Comments Add Comment

दिल्लीको ‘आप’जस्तै दार्जीलिङमा ‘जाप’ जन्मियो

JAP

१४ माघ, दार्जीलिङ । भारतको दार्जीलिङ पहाडमा बुधबारदेखि नयाँ पार्टीको जन्म भएको छ । डा. हर्कबहादुर क्षेत्रीको अध्यक्षता घोषणा गरिएको नयाँ पार्टीको नाम जनआन्दोलन पार्टी (जाप) राखिएको छ ।

कालेबुङको मेला ग्राउण्डमा बुधबार आयोजित जनसभामार्फत् नयाँ पार्टी घोषणा गरिएको हो । पार्टी घोषणा गर्दै क्षेत्रीले जनआन्दोलनलाई निर्माणसँग जोडेर अघि बढ्ने बताए ।

विमल गुरुङको गोर्खा जनमुक्ति मोर्चातर्फ लक्षित गर्दै डा. क्षेत्रीले अहिलेसम्म बनेका पार्टीहरु जातजातिका नाममा खोलिएकाले आफूहरुको नयाँ पार्टी जातीयता र क्षेत्रीयताभन्दा माथि उठेर भारतभरि फैलन सक्ने दाबी गरे ।

‘जाप’ पार्टीमा ६ जनाको ब्यूरो मेम्बर समेत घोषणा गरिएका छन् । चेयरम्यान अफ दि ब्यूरोमा चर्चित प्रोफेसर महेन्द्र पी. लामालाई राखिएको छ । त्यस्तै ब्यूरोमा अमर लामा र अनमोल प्रसाद रहेका छन् । पार्टी महासचिवमा नयन प्रधान छन् ।

नयाँ पार्टीको नाम, झण्डाका साथै घोषणा पत्रसमेत एकसाथ सार्वजनिक गरिएको छ । पार्टी घोषणा कार्यक्रममा सहभागी हुन कालेबुङ, खरसाङ, दार्जीलिङ र मिरिकका साथै तराईको डुबर्सबाट पनि मानिसहरु भेला भएका थिए ।

नयाँ पार्टीले स्वायत्तत्रता अनि स्वशासनको उद्देश्य पूरा गर्न सबै जात र क्षेत्रका समुदायसँग एक भएर अघि बढ्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

राष्ट्रिय अखण्डता र सुरक्षालाई ध्यानमा राखेर यस क्षेत्रमा छुट्टै राज्य स्थापना गरिने लक्ष पनि घोषणा पत्रमा उल्लेख छ ।

हर्कबहादुर क्षेत्रीले सुरुमा कालेबुङलाई अलग्गै जिल्ला बनाइनुपर्ने माग राखेर अभियान चलाएका थिए । उनको नेतृत्वमा बनेको सोही ‘डिस्ट्रिक डिमाण्ड कमिटी’ नै बुधबारदेखि जाप पार्टीमा रुपान्तरण भएको घोषणा गरिएको हो ।

एघार जातिलाई जनजातिको दर्जा दिलाउन र अनुसूचित जातिमा राख्न पहल गर्ने नयाँ पार्टीले बताएको छ । त्यसरी जनजातिको दर्जाका माग गरिएका ११ जातिमा भुजेल, गुरुङ, मगर, नेवार, जोगी, खस (क्षेत्री, बाहुन गिरी र सन्यासी), राई, सुनुवार, थामी, याख्खा देवान र थामी लगायत छन् ।

विमल गुरुङको गोजमुमो के भन्छ ?

विमल गुरूङ
विमल गुरूङ

गोर्खाल्याण्डको माग गर्दै स्थापना भएको गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले नयाँ पार्टी बनेकोमा स्वागत गरेका छन् । तर गोर्खाल्याण्डको माग नगर्ने पार्टी पहाडमा नटिक्ने उनको प्रतिक्रिया छ ।

मोर्चाका सहसचिव विनय तामाङले जाप पार्टीको विरोध गरेका छन् । पश्चिम बंगलाकी मुख्यमन्त्री ममता ब्यानर्जीले पहाडमा गोर्खाल्याण्डको आन्दोलनलाई कमजोर बनाउन नयाँ पार्टीको प्रायोजन गरेको तामाङले आरोप लगाएका छन् ।

स्वायत्त साशनका नाममा सत्ताको भोग गर्ने उद्देश्यले पार्टी खोलिएको र यसले गोर्खाहरुको हित नगर्ने तामाङको आरोप छ ।

राज्य सरकारसँग गोर्खाल्याण्डको सम्बन्ध बिग्रिएको अवस्थालाई टेकेर नयाँ पार्टीले राज्य सरकारसँग राम्रो सम्बन्ध बनाउने भनेको प्रति गोरखा जनमुक्ति मोर्चाले उसको आलोचना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment