Comments Add Comment

‘स्थायी कमिटीको ढोका बन्द गरेका छैनौं, कार्यविभाजनमा छलफल गर्न सकिन्छ’

३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित चार नेतामाथि गरिएको कारबाही फिर्ता लिएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले विगतका सबै कुरा बिर्सिएर पार्टी एकतामा योगदान गर्न र आफ्नै सरकार ढालेर विपक्षीहरुको सरकार बन्ने कारक नबन्न पनि आह्वान गरेको छ । साथै राष्ट्रिय राजनीति र पार्टीका सन्दर्भमा आवश्यक निर्णय गर्ने अधिकार पनि अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको उनले बताए ।

बालुवाटारमा बसेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता ज्ञवालीसँग सञ्चारकर्मीहरुले केही प्रश्न गरेका छन्, जसको सम्पादित अंश :

माधवकुमार नेपाल पक्षले त जेठ २ मा फर्किनुपर्छ भनिरहेको छ, यसबारे के छलफल भयो ?

स्थायी कमिटीमा त उहाँहरु सहभागी हुन सक्नुहुन्छ । स्थायी कमिटीको ढोका हामीले कहिल्यै बन्द गरेका छैनौं ।

त्यस विषयमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय गर्ने अधिकार पनि पार्टी अध्यक्षलाई दिइएको छ । तर जस्तो प्रतिकुल अवस्थामा सिंगो पार्टीपंक्ति उभिएको छ । उहाँहरुको मनोबल खस्काउने वा असाध्यै प्रतिकुल अवस्थामा नेतृत्वको पक्षमा दृढतापूर्वक उभिनु भएका कमरेडहरुको योगदानलाई अवमूल्यन गर्ने कुनै पनि निर्णय हुँदैन ।

अन्य कतिपय कुरामा छलफल गरेर अगाडि बढ्न सकिन्छ । त्यो छलफलबाट आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष कमरेडलाई छ ।

तपाईंहरु २०७५ जेठ २ को स्थितिमा फर्किन तयार हो ?

त्यसमा छलफल हुँदै जाँदा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर हामी आवश्यक कदम चाल्छौं । उहाँहरुको कुरा सुन्छौं । कसरी अगाडि बढ्न सकिन्छ र एकता कसरी रक्षा गर्न सकिन्छ, त्यसअनुसार निर्णय गर्छौं ।

नयाँ सरकार गठनका लागि राष्ट्रिपतिले दिएको समय सकिँदैछ र, उहाँहरुले राजीनामा दिने चर्चा पनि छ …

त्यसले सरकार गठनको प्रक्रियालाई कुनै प्रभाव पार्दैन । किनकी अहिले सांसदहरुको संख्या गणना गरेर सरकार बन्ने होइन । संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका नेताहरु मिलेर दाबा प्रस्तुत गर्ने हो । त्यो प्रक्रियालाई अहिलेको संख्याले कुनै प्रभाव पार्दैन ।

तर हाम्रो ध्यान त्यो संख्या वा त्यसले सरकार गठनमा पार्ने प्रभावतिर भन्दा देश र जनताको बृहत्तर हितमा छ । साथीहरुले हिजो कुनै बेला सम्माननीय अध्यक्ष, प्रधानमन्त्रीलाई पार्टीको साधारण सदस्यबाट समेत पनि कारबाही गर्ने काम गर्नुभयो ।

अस्ति त्यस्तो क्रुसिएल मतदानमा समेत अनुपस्थित भएर विपक्षीहरुलाई सघाइनै रहनुभएको छ । यति हुँदाहुँदै पनि पार्टी एकताको आवश्यकतालाई केन्द्रमा राखेर हामीले हदैसम्म लचिलो भएर निर्णय गरेका छौं । हाम्रो आह्वान छ नेताहरुलाई, पार्टी एकता रक्षाका लागि सकारात्मक योगदान गर्नुस् ।

अर्को समूहका नेताहरुको कार्यविभाजन खोसिएको विषय पनि छ, यो चाहिँ के हुन्छ ?

कार्यविभाजन कुनै बेला परिर्वतन हुन्छ । उहाँहरु पार्टीमा फर्किएर काममा लाग्नेवित्तिकै स्वभाविक रुपले जिम्मेवारीमा पुनर्विचार गर्न सकिन्छ । कोही पनि काममा नआइरहेको बेला त इन्चार्जहरु खाली राख्न मिल्दैनथ्यो ।

जस्तो, पृथ्वीसुब्बा गुरुङ वा शंकर पोखरेल पार्टी काममै हुनुहुन्थ्यो, त्यसो भएर इन्चार्ज परिर्वतन गर्नुपरेन । तर अरु प्रदेशका इन्र्चाजहरु अर्को बाटो हिँड्नुभयो । त्यो बेला के गर्नुपर्थ्यो पार्टीले ? केही त व्यवस्था गर्नुपर्थ्यो । यदि उहाँहरु फर्किनुभयो भने स्वाभाविक रुपमा कार्यविभाजनमा छलफल गर्न सकिन्छ ।

स्थायी कमिटीको हकमा ?

स्थायी कमिटीमा त उहाँहरु सहभागी हुन सक्नुहुन्छ । स्थायी कमिटीको ढोका हामीले कहिल्यै बन्द गरेका छैनौं ।

यो पनि पढ्नुहोस प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता तय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment