Comments Add Comment

५९ वर्षका करोडपति मेयरले दिए १० कक्षाको परीक्षा, साइरन सहितको गाडी चढेर पुगे परीक्षा केन्द्र

siva sing_examहामीकहाँ मन्त्री तथा प्रधानमन्त्रीहरुले समेत पढाइलाई उतिसारो महत्व दिँदैनन् । कतिपय नेताहरु त साउँ अक्षर नै नचिनेका छन् । पढाइको कुरा गर्यो कि त प्रधानमन्त्री च्याँटिन्छन् र भन्छन्, के गौतम बुद्धले पि एच डी गरेका हुन् र ?

सायद पढाइ तथा शिक्षालाई यति हलुका तवरले लिने र बेवास्ता गर्ने बज्रस्वाँठ नेताहरु भएकैले होला हाम्रो देश पछि परेको । दुनियामा हाम्रो देशमा जस्ता अशिक्षित तथा अज्ञानी नेताहरु सायदै होलान् । अरु देशमा त उमेरमा विविध कारणले पढाइ पूरा गर्न नसकेका नेताहरुले पछि गएर भएपनि मेहेनत गरी पढेर डिग्री हासिल गर्दछन् । वास्तवमा मानिसको पढाइ पूरा गर्ने चाहनलाई न त उमेरले रोक्दछ, न त लाजले छेक्दछ । भारतको राजस्थानका एक करोडपति मेयरले ५९ वर्षको उमेरमा १० कक्षाको परीक्षा दिएर यसलाई प्रमाणित गरेका छन् ।

राजस्थानको भरतपूर सहरका ५९ वर्षीय मेयर शिवसिंहलाई नपुग्दो केही थिएन । नपढेका भएपनि उनलाई मतदाताले पत्याएकै थिए र चुनाव जितेकै थिए । तर उनको मनले मानेन । उनले आफ्नो अधुरो रहेको पढाइ पूरा गरेरै छाड्ने निधो गरे र यो वर्ष १० कक्षाको परीक्षामा सामेल भए ।

यी मेयर सरकारले दिएको रातो बत्ती र साइरन वाला गाडीमै चढेर परीक्षा केन्द्र पुगेपछि सुरुमा त विद्यार्थी तथा स्कुलका स्टाफहरु पनि आत्तिए । तर जब उनी परीक्षा दिनका लागि सरासर आफ्नो निर्धारित सिटमा गएर बसे अनि पो कुरो बुझियो र मामिला शान्त भयो । हुनत उनी रातो बत्तिवाला गाडीमै चढेर गएका थिए तर उक्त रातो बत्ति भने छोपिएको थियो ।

सन् १९७१।७२ मा दिनुपर्ने १० कक्षाको परीक्षा विशेष कारणले दिन छुट भएपनि उनले पढ्न पाएका थिएनन् । तर एक दिन परीक्षा दिएर १० कक्षा पास गर्ने धोको भने उनले हराएको थिएन ।

आखिर नियम भनेको नियम हो, जुन सबैले मान्नुपर्छ । हाम्रो देशमा चाकडीको हद हुन्छ । सानालाई ऐन ठूलालाई चैन हुन्छ । परीक्षा हलभित्र विद्यार्थी नेता तथा नेताका मान्छेहरुले दादागिरी देखाएको तथा खुलेआम चिट चोर्ने गरेको देखिन्छ र त्यस्तासँग परीक्षा हलका कर्मचारी पनि डराउँछन् । तर शिव सिंह भने निकै अनुशासित विद्यार्थी थिए ।

परीक्षा चलिरहेको बेलामा परीक्षार्थीले चिट ल्याए नल्याएको चेकजाँचका लागि एक टोली कक्षामा छिर्यो । शिव सिंहलाई पनि उनको जुत्ता फुकाल्न भनियो । उनले कुनै प्रतिवाद गरेनन् । म त मेयर पो, किन फुकाल्नुपर्यो जुत्ता ? भनेर भनेनन् । खुरुखुरु जुत्ता फुकालेर देखाए । उनको साथबाट कुनैै चिट भेटिएन । परीक्षा सकाएपछि उनी घर फर्किए । उनले १० कक्षाका सबै विषयको परीक्षा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment