Comments Add Comment

संसारभर चिनिए सोनिश, तर परिवारको दुःख ज्यूँका त्यूँ

Sonish Awale (14)

१० वैशाख, काठमाडौं । नेपाली सेनाका जवानले धुलो टक्टक्याउँदै एक दुधे बालकलाई भग्नावशेषबाट निकालेको तस्वीर गत वैशाख १२ मा आएको भूकम्पको एउटा बिम्बका रुपमा स्थापित छ । ती दुधे बालक, सोनिश अवाले, अहिले टुकुटुक हिँड्ने र तोतबोली बोल्ने भइसकेका छन् ।

त्यतिबेला पाँच महिना पनि नपुगेका सोनिशलाई भूकम्प आएको २२ घन्टापछि भग्नावशेषबाट आश्चर्यजनरुपमा जिवित उद्दार गरिएको थियो । उनको तस्वीर इन्टरनेटमा फैलिएपछि सोनिश संसारभरी चिनिन पुगे । सबैले माया मारेको सन्तानलाई जीवित पाउँदा आमा रश्मिलालाई संसार नै जितेजस्तो लागेको थियो ।

देशको प्रशासनिक केन्द्र सिंहदरवारबाट केही किलोमिटरको दुरीमा बस्छ, सोनिशको परिवार । हामी यो परिवारको हालखबर बुझ्न पुग्यौं । सोनिश संसारभर चिनिए पनि उनको परिवारका दुःखहरण भएका रहनेछन् ।

एक कोठामा ४ जनाको परिवार

यो परिवार त्रिपालबाट अहिले भाडाको कोठामा सरेको छ । तर, गुजारा चलाउन पनि धौधौको अवस्था छ । भत्किएको घरबाट करिव ५ मिनेटको दुरीमा एउटा कोठा भाडा लिएर बसेका छन् चार जनाको परिवार । कोठाभाडा मासिक २ हजार तिर्नुपर्छ । कोठाको एउटा कुनामा भान्सा छ, भने अर्को छेउमा भाडाकुँडा र अन्न पोको पारेर राखिएको छ । अर्को छेउमा बेड छ, जहाँ परिवारका चार सदस्यको रात कट्छ ।

Sonish Awale (13)

रश्मिलाले आफ्नो अन्नको पोको र दुःखको पोको एकैसाथ खोल्दै भनिन्, ‘अहिले त हामी सुकुम्बासी जस्तै भयौं ।’

भुकम्पपछि उनको परिवारले व्यक्ति र संघसंस्थाबाट फुटकर सहयोग पाएको छ । तर, सरकारबाट अहिलेसम्म केही नपाएको गुनासो गर्छिन् रश्मिला । उनले भनिन्, ‘सरकारबाट राहत पाउन पूर्जा चाहिन्छ रे । हामीसँग जग्गा दर्ताको पुर्जा छैन । त्यसैले अहिलेसम्म केही पाएका छैनौं ।’

भक्तपुर मुलढोकामा रहेको सोनिशको घर भूकम्पले पुरै भग्नावशेषमा परिणत भएको थियो । यो अहिलेसम्म यत्तिकै छ । नयाँ टहरासम्म  बनाउन सकेका छैनन् उनीहरुले । सडक नजिकैको जग्गा भएकाले त्यहाँ अहिले घर बनाउन मापदण्डविपरित हुन्छ । त्यो पनि चार दाजुभाइको जग्गा हो ।

घर बनाउनका लागि अन्यत्र कतै जग्गा छैन उनीहरुको । जग्गा भए टेन्ट भए पनि बनाइदिन्छौं भनेर केही संस्था आएका थिए । तर, त्यो सम्भव भएन ।

त्यो २२ घन्टा

आफ्नो छोरा भग्नावशेषमा पुरिएको घटना सम्झिँदा रश्मिला अहिले पनि निकै भावुक हुन्छिन् । भुकम्पमा छोरा र छोरी दुवै पुरिएका थिए । छोरीको झण्डै तीन घन्टामा उद्धार भयो । तर, काखे छोराको अत्तोपत्तो थिएन ।

