुनुपर्ने भन्ने थियो, तर के कारणले हो थाहा भएन’ उनले अनलाइनखबरसित भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?