+
+
Shares

बादलको प्रतिवेदन : एमाले महासचिवबाट माधव नेपालको राजीनामा राष्ट्रपति बन्नलाई थियो

रामबहादुर थापाले नयाँ खुलासा गरेका छन्। उनका अनुसार पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य सहमति गरी माधव नेपालले महासचिव पदबाट राजीनामा दिएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रचण्डसँगको गोप्य सल्लाहमा महासचिव पदबाट राजीनामा दिएको आरोप लगाएका छन्।
  • थापाले माधव नेपाल राष्ट्रपतिको उम्मेदवार बन्न राजीनामा गरिएको र पछि मनोनित सांसद हुँदै समिति सभापति तथा प्रधानमन्त्री बनेको विषय बिर्सन नमिल्ने लेखेका छन्।
  • महासचिव शंकर पोखरेलको प्रतिवेदनले २०६४ सालको निर्वाचनमा पार्टी पराजित भएपछि नेतृत्वले राजीनामा गर्ने नजीर सम्झाउँदै अध्यक्ष ओलीलाई पद छोड्न आग्रह गरेको छ।

२५ भदौ, काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि गम्भीर प्रश्न उठाएका छन्।

महासचिव शंकर पोखरेलको प्रतिवेदनमा असन्तुष्टि जनाएर छुट्टै प्रतिवेदन तयार पार्ने क्रममा बादलले पूर्वप्रधानमन्त्री नेपालले १९ वर्षअघि दिएको राजीनामामाथि प्रश्न गरेका हुन्। ०६४ सालको संविधान सभा निर्वाचनमा एमाले पराजित भएपछि नेपालले नैतिकताका आधारमा महासचिव पदबाट राजीनामा दिएका थिए।

तर थापाले नयाँ खुलासा गरेका छन्। उनका अनुसार पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य सहमति गरी माधव नेपालले महासचिव पदबाट राजीनामा दिएका हुन्।

‘… प्रचण्डसँगको गोप्य सल्लाहमा राष्ट्रपतिको उम्मेदवार बन्न महासचिव पदबाट राजीनामा गरिएको थियो,’ थापाले लेखेका छन्, ‘त्यति उदाहरणीय नैतिकताको प्रदर्शन गरेको व्यक्तिले राष्ट्रपतिको उम्मेदवार बन्न धोका पाएपछि आफैं दुई स्थानबाट निर्वाचनमा पराजित भएको व्यक्ति समानुपातिक सांसदलाई राजीनामा गराई राजदूत नियुक्त गरेर रिक्त स्थानमा त्यसै कार्यकालभित्र मनोनित सांसद हुन पुगेको समितिको सभापति बनेको र पछि प्रधानमन्त्रीसमेत बनेको विषयलाई हामीले बिर्सन मिल्दैन।’

महासचिव पोखरेलले २०६४ सालमा माधव नेपालले नैतिकताको आधारमा राजीनामा दिएको सन्दर्भ आफ्नो प्रतिवेदनमा लेखेका छन्। पार्टी पराजित भएपछि नेतृत्वले राजीनामा गर्ने नजीर सम्झाउँदै पोखरेलले प्रतिवेदनमा ओलीलाई अध्यक्ष छोड्न आग्रह गरेका छन्। तर काउन्टर प्रतिवेदन लेखेका थापाले माधव नेपालको राजीनामाथि गम्भीर आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?