रश्मिलाका जुठाजुका दुई छोरीको पुरिएर मृत्यु भयो । उनीहरुलाई भूकम्प गएको ६ घन्टामा मृत अवस्थामा निकालिएको थियो । उनीहरुको निकालिएपछि सबैले  सोनिशको आश मारिसकेका थिए ।

Earthquake-victims-Baby-from-Bhaktapur
जिवितै उद्धार गरिएका सोनिश अवाले

रश्मिलालाई मन थाक्न गाह्रो हुन्थ्यो । उनले मनमनै प्रार्थना गरिरहिन् । भग्नावशेष हटाउने क्रममा राति बच्चा रोएको जस्तो सुनियो । उनको आश ब्यूँझियो । कहिले उज्यालो होला र छोराको खोजी सुरु होला भन्ने छट्पटीमा रात बिताइन् ।

उनलाई अहिले छोरा पुरिएको अवस्था वर्णन गर्न मन लाग्दैन । तर, उद्दार गर्दाको घटना सम्झँदा हर्षका आँसुले आखा टिलपिल बनाउँछ । ‘भित्रबाट निकालेर उज्यालोमा ल्याउँदा छोरा हाँसेको मैले देखेँ,’ उनले भनिन् ।

रश्मिलाले आफ्नो छोराको तस्वीर छापिएका पत्रपत्रिकाहरुको कटिङ सुरक्षित राखेकी छन् । छोराले भोलि आफ्नो खुट्टामा रहेको दाग के हो भनेर जब सोध्नेछ, त्यतिबेला उनी यी कटिङहरु देखाउनेछिन् ।

सहयोगको आश

भूकम्पपछि बेघर भएकी रश्मिलालाई छोरी पढाउन मुस्किल थियो । तर, मनकामना केवलकारले छोरीको पढाईमा सघायो । उनले सुनाइन्, ‘एसएलसी सम्मको फिस तिरिदिन्छु भन्नु भएको छ ।’ उनी अहिले कक्षा पाँचमा पढ्दैछिन् ।

बुबा ट्रिपर चलाउने काम गर्छन् । रश्मिला भूकम्पअघि लुगा सिलाउने, टोपी-मोजा बुन्ने काम गर्थिन् । अब त्यो काम पनि रोकिएको छ । रश्मिलाले भनिन्, ‘मेरा मेसिनहरु सबै भूकम्पले पुर्‍यो । अहिले केही काम छैन । गर्ने ठाउँ पनि छैन ।’

आशाको दीयो

Sonish Awale (6)

रश्मिलालाई जब दिक्दार लाग्छ, छोराको अनुहारमा हेर्छिन् । अलिकति आश पनि जाग्छ । आफ्नो छोरालाई भगवानले नै बचाएको हो भन्ने विश्वास छ उनलाई ।

‘मनमा धेरै विरक्तिका कुरा खेल्छन्, तर छोरालाई हेरेपछि आश लाग्छ’ उनले भनिन्, ‘भोलि यसैले केही गर्छ भन्ने विश्वास पलाउँछ ।’

रश्मिलाले आफ्नो छोराको तस्वीरयुक्त पत्रपत्रिकाको कटिङहरु राखेकी छन् । छोराले भोलि आफ्नो खुट्टामा रहेको दाग के हो भनेर जब प्रश्न गर्नेछ, त्यतिबेला उनी यी कटिङहरु देखाउँनेछिन् ।

वैशाख १२ नजिकिँदै गर्दा सोनिशलाई भेट्न उनकहाँ धेरै सञ्चारकर्मी पुगिसके । धेरैको प्रश्न एउटै हुन्छ । तपाईँलाई चाहीँ आफ्नो कथा कसरी लेखियोस जस्तो लाग्छ भन्ने प्रश्नमा रश्मिलाले भनिन्, ‘हुने खानेले हाम्रो पीडा महसुस गरुन् र सकेको सहयोग गरुन् ।’

Nepal-Baby-Found
सोनिश अवाले बुबा, आमा र दिदीसँग । तस्वीरः मिरर

Sonish Awale (1) Sonish Awale (15)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् ।

ट्रेन्डिङ

Advertisment