Comments Add Comment

केपी ओलीले ‘गौशाला सहमति’ तोडेपछि वामदेव निराश

Bamdev-Gautam


२२ माघ, काठमाडौं । एमालेको नवौं महाधिवेशनका बेला केपी ओलीको पक्षमा खुलेर लागेका उपाध्यक्ष वामदेव गौतम अहिले एमालेका सार्वजनिक कार्यक्रमहरुमा त्यति देखिन छाडेका छन् । तर, महाधिवेशनमा ओलीको पक्षमा वामदेव जसरी प्रष्ट नखुलेका झलनाथ खनालले भने सार्वजनिकरुपमै ओलीको आलोचना गर्न थालेका छन् ।

एमालेका एक नेताको तर्कअनुसार महाधिशेवनका बेलामा ओली र बामदेववीच भएको ‘जेन्टलमेन एगि्रमेन्ट’ कार्यान्वयन नभएपछि यतिबेला गौतम निराश बनेका छन् । उनले आफू निकटका नेताहरुसँग केपी ओलीबाट धोका भएको बताउने गरेका छन् । तर, उनी अझैसम्म झलनाथ जसरी सार्वजनिकरुपमै ओलीमाथि आलोचना गर्ने तहमा भने पुगिसकेका छैनन् ।

के हो ‘गौशाला सहमति’ ?

महाधिवेशनका बेला गौशालास्थित मदन भण्डारी फाउण्डेसनको कार्यालयमा ओली पक्षका नेता र वामदेव पक्षका नेताहरुबीच छलफल भएको थियो । र, सो छलफलमा एउटा भद्र सहमति भएको थियो । सो छलफलमा वामदेव गौतम पक्षबाट उनीसहित किरण गुरुङ, हरि पराजुली, बलराम बास्कोटा, दलबहादुर राना, केशवलाल श्रेष्ठ, रवीन्द्र अधिकारी लगायतका नेताको सहभागिता थियो ।

छलफलमा ओली पक्षबाट केपी ओली, विद्या भण्डारी र विष्णु पौडेल लगायत सहभागी थिए । सो छलफलमा वामदेवले संसदीय दलको नेतामा झलनाथको साटो केपी ओलीलाई जिताउने सहमति भएको थियो । त्यसैगरी पार्टी अध्यक्षमा पनि ओलीलाई साथ दिने गौतम पक्षका नेताहरुवीच सहमति भएको थियो ।

ओलीलाई समर्थन गरेवापत वामदेव गौतमले पाउने ‘लाभ’ का विषयमा पनि सहमति भएको थियो । जसअनुसार केपी ओलीले पार्टी अध्यक्ष बनेपछि बामदेवलाई संसदीय दलको नेता हस्तान्तरण गर्ने भन्ने थियो । साथै अर्को महाधिवेशनमा ओलीले बामदेव गौतमलाई एमालेको नेतृत्व हस्तान्तरण गर्ने भद्र सहमति भएको थियो ।

ओलीले प्रधानमन्त्री बनेपछि बरिष्ठ उपाध्यक्ष गौतमलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पने सहमति भएको गौतम पक्षका नेताहरु बताउँछन् ।

त्यसबेला ओली पक्षका नेताहरुले ‘एक व्यक्ति एक पद’ हुनुपर्छ भन्दै गौतमलाई फकाएका थिए । तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाल संसदीय दलको नेतामा उठ्दा खनालले एक व्यक्ति एक पदको नीति लिनुपर्ने भन्दै ओली पक्षले खनालको विरोध गरेका थिए । त्यो नीतिमा बामदेवले पनि साथ दिए, जसले गर्दा ओलीले संसदीय दलको नेतामा खनाललाई हराए ।

महाधिवेशनका बेला उपाध्यक्ष गौतमले ‘गौशाला सहमति’ प्रति इमान्दार रहँदै ओलीलाई साथ दिए, जसका कारण बामदेवको शक्तिमा टेकेर ओली सहजै पार्टी अध्यक्ष बन्न सफल भए ।

सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधान एवं गृहमन्त्रीको ‘पुरस्कार’ पाउनुबाहेक गौतमले ओली पक्षबाट अन्य लाभ पाएनन् । गृहमन्त्री होउञ्जेल गौतमले ओलीबाट धोका पाएको खासै अनुभूति गरेका थिएनन्, तर जब ओली आफैं प्रधानमन्त्री बने, त्यसपछि भने गौतमले छायाँमा परेको महसुस गर्न थालेका छन् ।

पार्टी उपाध्यक्ष गौतम अहिले साँच्चै नै छायाँमा परेका छन् । पार्टी, सरकार र संसदीय दल तीनवटै ओलीले आफ्नो नियन्त्रणमा राखेका छन् । बरियताका हिसाबले बरिष्ठ उपाध्यक्ष रहेका बामदेवलाई न कुनै ठोस जिम्मेवारी छ, न त ओलीले हरेक निर्णयहरुमा उनलाई सामेल गराउने गरेका छन् ।

झलनाथलाई पनि धोका ?

केपी ओली र उनी निकट नेताहरुले वामदेवलाई मात्रै होइन, झलनाथ खनाललाई पनि त्यसैगरी धोका दिएका छन् । खनाललसँग ओली पक्षले के कस्तो भद्र सहमति गरेको थियो भन्नेबारे खनालले अहिलेसम्म खुलाएका छैनन् तर महाधिवेशनका बेला तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीले अबको राष्ट्रपति झलनाथ खनाल हुन् भन्ने सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।

दोस्रो राष्ट्रपतिको निर्वाचनमा ओलीले आफूलाई साथ दिने आशा गरेर नै महाधिवेशनमा खनालले ओलीलाई मौन समर्थन गरेको एमालेभित्र चर्चा छ ।

आफूसँग भएको भद्र सहमतिबारे मुख नखोले पनि केपी ओलीको आलोचनामा भने खनालले मंगलबार प्रज्ञा प्रतिष्ठानबाट मुख खोलेका छन् । तर, उपाध्यक्ष गौतमले चाँहि कहिले मुख खोल्ने हुन्, अहिल्यै भन्न सकिँदैन । उपप्रधानमन्त्रीबाट हटेको केही समयसम्म नेता गौतमले  प्रधानमन्त्री केपी ओलीलाई सफल बनाउन आफ्नो साथ रहने प्रतिक्रिया दिएका थिए । तर, पछिल्लो समयमा गौतम ‘रिजर्भ’मा बस्न थालेका छन् ।

माधव नेपालको ‘फायर ओपन’

मंगलबार प्रज्ञा भवनमा आयोजित मदन भण्डारी अध्ययन केन्द्रको कार्यक्रममा झलनाथ खनाल र माधव नेपालले एउटै मञ्चमा उभिएर यो सन्देश दिएका छन् कि नवौं महाधिवेशनका बेला चिसिएको खनाल-नेपाल सम्बन्धमा न्यानोपन आउन थालेको छ । र, अब कुनै दिन यसैगरी एमालेभित्रको गुटबन्दीमा नेपाल, खनाल र गौतम एउटै कित्तामा उभिन सक्ने खतराको घण्टी ओलीको क्याम्पमा बजिसकेको छ ।

यद्यपि ओली पक्षका एक नेताको दाबी के छ भने मदन भण्डारी अध्ययन केन्द्रको कार्यक्रममा सहभागी भएर सरकारको कार्यशैलीबारे आलोचना गरे पनि झलनाथ खनाल माधव नेपाल क्याम्पमा गइहाल्ने सम्भावना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment