+
+
Shares

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

प्रहरीको केन्द्रीय समाचार डेस्कका अनुसार झापा, डडेलधुरा, कैलाली र रुपन्देहीमा भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते १७:५२

२ साउन, काठमाडौं । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभरका छुट्टाछुट्टै सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको जानकारी दिएको छ । प्रहरीको केन्द्रीय समाचार डेस्कका अनुसार झापा, डडेलधुरा, कैलाली र रुपन्देहीमा भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।

झापाको गौरीगंज गाउँपालिका–२ कृष्ण खोला छेउस्थित सडकमा शुक्रबार प्र.१–०२–००२ च ५१०१ नम्बरको कार र बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल  एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका–५ गोबिन्दपुर बस्ने ३० वर्षीय मोहम्मद नुर इस्लाम र मोटरसाइकलमा सवार ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानस्थित सडकमा धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १८५० नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरोमा सवार दार्चुला अपिहिमाल गाउँपालिका–१ बस्ने ४५ वर्षीय सोभानसिंह लोथ्याल र २८ वर्षीया हनु लोथ्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बोलेरो चालकको सोही अस्पतालमा र बोलेरोमा सवार अन्य २ जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका–५ मत्स्य पालन केन्द्र नजिक सडकमा अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र. ०१–००८ प ५९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने १८ वर्षीय पर्वत चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, रुपन्देही, बुटवल उपमहानगरपालिका–१० राजमार्ग चौराहास्थित सडकमा लु २ ख ३००२ नम्बरको टिपर र नम्बर प्लेट नभएको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सिद्धार्थ नगरपालिका–५ बस्ने ६० वर्षीय तारा चन्द सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?