Comments Add Comment

मेरीबास्सैबाट अलग भएको राजु मास्टर र बल्छी धुर्वेको घोषणा

१० चैत, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् । उनीहरुले कार्यक्रममा अभिनय र निर्देशन गर्दै आएका थिए ।

उनीहरुले कार्यक्रम छोडेको घोषणा फेसबुकमार्फत गरेका हुन् । कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग भएको उनीहरुको भनाई छ ।

मेरी बास्सैलाई एक दशक अगाडिबाट सीताराम कट्टेल (धुर्मुस( र केदार घिमिरे (माग्नेबुढा) ले सुरु गरेका थिए । सुरुमा निकै लोकप्रिय बनेको उक्त श्रृंखलाबाट पछि केदार अलग भए । यसैगरी सामाजिक गतिविधिमा सक्रिय भएपछि धुर्मुसले पनि यसबाट हात झिके । माग्नेबुढा र धुर्मुस दुवैले छोडेपछि राजु मास्टर र बल्छी धु्र्वेले जिम्मेवारी पाएका थिए ।

मिडिया हबका प्रमुख सोम धितालले सहमतिमै उनीहरु अलग भएको प्रतिक्रिया दिएका छन् । साथै मंगलबार प्रशारण हुँदै आइरहेको कार्यक्रम नरोकिने पनि उनले बताए ।

‘कुनै कलाकारले छोड्दैमा कार्यक्रम बन्द हुँदैन । हामी अरु कसैलाई जिम्मेवारी दिएर पनि यसलाई निरन्तरता दिनेछौं । यदि कोही नपाएमा मिडिया हबको टिम पनि यत्तिको कार्यक्रम निर्देशन गर्न सक्षम छ,’ धितालले दावी गरे ।

राजु मास्टर र बल्छी धुर्वेले मेरी बास्सैलाई राम्रो बनाउनुको साटो यूट्युव कार्यक्रम निर्माणमा समय खर्चिन थालेको उनको आरोप छ ।

धितालले भने, ‘उहाँहरुलाई मैले कि मेरी बास्सैमा मात्रै केन्द्रित हुनुस्, कि छोड्नुस भनेर अप्सन दिएको थिएँ । उहाँहरुले छोड्ने निर्णय लिनुभयो ।’

यसअघि मिडिया हबले समयमा पैसा नदिँदा बारम्बार हास्य टेलिश्रृंखलाहरु अवरुद्ध हुने र कलाकारहरुले छोड्ने गरेका छन् । अहिले भने पैसाको इस्यू नभएको धिताल बताउँछन् ।

‘अहिले हामीले समयमै पैसा भुक्तानी गर्दै आएका छौं । उहाँहरुले पैसा थप्नुपर्ने कुरा गर्नुभएको थियो, त्यसमा पनि हामी तयार नै छोड्यौं । तर, मेरी बास्सैलाई दोस्रो प्राथमिकतामा राखेर अन्यत्र व्यस्त हुन थालेपछि त्यो सैह्य भएन,’ धितालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment