+
+
Shares

चिनियाँ बैंक नेपालमा आएर के गर्न पाउँछन्, के गर्न पाउँदैनन् ?

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले एक-अर्को देशमा बैंकका शाखा स्थापना गर्न बाटो खोलिएको छ । नेपाल र चीनका केन्द्रीय बैंकका गभर्नरले सूचना आदानप्रदान सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेपछि चिनियाँ बैंक आउन पाउने भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ९ गते १३:५८

Nepal-and-China-1

पुष्प दुलाल

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले एक-अर्को देशमा बैंकका शाखा स्थापना गर्न बाटो खोलिएको छ । नेपाल र चीनका केन्द्रीय बैंकका गभर्नरले सूचना आदानप्रदान सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेपछि चिनियाँ बैंक आउन पाउने भएका हुन् ।

नेपाल विश्व व्यापार संगठन (डब्लुटिओ)मा प्रवेश गरेपछि विदेशी बैंकका शाखा खोल्न खुल्ला भएको थियो । तर, दुई देशका केन्द्रीय बैंकबीच सूचना आदानप्रदान गर्ने सम्झौता नभएकाले शाखा खोल्न कठिन थियो । प्रधानमन्त्रीको भ्रमणका अवसरमा भएको सम्झौतासँगै अब नेपालमा चिनियाँ बैंकका शाखा खोल्ने ढोका खुलेको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बताए ।

शाखा खोल्न के छ व्यवस्था ?

नेपालमा शाखा खोल्ने कुनै पनि विदेशी बैंक तथा वित्तीय संस्थाका शाखाले ‘होलसेल (थोक) बैंकिङ कारोबार’ गर्न पाउँछन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७१ को मस्यौदामा विदेशी बैंकका शाखाले नेपाली बजारमा खुद्रा बैंकिङ कारोबार गर्न नपाउने प्रस्ताव गरिएको छ । जसअनुसार विदेशी बैंकका शाखाले सर्वसाधारणसाग निक्षेप उठाउन र कर्जा लगानी गर्न तथा कारोबार गर्न पाउँदैनन् ।

हाल बाफियामाथि संसदमा छलफल भइरहेको छ । संसदले पारित गरेपछि मात्रै ऐनको रुप लिन्छ । ‘विदेशी बैंकका शाखाले संस्थागत निक्षेप लिने र संस्थागत नै लगानी गर्नुपर्ने हुन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘हामीले त्यस्ता शाखालाई १० करोडभन्दा कमको कारोबार गर्न नदिने कि भनेर सोचेका छौं । कति रकमको मात्रै कारोबार गर्न पाउने भन्ने विषयमा राष्ट्र बैंकले पछि निर्देशन जारी गर्छ ।’

२० अर्ब चुक्ता पुँजी अनिवार्य

विदेशी बैंकका प्रतिनिधि वा अन्य कुनै पनि कार्यालयले राष्ट्र बैकले तोकेअनुसार मात्रै काम गर्न पाउने मस्यौदामा उल्लेख छ । यस्ता शाखाले २० अर्ब रुपैयाँ चुक्ता पुँजी राख्नुपर्ने हुन्छ ।

त्यसैगरी कुनै पनि राष्ट्र बैंकको स्वीकृतप्राप्त विदेशी बैंकका शाखालाई यस ऐन बमोजिम स्थापना भएका बैंक तथा वित्तीय संस्थासरह मानिने मस्यौदामा उल्लेख छ ।

‘यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम, विनियम, आदेश वा निर्देशनले अन्यथा व्यवस्था गरेकोमा बाहेक अन्य सम्पूर्ण प्रावधानहरु त्यस्तो शाखाको हकमा समेत समान रुपले लागू हुनेछन्,’ मस्यौदामा भनिएको छ ।

त्यस्तै, विदेशी बैंक वा वित्तीय संस्थाको शाखाको काम, कर्तव्य, अधिकार, जिम्मेवारी, दायित्व, जायजेथा, लेखा आदि काम-कारवाहीको जिम्मेवारी लिने तथा त्यस्तो काम कारबाही सम्पादन गर्ने पदाधिकारी तथा कर्मचारीहरुको जिम्मेवारी सम्बन्धमा राष्ट्र बैंकले आवश्यक निर्देशन दिन सक्नेछ ।

स्वीकृत लिएरमात्रै शाखा बन्द

नेपालमा खुलेको विदेशी बैंकका शाखाले आफ्नो शाखा बन्द गर्नु परेमा राष्ट्र बैंकको स्वीकृति लिएर शाखाको सम्पूर्ण दायित्व भुक्तानी गरेर मात्र आफ्नो शाखा बन्द गर्नु पर्नेछ ।

त्यसैगरी, विदेशी बैंकको शाखाले आफ्नो दायित्व पूरा गर्ने क्रममा आफ्नो सम्पत्ति प्रयोग गर्दा अन्य कुनै कानूनी व्यवस्थामा प्रतिकूल असर नहुने गरी नेपालको दायित्वलाई पहिलो प्राथमिकता दिई पूरा गर्नु पर्नेछ ।

‘शाखाको नियमित कारोबारको सिलसिलामा बाहेक विदेशी बैंक वा वित्तीय संस्थाको शाखाको कुनै पनि पदाधिकारी वा कर्मचारीले त्यस्तो शाखाको कुनै सम्पत्ति अर्को मुलुकमा स्थानान्तरण गरेमा, सोको स्वीकृति दिएमा, त्यसो गर्न अख्तियारी दिएमा वा सो कार्यलाई मद्दत गर्ने वा पुग्ने कुनै कार्य गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ,’ मस्यौदामा उल्लेख छ ।

सन् २००४ मा डब्लुटिओको सदस्य चयन भएपछि विदेशी बैंकलाई नेपालमा शाखा स्थापना गर्न खुल्ला भएको थियो । तर हालसम्म विदेशी बैंक सोझै आएर शाखा खोलेका छैनन् । संयुक्त लगानीमा स्थापना भएर पछि नेपाली लगानी झिकिएका बैंकहरु भने थुप्रै छन् ।

प्रतिस्पर्धा गर्न नेपाली बैंक ‘सक्षम’

राष्ट्र बैंकले विदेशी बैंकसाग नेपालका बैंकहरुले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइसकेकाले तयार रहन नेपाली बैंकहरुलाई पटक-पटक सचेत गराउँदै आएको छ । त्यसका लागि राष्ट्र बैंकले बैंकहरुको पुँजीको आकार बढाउन, प्रविधिको अधिकतम प्रयोग गर्न र (हाइ प्रोफेसनल) उच्च व्यावसायिक भएर काम गर्न भन्दै आएको छ ।

पुँजीको आकार ठूलो भएका विदेशी बैंकहरुले नेपालमा शाखा खोलेर कारोबार सुरु गर्न थाले भने नेपालका बैंकहरु प्रतिस्पर्धा गर्न सक्छन् ? नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल भन्छन्, ‘विदेशी बैंकका शाखासाग नेपाली बैंकहरुले प्रतिस्पर्धा गर्न नसक्ने भन्ने कुरै आउँदैन । विदेशी बैंकका शाखा खुलेपछि अझ प्रतिस्पर्धा बढ्छ र नेपालका बैंकहरुको इफिसिएन्सी पनि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?