Comments Add Comment

माधव समूहले ओली र जसपाको निर्णय कुर्ने

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीको निर्णयलाई कुर्ने भएको छ ।

सोमबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासका मत लिँदा संसदमा अनुपपस्थित भएको नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भर्चुअल छलफल मंगलबार दिउँसो भएको थियो । छलफलमा पार्टी अध्यक्ष ओलीको कदम र पहलकदमी हेरेर थप निर्णय लिन नेताहरु सहमत भएका छन् । ‘राजनीतिक परिस्थिति कसरी अगाडि बढ्छ, त्यो हेरेर मात्रै थप निर्णय लिने निष्कर्षमा पुगेका छौं’, स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

सोमबार प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएर संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेकी छन् । संसदीय गणितअनुसार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिल्दा गठबन्धनको सरकार बन्नसक्छ ।

बहुमतको सरकार बन्न १३६ मत चाहिन्छ । काँग्रेससँग ६१, माओवादीसँग ४८ र जसपासँग ३२ सिट छ । तर जसपाको एउटा धार (महन्थ ठाकुर र राजेन्द्र महतो)ले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माणमा असहमति जनाएकाले एमाले बाहेकको सरकार बन्न सक्ने अवस्था छैन ।

त्यसैले काँग्रेस, माओवादी र जसपाको एउटा धार (उपेन्द्र यादव र बाबुराम भट्टराई) ले माधव नेपाल समूहतिर आश गरेको छ । माधव समूहका सांसदरुले राजीनामा दिएमा वा ओलीले कारबाही गरी पदमुक्त गरेमा संसदको संख्या घट्छ र विपक्षीहरुको बहुमत पुग्नसक्छ ।

तर माधव समूहले कुनै निर्णय गरेन । आफ्नो भूमिका बाहेक गठबन्धन सरकार बन्ने अवस्था भए तत्काल कुनै कदम नचाल्ने यो समूहले संकेत गरेको छ । ‘जसपा एक भएर उभिनासाथ गठबन्धनको सरकार बनिहाल्छ । त्यो पनि हामी हेर्छौ’, बैठकमा सहभागी एक नेताले भने ।

हुन त नेपाल समूहले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव राख्नुअघि नै राजीनामा दिने तयारी गरेको थियो । तर अन्तिम समयमा निर्णय पुनर्विचार गर्दै संसद् बैठकमा अनुपस्थित मात्रै भए र एमालेमा एकताको संभावना कायमै छ ।

यद्यपि संस्दमा अनुपस्थित भएर दिएको विरोधको संकेत र एकताको अवसरलाई पार्टी अध्यक्ष ओलीले उपयोग गर्दैनन् भन्नेमा नेताहरुको विश्लेषण छ । ‘पार्टी जोगाउन केपी ओली लाग्छन् भन्नेमा विश्वास छैन, तर कुरौ न त भन्ने भयो’, एक नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment