Comments Add Comment

सप्तरीवासीलाई तातो हावाले अत्यायो

Agni-pidit

७ वैशाख, सप्तरी । राजविराज ५ का शिवु यादव दिउँसो घरबाहिर निस्किदैनन् । तातो हावाका कारण पाँच बजेपछि मात्रै निस्किने गरेको बताउँछन् उनी ।

शिव इन्टरनेशनल सेकेण्ड्री बोर्डिङ स्कुलका प्रिन्सिपल नरेशप्रताप साह पनि दिउँसो घरबाहिर जान समस्या हुने गरेको सुनाउँछन् ।

पछिल्लो डेढ साता यता अत्यधिक गर्मीसँगै शुरु भएको हाबाहुरीले सप्तरीसहित मध्य तराईको जनजीवन प्रभावित पारेको छ । यादव र शाह झैं सर्वसाधारणहरु घरबाहिर निस्किन सकिरहेका छैनन् । ‘तातो हावाले छाला नै डढेको अनुभूति हुन्छ’ सामाजिक क्षेत्रमा कृयाशिल सिरहा लहानका सुनिल साह भन्छन्, ‘चैतदेखि नै आएको हावाहुरी र गर्मीले प्रायः सबैलाई पिरोलेको छ ।’

हावाहुरी र गर्मीसँगै मजदूरी गरेर जीविका चलाउनेहरु झनै मारमा परेका छन् । राजविराजको गजेन्द्र चोकमा दैनिक मजदूरहरुको भीड जम्मा हुने गरेपनि पछिल्लो केहि दिन यता यो ठाउँ खाली देखिन्छ ।

सधैं व्यस्त रहने सप्तरीका राजविराजसहितका बजारहरु दिउँसोपख सुनसान देखिन्छन् । यसले व्यापार कमजोर भएको व्यापारीहरु बताउँछन् ।

युवा व्यापारी अमृत संचेती गर्मीयुक्त हावाले व्यापारलाई एकदमै कमजोर बनाएको बताउँछन् । उनले भर्खरै लामो आन्दोलनबाट गुज्रेको बजार खुलेपनि तातो हावा र गर्मीका कारण व्यापार घटेको बताए ।

बाषिर्क परीक्षा सकेर अहिले धेरै विद्यालयहरु बन्द रहेकाले बालबालिकाहरु यो हावाबाट बचेका छन् । ‘अन्यथा बालबालिकाहरु बढी प्रभावित हुने सम्भावना रहन्थ्यो’ अभिभावक मिथिलेश यादवले भने, ‘तातो हावाले गर्मी बढाउनुका साथै बैचेनी पनि बढाएको छ । कुनै काम गर्न लाग्दा एकरुपताले गर्न गाह्रो भइरहेको छ ।’

साँझ र राति लामखुट्टेले सताउँछ

दिउँसो गर्मी र हावाका कारण सर्वसाधारण बजार आउँदैनन् । साँझपख बजार आएपनि लामखुट्टेले सताउने गरेको छ । ‘घरबाट आएर एकछिन चिया पसलमा बस्यौं कि लामखुट्टेले टोक्न थाल्छ’ राजविराज ७ का नरेश चौधरीले भने, जता गएपनि लामखुट्टेले छाड्दैनन् ।’

बजारमा मात्रै होइन, घरमा पनि झुल बिना सर्वसाधारणलाई बस्न समस्या भइरहेको छ । ‘यात घरको झ्यालमा जाली लगाउनुपर्छ या त झुलमुनी नै बस्नुर्छ’ चौधरीले भने, “नभै लामखुट्टेको टोकाईबाट बच्न समस्या छ ।’

अत्यधिक फोहोर बढ्दै जाँदा लामखुट्टेको प्रकोप पनि बढ्दै गएको सप्तरीमा । जताततै फोहोर गरिनुले र नालाहरु सफा नभएकाले लामखुट्टेको प्रकोप बढेको बताउँछन् सामाजिक क्षेत्रमा कृयाशिल राजविराजका आयुष श्रेष्ठ ।

लामखुट्टेको प्रकोप बढेपनि सम्बन्धित निकायहरुले कुनै किसिमको ध्यान नदिएको उनको गुनासो छ । ‘शुरुमा त नगरपालिका र जनस्वास्थ्य कार्यालय मिलेर लामखुट्टेबिरुद्वको औषधि छर्किदिँदा प्रकोप केहि कम भएको थियो’ बैद्यनाथ झा भन्छन्, ‘पछिल्लो एक दशक यता औषधि छर्किने काम नगरिएकाले लामखुट्टे जताततै फैलिएको छ ।’

बाँच्नै मुश्किल, सर्वस्व गुम्दै

सप्तरीको देउरी भरुवा गाविसकी श्रीवती देवी र तेतरी देवीको आँसु थामिएको छैन् । देशमा नयाँ बर्ष मनाइरहँदा वैशाख १ गते दुबैको सर्वस्व गुम्यो । नयाँ बर्षको खुशीयाली साटासाट गर्दै सिरुवा पर्व मनाइरहँदा देउरी भरुवा गाविस ५ मा भएको आगलागीले श्रीवती र तेतरीसहित ६ परिवारको १४ वटा घर जलेर नष्ट भएको छ ।

पछिल्लो एक सातामा मात्र सप्तरीको विभिन्न गाविसमा भएको आगलागीले दर्जनौं घर जलेको छ । एक सतामा भएको आगलागीले ६० परिवारको १२० भन्दा बढी घर तथा घरभित्रका सरसमान जलेको छ ।

आगलागीबाट घरबारविहिन भएकाहरु पालमुनी वस्न बाध्य भएका छन् । अग्नि पिडित परिवारले तराईमा मनाउने सिरुवा पर्व मनाउन समेत नसकिएको बताउँछन् पीडित राजकुमार मण्डल ।

सचेत रहौं, सरुवा रोग लाग्नसक्छ

अहिलेको गर्मी र गर्मीयुक्त हावाले विभिन्न किसिमको रोगलाई आमन्त्रणा दिन सकिने विज्ञहरु बताउँछन् ।

यस्तो हावा र गर्मीले सामान्य रोगदेखि जटिल किसिमका रोग लगाएर व्यक्तिको स्वास्थ्य प्रभावित बनाउने भएकाले सचेत रहनुपर्ने उनीहरुको भनाइ छ । ‘यस्तो हावाले लु लगाउनेदेखि ब्रोन काइटिस (फोक्सोको संक्रमण) पनि गराउन सक्छ’ जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. विजय झा भन्छन्, ‘मान्छे बेहोस हुनेदेखि बिभिन्न किसिमको एलर्जी समेत हुन सक्ने भएकाले हिंडदा माक्स तथा छाताको प्रयोग गर्नुपर्ने हुन्छ ।’

यस्तो गर्मीयुक्त हावा श्वासमा गए छातीको इन्फेक्सन गराएर रुघाखोकी लगाउनुका साथै शरीरमा विभिन्न किसिमको गाँठोहरु पनि देखापर्न सक्ने उनको भनाइ छ ।

यस्तै शरीरको पानी सुकाएर झाडापखाला समेत लाग्न सक्ने उनको भनाइ छ । झाले भने जस्तै लक्षणका बिरामीहरु अस्पतालमा भर्ना भइरहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार इन्फेक्सन भएका र झाडापखाला लागेका बिरामीहरु दैनिक २० देखि २५ वटासम्म आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment