+
+

कांग्रेस विद्युतीय संस्कारको पक्षमा, तर दाउराबाटै हुने भो सुशीलको अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २७ गते १४:४६

Sushil Koirala Bidai (15)२७ माघ, काठमाडौं । पशुपति आर्यघाटमा गत माघ १० गतेदेखि विद्युतीय दाहसंस्कार गर्ने दुईवटा मेसिनहरु सञ्चालनमा ल्याइएका छन् । तर, दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाका परिवारजनले भने पार्टीको चाहनाविपरीत मेसिनको साटो दाउरा नै रोजेका छन् ।

अहिलेसम्म आर्यघाटको विद्युतीय शवदाह गृहमा कोही पनि भीआइपीहरुको दाहसंस्कार गरिएको छैन । पूर्वप्रधानमन्त्री सुशील कोइराला मृत्युपर्यन्त पनि नयाँपनको थालनीकर्ता बन्ने सम्भावना थियो । तर, परिवारका सदस्यजनले विद्युतीय दाहसंस्कार गराउन मानेनन् ।

‘नेपाली कांग्रेस विद्युतीय दाहसंस्कारको पक्षमा छ, तर परिवारका सदस्यहरुले दाउराबाटै दाहसंस्कार गरिनुपर्छ भन्दै पार्टीको आग्रहलाई अस्वीकार गरे,’ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने- ‘यस्तो संवेदनशील अवस्थामा परिवारका सदस्यहरुको ईच्छा नै अन्तिम हुने भएकाले पार्टी दबाव दिन मिलेन ।’

पशुपति आर्यघाटमा स्थापना भएको विद्युतीय शवदाह गृहको उदघाटन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले माघ १० मा गरेका हुन् । विद्युतीय शवदाहले वातावरणीय प्रदुषण पनि कम हुने भन्दै मन्त्रीले दाउराको प्रविधिबाट आधुनिकतातर्फ अघि बढ्न यसले सघाउने बताएका थिए । तर, पूर्वप्रधानमन्त्रीको परिवारजनले नै विद्युतीय दाहसंस्कारको साटो दाउरालाई रोजे ।

पशुपति आर्यघाटमा भीआइपीहरुको दाहसंस्कार वागमतीको सबैभन्दा उत्तरतर्फको चितामा जलाउने प्रचलन छ । तर, विद्युतीय शवदाह गृह दक्षिणी मोहोडामा राखिएका छन् । यसले गर्दा पनि ती मेसिनहरुमा भीआइपीका परिवारजनको आकर्षण नदेखिएको हुन सक्छ ।

गणतन्त्र आइसकेपछि पनि राजा महाराजालाई जलाउने ठाउँमा नै जनताका नेतालाई पनि जलाउनुपर्छ भन्ने मानसिकताले घर गरेकाले पनि भीआइपीका परिवारजनको ध्यान हाल विद्युतीय मेसिन राखिएको ठाउँसम्म पर्न नसकेको हुन सक्छ । सम्भवतः सुशीलले आफ्नो दाहसंस्कार यसरी गरियोस् भन्ने ईच्छा आफ्नो जीवनकालमा कसैलाई भनेका पनि थिएनन् ।

दैनिक २३ वटासम्म शव जल्छन् विद्युत दाहगृहमा

नेपालमै पहिलो पटक सुरु भएको विद्युत शव दाहगृहमा शव जलाउने सर्वसाधारणको संख्या भने दिनानुदिन बढ्न थालेको छ । माघ १० गतेबाट सञ्चालनमा आएको विद्युतीय शवदाह गृहमा पहिलो दिनमै १५ वटा शव जलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर गोविन्द टण्डनले जानकारी दिए ।

पहिलो दिनमा १५ जनाको शव जलाएको गृहमा अहिले दैनिक २३ जनासम्मको शव जलाउने गरिएको छ । शव लिएर आउने अधिकांशले सहज, छिटो र सस्तोमा सबै काम हुने भएकाले दाउराको साटो विद्युतीय गृह रोज्ने गरेको सदस्य सचिव टण्डनले बताए ।

प्रायःविदेशमा मृत्यु भएर ल्याइएका एवं अस्पतालमा ज्यान गुमाउनेहरुको शव विद्युतीय शवदाह गृहमा लैजाने गरिएको छ । टण्डन भन्छन्- परम्परागत विधि पनि पूरा गर्न सकिने भएकाले धनी, गरीब सबैले विद्युतीय गृहमै शव ल्याउन थालेका छन् ।

नेपालमा ज्यान गुमाएका एकजना चिनियाँ नागरिक र एक कोरियन नागरिकको शव पनि विद्युतीय गृहबाट सदगति गरिएको छ ।

अर्को मेसिन थप्ने तयारी

आर्यघाटमा अहिलेसम्म दुईवटा मेसिनहरु राखिए पनि विद्युत गृहमा शव आउने क्रम बढेपछि विकास कोषले अर्को एउटा मेसिन पनि थप्ने तयारी गरेको छ । हाल सञ्चालनमा रहेका दुईवटाले चाप थेग्न नसक्ने अवस्था देखिएकाले अर्को एउटा मेसिन थप्ने तयारी भैरहेको सदस्य सचिव टण्डनले अनलाइखबरलाई बताए ।

केही दिनमै सञ्चालक समितिको बैठकमा प्रस्ताव लगेर अर्को मेसिन ल्याउने निर्णय गरिने टण्डनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?