१२ फागुन, काठमाडौं । म्याग्दीबाट नेपाली सेना, नेपाल प्रहरी र स्थानीयसहितको टोली जहाज दुर्घटनाको सम्भावितस्थल तर्फ गएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी विश्वराज खड्काका अनुसार मुस्ताङ र मनाङको सीमाना रहेको डाँडा गाविसको वडा नम्बर १ स्थित रुप्से छहरामा जहाज खसेको भनेर स्थानीयले दिएको जानकारीको आधारमा खोजि टोली त्यसतर्फ गएको छ ।
बिहान करीब साढे ८ बजे स्थानीयले निलगिरी हिमालसँगैको चट्टान वरिपरी जहाज आएको थियो । त्यो रुटमा कहिल्यै जहाज नजाने गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएको डिएसपी खड्काले बताए ।
जहाज आएको केहिबेरमा ठोक्किएको आवाज आएको स्थानीयले बताएपछि प्रहरी र सेनाको टोलि स्वास्थ्यकर्मी र स्थानीयसहित त्यसतर्फ गएको पनि डिएसपी खड्काले बताए ।
खडकाका अनुसार जहाज ठोक्किएको आवाज सुनेको बताउने स्थानीय रेशमबहादुर खड्का पनि खोजि टोलीसँगै छन् । डिएसपी खड्काका अनुसार डाँडाको चुचुरोमा बाक्लो कुहिरो देखिएको छ । स्पष्ट दृष्य नदेखिएका कारण विमान पत्ता लागेको छैन । सम्भावित घटनास्थलसम्म पुग्न म्याग्दी सदरमुकाम वेनीबाट करीब ६ घण्टाको पैदल दुरीमा पर्दछ ।

प्रतिक्रिया 4